PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

माओवादीको नाम लिन अमेरिकामा पुगेका ओलीलाई सकस, भने : हतियारधारी समूह



विधुर ढकाल

माओवादीको नाम लिन अमेरिकामा पुगेका ओलीलाई सकस, भने : हतियारधारी समूह

काठमाडौं : राष्ट्र संघको ७३ औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय समयअनुसार मंगलबार साँझ एसिया सोसाइटीले आयोजना गरेको शान्ति, प्रजातन्त्र र विकास शीर्षकमा प्रवचन दिए। 

उनले नेपालको राजनीतिक इतिहास बताउँदै गर्दा ‘माओवादी’ शब्द उच्चारण गर्न भने पूरै कञ्जुस्याईँ गरे जबकि माओवादीलाई साथै लिएर पार्टी एकीकरण गरेका छन् उनले। अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालको राजनीतिक इतिहासबारे प्रश्न गरे। ओलीले औपनिवेशिककालदेखि नेपालको सार्वभौमसत्ता, राणा शासन, पञ्चायत प्रजातन्त्र पुनःनिर्माणसम्मको कुरा गरे। तर, माओवादी ‘जनयुद्ध’को विषयमा हल्का रुपमा टिप्पणीमात्र गरे। उनले तत्कालीन नेकपा माओवादीलाई राजनीतिक शक्ति भन्दा पनि ‘सशस्त्र समूह’को संज्ञामात्रै दिए। 

‘१९९० (२०४७) मा प्रजातन्त्र पुनःस्थापना भयो। त्यतिबेला पनि नयाँ संविधान बन्यो तर त्यो पर्याप्त थिएन। जनताले बनाएका थिएनन्। जनप्रतिनिधिहरुले बनाएका थिएनन्। त्यसैले पूर्णरुपमा जनताले स्वीकारेनन्,’ कार्यक्रममा उनले भनेका छन्, ‘जनताले आफ्ना प्रतिनिधिबाट संविधान बनाउन चाहन्थे। केही वर्ष पछि हामीले त्यो हामीले गर्‍यौँ। तर, यस अवधिमा नेपालमा केही ‘रिवेल ग्रुप’ थिए। त्यहाँ हिंसा पनि भयो। यो फरक प्रकारको संघर्ष थियो।’

उनले २०६१ सालमा भएको १२ बुँदे सम्झौता त उल्लेख गरे तर पनि यहाँ उनले माओवादीलाई ‘हतियारधारी समूह’कै रुपमा चिनाए। 

उनले पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि राजतन्त्रको समाप्ति र गणतन्त्रको उपलब्धि दिएको बताए। पछिल्लो १० वर्षमा नेपालले संविधान बनाएको, हिंसाको अन्त्य भएको, सशस्त्र समूहका हतियारको व्यवस्थापन गरेको लगायतको उपलब्धिबारे व्याख्या गरे। उनले ९२ प्रतिशत सदस्यले संविधानको पक्षमा मत दिएको भन्दै हाल आएर अघोषित रुपमा भए पनि संविधान सबैले स्वीकार गरेको दाबी गरे। 
‘संविधानमा आफ्ना स्वार्थहरु प्रवेश गराउनका लागि केही ‘इन्ट्रेस्ट ग्रुप’ हरु सक्रिय थिए। तर, पनि ९२ प्रतिशत सदस्यले संविधानको पक्षमा मत दिए,’ उनले अगाडि भने, ‘अघोषित रुपमै भए पनि सबैले संविधानलाई स्वीकार गरिसकेका छन्। उनीहरुले यही संविधान अन्तर्गत निर्वाचनमा भाग लिइसकेका छन्।’

एसिया सोसाइटीका संस्थापक अध्यक्ष समेत रहेका अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री रुडले नेपालमा कम्युनिस्ट पार्टीको एकताको प्रसंग कोट्याए। ‘नेपालमा पहिला माओवादी थिए। क्रान्तिकारी कम्युनिस्ट। मैले कम्युनिस्ट सेनाको बारेमा अध्ययन गरेको छु। उनीहरुले राजनीतिक शक्ति बन्दुकको नालबाट ल्याउने प्रयास गरेका थिए,’ उनले अगाडि प्रश्न गरे, ‘थर्ड इन्टरनेसनलको समयमा उनीहरु संसदीय पार्टी र क्रान्तिकारी पार्टीमा विभाजित भए। नेपालमा प्रजातान्त्रिक संसदीय परम्परागत कम्युनिस्ट पनि छन्। नेपालमा, यी दुई कम्युनिस्टलाई एक ठाउँमा ल्याउन सजिलो थिएन होला?’ 

जवाफमा प्रधानमन्त्री ओलीले प्रजातन्त्र र स्वतन्त्रताका लागि के कम्युनिस्ट, के प्रजातन्त्रवादी सबैले हतियार उठाएको बताए। प्रश्नकर्ताले माओवादीको नाम लिएपछि प्रधानमन्त्री ओलीले यस पटक भने माओवादीको नाम लिन बाध्य भए। ‘नेपालमा माओवादीले मात्र हतियार उठाएको होइन। नेपाली कांग्रेससहित अन्य पार्टीले पनि हतियार उठाएका छन्। जब जनताका आवाजहरु शक्तिले दबाइन्छ। उनीहरुले केही समय सहन्छन्। तर, यो केहीसमय पछि विष्फोट हुन्छ नै।’ 

उनले हिंसाको व्यवस्थापन गरिएको भन्दै पुनः पछाडि फर्किन नचाहेको बताए। ‘हिंसा थियो, मानिसहरु मारिए। तर, अहिले परिस्थिति बद्लिएको छ,’ उनले भने, ‘हिंसाको व्यवस्थापन भएको छ। लडाकुको व्यवस्थापन भएको छ। केही लडाकुहरु सेनामा समायोजित भए। केही राहत लिएर घर फर्किए। हतियारहरु नष्ट गरिए।’ 

उनले हतियार उठाएको पार्टीले अहिले सत्ता बन्दुकको नालबाट आउछ भन्ने सिद्धान्त छाडिसकेको पनि बताए। 

प्रश्नकर्ता रुडले नेपालमा नेपाल कम्युनिस्ट पार्टीको सरकार र चीनको चिनियाँ कम्युनिस्ट पार्टीको सरकारबीचको सम्बन्धको विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरे। 

‘नेपालमा कम्युनिस्ट पार्टीको सरकार छ। चीनमा पनि कम्युनिस्ट पार्टीको सरकार छ। के केही वास्तविक माओवादीहरु (चीन)ले पुराना माओवादीसँग छलफल गरेका थिए?,’ उनले प्रश्न गरे। प्रधानमन्त्री ओलीले यसमा असहमति जनाए। नेपाल नयाँ राजनीतिक युगमा प्रवेश गरेको भन्दै अगाडि भने, ‘हाम्रो सम्बन्ध चिनियाँ कम्युनिस्ट पार्टी, अमेरिकाको डेमोक्रेटिक पार्टी, रिपव्लिकन पार्टी राम्रो छ। राष्ट्रपति ट्रम्प, सिजिङपिङ, मोदीसँग पनि हाम्रो सम्बन्ध राम्रो छ। हामी हाम्रो विकासका लागि सबैको सहयोग चाहन्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell