PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गेजुवालाई बुढीगण्डकी पुन: दिइएकोमा गगन थापा रुष्ट : 'संसदीय समितिले खारेज गरिसकेकोलाई किन?'



गेजुवालाई बुढीगण्डकी पुन: दिइएकोमा गगन थापा रुष्ट : 'संसदीय समितिले खारेज गरिसकेकोलाई किन?'

काठमाडौं : बुढी गण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिइएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा आक्रोश पोखेका छन्।

एक वर्षअघि संसदीय समितिले खारेज गरेको कम्पनीलाई दिने निर्णय गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति थापा आक्रमक रुपमा प्रस्तुत भएका हुन्।

‘संसदीय समितिले उपयुक्त नभएको भनी निर्णय गरेको कम्पनीलाई किन आयोजना दिइयो?’ आजको प्रतिनिधि सभाको बैठकमा थापाले भने,‘प्रधानमन्त्रीको आदेशमा बुढी गण्डकी गेजुवालाई दिइयो। ..के यो सदन पनि सरकारको छायाँ हुनुपर्छ? सरकारलाई रोक्दै बुढी गण्डकीको विषयमा एक वर्ष पहिले संसदीय समितिले गेजुवा कम्पनीसँगको सम्झौता रद्द गर्न भनेको थियो। अहिले पुनः सरकारले त्यही निर्णय दोहोर्‍एको छ।’ 

‘प्रश्न यहाँ चिनियाँ लगानीको होइन? प्रतिस्पर्धा किन नगराएको हो? थापाको प्रश्न,‘सरकारले आफै ऋण लिन सक्छ तर किन लिइएन? यही कम्पनीलाई नै दिने किन निर्णय भएको थियो?’

केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा यो निर्णय गरेको थियो। त्यतिबेला थापा संसदीय समितिका सभापति थिए। थापाले भने,‘प्रधानमन्त्रीले न्युयोर्कमा भन्नु भएको छ यसमा कुनै विवाद छैन। म प्रधानमन्त्रीलाई आग्रह गर्दछु, न्युयोर्कबाट फर्केर आउँदा उत्तर खोजेर आउनु होला। यो विधिको शासनको उल्लंघन भएको छ।’ 

‘संसदीय समितिको यसअघिको निर्णयहरु गलत हो भने अहिलेको समितिले खारेज गर्ने निर्णय गर्नु पर्यो’ थापाले भने,‘ होइन भने यो सरकारको निर्णयलाई बदर गरोस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell