PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फेरि बन्दुक उठाउने मोहन वैद्यको उद्घोष



पहिलोपोस्ट

फेरि बन्दुक उठाउने मोहन वैद्यको उद्घोष

काठमाडौं : क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले फेरि बन्दुक उठाउनुपर्ने अवस्था आएको बताएका छन्। पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विशेष राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले क्रान्तिका लागि फेरि बन्दुक उठाउन जरुरी रहेको दावी गरे।

'केही मान्छेहरु बन्दुक उठाउने कुरा गर्दा डराउने गर्छन। कोही डराउनु पर्दैन,' उनले भने, 'हिजो कांग्रेस, एमाले र सरकारमा रहेका रहेकाले पनि बन्दुक उठाएको हो। त्यसैले बन्दुक उठाउने कुरा गर्दा डराउनै पर्दैन।' 

उनले माओवादी आन्दोलनमा गद्दारी भएको दावी गरे। 'अत्यन्तै विश्वास गरिएकाबाट नै धोका भयो,' उनले भने, 'इतिहासका नायकहरु खलनायक भए। जनयुद्धमा महत्वपूर्ण भूमिका खेल्ने साथीहरु घुम्दैफिर्दै रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामा आएका छन्। संसदीय व्यवस्थाको लागि यत्रो पसिना, रगत बगाउन आवश्यक थिएन।' 

उनले क्रान्तिकारीबीच एकता अभियान चालु रहेको बताए। 'दक्षिणपन्थीहरु एकातिर भएको बेला अब क्रान्तिकारीबीच पनि एकता आवश्यक छ,' उनले भने, 'सत्तामा रहेका र यो सत्तालाई नमान्ने जो बाहिर छन् उनीहरुबीच एकता आवश्यक छ र वार्ता पनि भइराखेको छ। विद्रोहको निम्ति एकता आवश्यक छ।'

अहिलेका प्रकाण्डमाथिको धरपकड हेर्दा पञ्चायत र जनयुद्धको सम्झना दिलाएको उनले बताए। 'त्यसैले पनि बन्दुक उठाउन जरुरी छ। तर बन्दुक हिजो जसरी उठ्दैन। अब हजारौँ लामबद्द भएर नयाँ ढंगले बन्दूक उठाउनुपर्छ,' उनले भने। 

उनले भ्रष्टाचार, बलात्कार, सुन प्रकरण लगायतका विषयमा केही गर्न नसक्दा बाम र कम्युनिस्टट खोल ओडेको सरकारको ढोंग उत्रिएको बताए। भने, 'भ्रष्टाचारी, बलात्कार बढेको छ, ठूलो माछा साना माछा भन्ने कुरा उठे तर कसैले कुनै माछा छोप्न सकेको छैन। यसबाटा वाम र कम्युनिष्ट खोल ओडेका उनीहरुको ढोंग उत्रिएको छ।' 

उनले सरकारमा राष्ट्रियताका कुरा गर्ने रहे पनि दार्चुलामाथि ३१० किमी भन्दा धैरै भारतमा पारिएको विषयलाई वास्ता नगरेको भन्दै सरकारको आलोचना गरे। 

नेता सीपी गजुरेलले जनयुद्ध अहिले दुई कित्तामा बाँडिएको बताए। 'एउटा शासक बनेको छ,' गजुरेलले भने, 'अर्को कित्ता चाहिँ सडकमा छौँ।' 

केही दिनअघि क्रान्तिकारीमाथि डस्न कार्यकर्तालाई अरिंगाल बन्न प्रधानमन्त्रीले निर्देशन दिएको बताउँदै उनले कसैले डस्न आयो भने क्रान्तिकारीले तिनीहरुलाई सखाप पार्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell