PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कमजोर मेरुदण्डमा घस्रिँदै नेपाली फुटबल लिग



गोविन्दराज नेपाल

कमजोर मेरुदण्डमा घस्रिँदै नेपाली फुटबल लिग

काठमाडौँ : मेरुदण्ड कमजोर हुँदा शरीर कस्तो हुन्छ? सबैलाई थाह भएकै विषय हो-शरीर शिथिल हुन्छ।

पछिल्लो आधा दशक यस्तै अवस्था बेहोर्नुपर्‍यो नेपाली फुटबलले। 

फुटबल विकासको मेरुदण्ड हो-लिग। झन्डै पाँच वर्षसम्म लिग नहुँदा नेपालको फुटबलको अवस्था कुन हदसम्म पुग्यो, घाम झै छर्लङ्ग भइसकेको छ।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा नयाँ नेतृत्व आएपछि ए डिभिजन लिगको मिति तोकियो। र त्यसैअनुसार असोज १३ गते लिग सुरु हुँदैछ।

यसै समयमा नेपालको राष्ट्रिय टोलीले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने भएका कारण झन्डै पाँच वर्षपछि हुन लागेको लिग उद्घाटन भएको भोलिपल्टै स्थगित हुने भएको छ।

राष्ट्रियमा टिममा लिग खेल्ने ६ वटा क्लबको खेलाडी रहेका कारण लिग प्रभावित हुने भएको हो।

यसले एन्फा नेतृत्व कमजोर र अदूरदर्शी रहेको प्रस्ट देखाउँछ। एन्फाले लिगको लागि यसअघि नै खेल तालिका सार्वजनिक गरिसकेको छ।

लिगका निर्देशक सञ्जीव मिश्रले नेपालले बंगबन्धुकमा सहभागिता जनाउने वा नजनाउने निश्चित नभएकोले त्यहीअनुसार लिगको मिति सार्वजनिक गरेको प्रतिक्रिया दिए। तर अहिले नेपालले बंगबन्धु गोल्डकप खेल्ने पक्का भएपछि ए डिभिजन लिग सुरुमै प्रभावित बन्न लागेको हो।

एन्फाले केही समय कुरेर खेल तालिका सार्वजनिक गरेको भए राम्रो हुन सक्थ्यो। अब १३ गते लिग खेल्ने खेलाडी भोलिपल्ट राष्ट्रिय टिमसँगै बंगलादेश जानुपर्ने अवस्था छ।

साफ खेलेको टिममा दुई खेलाडी परिवर्तन गर्दै नेपालले मंगलबारबाट बंगबन्धुको लागि प्रशिक्षण सुरु गरेको छ। ठिक यसै बेला क्लबहरूले समेत लिगलाई मध्यनजर गर्दै तयारी गरिरहेका छन्। अहिले एउटै खेलाडी एकै दिन एक पटक राष्ट्रिय टोलीमा र अर्को पटक क्लबका लागि ट्रेनिङ गर्न बाध्य छन्।

पाँच वर्षपछि हुन लागेको छ लिग। त्यो पनि रेलिगेशन बिनै। एन्फा अध्यक्ष कर्मा छिरिङकै भनाई सापटी लिने हो भन् नेपाली फुटबलको माहौल सिर्जना गर्न नन रेलिगेशन लिग गर्न लागिएको हो। उनले अर्को वर्ष रेलिगेशनसहितको लिग गर्ने र ए डिभिजन लिगसहितको ३ लिग आयोजना गर्ने बारम्बार बताइरहेका छन्। 

अर्को विषय भनेको राष्ट्रिय टिममा रहेको र मोफसलमा गोल्डकप खेलेका केही खेलाडी बाहेक अहिले खेलाडी पाउन गाह्रो छ। पाँच वर्षअघि खेलेका धेरै खेलाडी पलायन भइसके। कोही विदेशमा छन् भने कोही पेशा परिवर्तन गर्न बाध्य समेत भइसकेका छन्। 

जसले गर्दा अहिले १४ क्लबलाई कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने नियम पुरा गर्न समेत कठिन भइरहेको छ। स्थानीय खेलाडी र युवाहरूलाई जम्मा पारेर नै क्लबहरूले टिम तयार पारिरहेका छन्। यस पटक एन्फाले अनलाइनमार्फत खेलाडी दर्ता गर्ने प्रणाली लागु गरेको छ। त्यसैअनुरुप क्लबहरूले कम्तीमा १८ जनासहित लिगको लागि टोली तयार गरेर एन्फामा पठाइसकेका छन्। 

क्लबहरूले लिग भरका लागि खेलाडी दर्ता गरेका छन्। तर बंगबन्धुका कारण लिग प्रभावित हुने भएपछि दशैँ तिहार अघि एक राउन्ड लिग सम्पन्न हुनेमै शंका छ। त्यसो भएमा क्लबहरूलाई लिग नहुँदा पनि खेलाडी पाल्नुपर्ने बाध्यता हुनेछ। यसले गर्दा लिग तोकिएको समयभन्दा पछि धकेलिने लगभग पक्का छ।

यसै गरी रेलिगेशन नहुने भएपछि लिगका खेलहरूसमेत त्यति रोमाञ्चक नहुने निश्चित छ। घटुवा नहुने भएपछि क्लबहरूले समेत जित्नैका लागि नखेल्न पनि सक्छन्। खेल खेल्नकै लागि मात्र हुन सक्छ।

यस्तै खेल मिलेमतोको सम्भावना पनि बढी हुन्छ। तर एन्फाले पूर्व प्रहरी विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटी गठन गरेको छ भने मिलेमतो रोक्न पूर्व डिआइजी सुदिप आचार्यलाई इन्ट्रिगिटी अफिसर तोकेको छ। साथै लिग हुने दुई मैदान एन्फा कम्प्लेक्स र हलचोकमा विशेष क्यामेरा राखेर निगरानी गरिने जनाएको छ।

लिगको मिति र खेल तालिका सार्वजनिक भइसकेको छ। १३ गते एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीबिच उद्घाटन खेल हुने पक्का छ। क्लबहरू अहिले लिगका लागि खेलाडी जम्मा पारेर तयारीमा लागिपरेका छन्। उद्घाटन खेलपछि नेपालको राष्ट्रिय टोली बंगलादेश जानेछ।

ग स्थगित हुनेछ। लिग सुरु भएको १० दिनपछि नै दशैँ सुरु हुँदैछ। त्यसबिचमा लिगका खेल हुने वा नहुने भन्ने निर्णय बंगबन्धु गोल्डकपमा नेपालले गर्ने प्रदर्शनमा निर्भर हुनेछ। बंगबन्धु असोज १५ बाट सुरु हुँदैछ। नेपालको पहिलो खेल असोज १६ गते छ।

नेपाल फाइनलसम्म पुगे असोज २६ गतेसम्म व्यस्त हुनेछ। समूह चरणबाट बाहिरिएमा पनि नेपाली टोली असोज २१ गतेसम्म व्यस्त रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell