PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुनौलो बिरालोको यो फोटोको विशेषता : १८७ वर्षपछि क्यामेराले खिच्‍न सफल



पहिलोपोस्ट

सुनौलो बिरालोको यो फोटोको विशेषता : १८७ वर्षपछि क्यामेराले खिच्‍न सफल
सन् २०१७ मा सङ्खुवासभा जिल्लामा स्वचालित क्यामरामा परेको सुनौलो बिरालो

  • राजु आचार्य -
वनभरि गाइवस्तुहरू प्रशस्तै थिए l हिँड्दा पनि वन्यजन्तुका चिन्हहरू (पाइला, दिसा, आवाज आदि)  भेटिएका थिएनन् l प्रत्यक्ष त वन्यजन्तु देखिने कुरै भएन l 'प्रकृतिका साथीहरू' संस्थाका जीवन राई, कौशल यादव र यादव घिमिरे वन्यजन्तु नदेखेर चिन्तित थिए l सोम जिसी भने केही चराहरू देखेर सन्तोष मानिरहेका थिए l १ महिना लामो अध्ययनको क्रममा क्यामरा ट्रयाप (स्वचालित क्यामरा) थापेर उठाउन जाँदा सुरुका क्यामराहरू खाली खाली थिए l

'बर्बाद भयो ! केही पनि पर्दैन कि क्या हो !' यो कार्यक्रमको सुरुवाती समयदेखि लागिपरेका अनुसन्धान टोलीका सदस्य तथा अनुसन्धान अधिकृत जीवन राईले  चिन्ता प्रकट गरिरहेका थिए l
 
अनुसन्धान समूह स्वचालित क्यामरामा के के पर्‍यो भनेर हेर्दै एक ठाउँबाट अर्को ठाउँ सर्दै थिए l पुस महिनाको ६ गते  थियो l समुन्द्र सतहबाट  २३७५ मिटर को उचाइ l बिहानको समय l मौसम चिसो थियो l स्वचालित  क्यामराको मेमोरी अर्को क्यामरामा राखेर हेर्न थालियो l यस्तो बेला सुनसानै हुने गर्छl तर सबैको मनले  भने 'केही त नयाँ परे हुन्थ्यो' भनेर कामना गरिरहन्छन् l सबै टोली एकै चोटी उफ्रिए, 'सुनौलो  बिरालो ! सुनौलो  बिरालो !!' 

खुसीले सीमा नाघ्यो l महिनौँको दु:ख छिनभरमा बिर्सिए  सबैले l
 
'अनुसन्धान गर्दाको खुसी नै यही हो l वर्षौँदेखि नभेटिएका वा नदेखिएका वन्यजन्तु जब भेटिन्छ, त्यो खुसी अमूल्य हुन्छ'  अनुसन्धान अधिकृत कौशल यादवले भने l अब भने जीवन राई पनि खुसी देखिए l
 
यो प्रजातिको प्रष्ट फोटो करिब १८७  वर्षपछि खिचिएको थियो l तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसको राजधानी भनेर समेत चिनिन्छ l यसै क्षेत्रको सङ्खुवासभा जिल्लामा यो फोटो खिचिएको थियो l नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले सञ्चालन गरेको महिना दिन लामो जैविक विविधता सर्वेक्षणको क्रममा सो बिरालोसहित अन्य वन्यजन्तुहरू पनि परेका थिए l

 'सुनौलो बिरालो पर्‍यो भन्ने बित्तिकै कति खेर फोटो हेरौँ जस्तो भएको थियो l हेर्न पाइयो l अब यसको संरक्षणमा सबै सरोकारवालाहरू लाग्नु पर्दछ' नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका तत्कालीन कार्यक्रम व्यवस्थापक कमल थापाले संरक्षणमा जोड दिँदै भनेl
    
यसअघि पनि यो बिरालो सोही जिल्लाको मकालु वरुण राष्ट्रिय निकुन्जमा ९ मे, २००९ का दिन क्यामरा ट्रयापमा परेको थियो l उक्त समयमा ढाड र पुछारको आधारमा सो प्रजाति सुनौलो बिरालो भनेर वैज्ञानिकहरूले  भने पनि केहीले भने सो तथ्यलाई अविश्वास  समेत गरेका थिए l सो समय तीन महिनासम्म क्यामरा ट्रयापमा सहभागी टोली नेता यादव घिमिरेले भने ' हामी त त्यतिखेर पनि विश्वस्त थियौँ l केहीलाई शङ्का लागेको थियो l यस पटक त्यो शङ्का पनि मेटियो l' 
 
सन् २००९  मा सङ्खुवासभा जिल्लामा स्वचालित क्यामरामा परेको सुनौलो बिरालोको तस्बिर जुन कालो रङ्गको (मेलानिस्टिक) थियो र फोटो प्रस्ट थिएन l यसको पहिचान गर्दा केहीले सुनौलो बिरालो होइन पनि भनेका थिए l

यो प्रजाति सन् १८३१  मा ब्राइन होगसनले नेपालमा पहिलो पल्ट अभिलेख गरेका थिए, तर कुन स्थानबाट भन्ने बारेमा उल्लेख गरिएको थिएन l १८७  वर्षसम्म कतै फेला  नपरेको  (२००९ को अभिलेख बाहेक) यो प्रजाति स्वचालित क्यामराको प्रयोगले मात्र अभिलेख भएको हो l  

हालसम्म  नेपालमा यो प्रजाति सङ्खुवासभा जिल्लाको  दुई स्थानबाट मात्र अभिलेख गरिएको छ l साथै पूर्वी नेपालका केही जिल्लाहरूमा हालसालै स्वचालित क्यामरामा परेको अपुष्ट खबर आएका छन् l 

यो प्रजातिको बारेमा नेपालमा अध्ययन भएको छैन l तर बाहिर गरिएको अध्ययन अनुसार यिनले सा-साना स्तनधारी, चराहरू तथा सरीसृपहरु खाने गर्दछन् l यिनीहरू समुन्द्र सतह देखि ४  हजार मिटरसम्मको उचाइमा अभिलेख गरिएको छ l वन विनाश र चोरी सिकारी यिनको लागि चुनौति मानिएको छ l विश्व  संरक्षण सङ्घले यिनलाई संकटापन्न नजिक मानेको छ भने नेपालमा यिनको अवस्थाबारे  अझै जानकारीहरू  उपलब्ध छैनन् l नेपालमा पाइने आठ प्रजातिका साना बिरालाहरूमध्ये यो पनि एक हो l  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell