PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एसिया प्यासिफिक क्षेत्रका सैनिकहरुको संयुक्त अभ्यास काठमाडौंमा शुरु



एसिया प्यासिफिक क्षेत्रका सैनिकहरुको संयुक्त अभ्यास काठमाडौंमा शुरु

काठमाडौं : एसिया प्रसान्त क्षेत्रका १३ देशका सैनिक अधिकारीहरुको संयुक्त अभ्यासमा काठमाडौंमा सुरु भएको छ। नेपाली सेना तथा अमेरिकी सेनाको युएसआर्मी प्यासिफिकको संयुक्त आयोजनामा काठमाडौंमा विपद् व्यस्थापन अभ्यास तथा आदानप्रदान अन्तर्गत युनिटी अफ इफोर्ट-४ मंगलवारबाट काठमाडौंमा सुरु भएको हो।

संयुक्त सैन्य अभ्यासको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन्। संयुक्त सैन्य अभ्यासमा प्राकृतिक विपदका समयमा छोटो समयभित्र गरिने उद्धार कार्य तथा जनधनको न्युनतम क्षतिको लागि अपनाईने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिवृद्धिका विषयमा अभ्यास गरिने बताइएको छ।

सैन्य अभ्यासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरुबीच एकैसाथ भूकम्प लगायत अन्य विपद् व्यवस्थापन कार्य गर्न सक्ने क्षमताको अभिबृद्धि गर्न उद्देश्य राखेको नेपाली सेनाको मुख्यालयले जनाएको छ।

अभ्यास खोज र उद्धारको प्रयास तथा घाईतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यासहरु उपत्यका पृतना हेडक्वाटर परिसर लगायत अन्य विभिन्न स्थानहरुमा संचालन हुनेछ।

संयुक्त सैन्य अभ्यासमा अमेरिका, बंगलादेश, बेलायत, बेल्जियम, चीन, क्यानडा, डेनमार्क, ईजरायल, भारत, माल्दिभ्स, फिलिपिन्स, सिंगापुर र श्रीलंका गरी १३ देशका ६४ प्रतिनिधि सहभागी छन्। अभ्यास १२ गतेसम्म चल्ने छ।

अभ्यासमा नेपालबाट बिभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकायहरु, विभाग, रेडक्रस लगायत विपद् ब्यवस्थापनमा कार्यरत संघ, संस्थाहरुको समेत गरि २३८ जनाको सहभागिता रहेको छ। विपद व्यबस्थापन सम्बन्धि यस्तो अभ्यास नेपालमा सन् २०११ बाट नेपाली सेनाले गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell