PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शक्ति थप्दै कांग्रेस सभापति : यस्ता छन् प्रस्तावित 'पावर'



नेत्र तामाङ

शक्ति थप्दै कांग्रेस सभापति : यस्ता छन् प्रस्तावित 'पावर'

काठमाडौं : नेपाली कांग्रेसले सोमवार देशभर छलफलका लागि लैजान  विधान संशोधनको प्रारम्भिक मस्यौदा तयार पारेको छ। केन्द्रीय विधान संशोधान मस्यौदा समितिले तयार पारेको मस्यौदा हिजोदेखि छलफल शुरु भएको छ। शनिवारसम्म सात प्रदेशका १२ स्थानमा छलफल चल्नेछ।

 

प्रदेश १, ३ र कर्णालीमामा हिजैबाट छलफल सुरु भइसकेको छ भने अन्य प्रदेशमा आजबाट छलफल शुरु भएको छ।

 

अन्तिम मस्यौदा छलफलका लागि केन्द्रीय समितिमा तिहार अगाडिको पेश गरिने कार्यक्रम रहेको समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

 

यी हुन् प्रस्तावित अधिकार

पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेताहरु अनुशासनमा नबसेको आरोप लगाउँदै आएका छन्। कांग्रेसमा अन्तर्घातको रोगको उपचार हुन नसकेको आवाज पटकपटक उठ्दै आएको छ।

पार्टीका अन्तर्घातीलाई कारबाही गर्न सभापतिलाई शक्तिशाली बनाउनुपर्ने कतिपय केन्द्रीय सदस्यहरुले नै माग गर्दै आएका छन्। कतिपयले भने सभापति निरंकुश बन्दै आएको दाबी गरेका छन्।

यसै बेला कांग्रेसको विधान संशोधनका लागि अभ्यास शुरु भएको छ। विधान संशोधनको प्रारम्भिक मस्यौदामा सभापतिलाई शक्ति थप्न प्रस्ताव गरिएको छ।

नेपाली कांग्रेसको विधान २०१७ (२०६६ छैटौं संशोधन)को २४ दफामा केन्द्रीय सभापतिको काम कर्तव्य र अधिकारमा १२ उपदफाहरु उल्लेख गरिएका छन्।

संशोधनका लागि तयार पारिएको प्रारम्भिक मस्यौदाको प्रस्तावमा सभापतिका काम कर्तव्य र अधिकार हुबहु रहेका छन् र कुनै अधिकार थपिएका छैनन्।

यद्यपि, वैकल्पिक प्रस्तावमा भने सभापतिको अधिकार बढाइएको छ। वैकल्पिक प्रस्तावमा १३ उपदफा र एक शीर्षक थप गरिएको छ।

उक्त प्रस्तावमा दफा १२ सम्म काम कर्तव्य र अधिकार लगभग हुबहु नै रहेको छ भने १३ औं उपदफामा पार्टीका सदस्यलाई निलम्बन गर्नसक्ने अधिकार थपिएको छ। भनिएको छ, 'पार्टीको विभिन्न तहका क्रियाशील सदस्य पार्टीको नीति कार्यक्रम एवं विधान विपरित कार्यगरेको महसुस भइ प्रमाणसमेत भएमा तत्काल सभापतिले त्यस्ता व्यक्तिलाई निलम्बन गरी सो को सम्पूर्ण तथ्य सत्य छानबिनका लागि अनुशासन समितिमा प्रस्ताव पठाउनेछन्। उक्त प्रस्तावमा अनुशासन समितिले छलफल गरी विधान विपरीत कसुर ठहर भएमा सो ठहरसहित केन्द्रीय कार्यसमितिमा अन्तिम कारबाहीका लागि सिफारिस गर्नेछ। उक्त क्रियाशील व्यक्ति दोषी भए निश्कासन हुने छ।'

यसैगरी केन्द्रीय सभापति प्रतिनिधिसभाको सदस्य भएको अवस्थामा स्वत: संसदीय दलको नेता हुने प्रस्तावसमेत वैकल्पिक प्रस्तावमा राखिएको छ। यसअघि संसदीय दलका लागि निर्वाचन हुन्थ्यो।

 

केन्द्रीय समितिमा पनि 'पावर' बढ्ने

यसैगरी केन्द्रीय कार्यसमितिमा पनि सभापतिको पावर बढ्ने देखिन्छ। केन्द्रीय समितिमा हाल पदाधिकारीसहित ८५ जनाको कार्यसमिति रहेकोमा १०३ देखि १३३ सम्मको केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको छ। जसमा उपसभापति ३ जना र सहमहामन्त्री ३ जना राख्ने प्रस्ताव गरिएको छ। पहिलो वैकल्पिक प्रस्तावमा तीनैजना उपसभापति र तीनैजना सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रस्ताव गरिएको छ भने दोस्रो विकल्पमा २ जना उपसभापति र २ जना सहमहामन्त्री निर्वाचित हुने र अरु सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय सदस्यहरु बढ्ने भनिए पनि सभापतिले मनोनित गर्ने संख्यामा भने कुनै परिमार्जन पेश गरिएको छैन।  प्रारम्भिक मस्यौदामा पुरानै व्यवस्थाअनुसार महिला १, दलित १, जनजाति १, मधेशी १, मुस्लिम १ र थप १६ जना केन्द्रीय सदस्यमा मनोनित हुने उल्लेख छ। केन्द्रीय समितिको आकार बढाएमा मनोनित केन्द्रीय सदस्यको संख्यासमेत बढ्ने सम्भावना देखिन्छ।

 

कांग्रेसको विधान २०१७ (२०६६ छैठौं संशोधन)को २४ दफामा केन्द्रीय सभापतिको काम कर्तव्य र अधिकार

२४.केन्द्रीय सभापतिको काम कर्तव्य र अधिकार : केन्द्रीय सभापतिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ।

१) महाधिवेशन, महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय
कार्यसम्पादन समिति र संसदीय समितिको अध्यक्षता गर्ने र आवश्यकता परे निर्णायक मत दिने।

२)विधान बमोजिम केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने।

३)केन्द्रीय सभापतिले पदाधिकारीहरूको कार्यविभाजन गर्ने, कार्यविभाजन हेरफेर गर्ने तथा पार्टीका पदाधिकारी एवं सदस्यहरूमध्येबाट प्रवक्ता तोक्ने वा मनोनयन समेत गर्ने।

४)पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने तथा पार्टीलाई सबल र सक्षम सङ्गठनका रूपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्ने।

५)पार्टीका तर्फबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक प्रतिनिधित्व गर्ने वा गराउन लगाउने।

६)पार्टीका अगाडि तत्काल परिआएका कार्यहरू गर्ने र त्यसको जानकारी केन्द्रीय कार्यसमितिलाई दिने।

७)पार्टीका केन्द्रीय निकायहरूद्वारा भएका निर्णयहरूको कार्यान्वयन भए नभएको रेखदेख गर्ने र गर्न लगाउने।

८)केन्द्रीय विभाग एवं अन्य केन्द्रीय निकायका प्रमुख र सदस्यहरूको नियुक्ति, मनोनयन वा हेरफेर गर्ने।

९)केन्द्रीय कार्यालयका लागि आवश्यक कर्मचारीको नियुक्ति र हेरफेर गर्ने। केन्द्रीय सभापतिले पार्टीको निकाय, पदाधिकारी वा सदस्यका सम्बन्धमा परेको उजुरी र गतिविधिका सम्बन्धमा छानविन समिति गठन गरी जाँचबुझ गर्न सक्नेछ।

१०)केन्द्रीय कार्यसमितिले छानविन समितिको प्रतिवेदनका आधारमा वा तत्कालको आवश्यकता अनुसार पार्टीको कुनै पनि निकाय वा पदाधिकारी वा सदस्यलाई पदबाट निलम्बन गर्न सक्नेछ।
 

११) केन्द्रीय कार्यसमितिले पार्टीको कुनै पनि निकायलाई निलम्बन गर्दा त्यस्तो निलम्बन भएको पार्टीको निकायको कार्यसम्पादन गर्न निलम्बन भएको अवधिसम्मका लागि कुनै समिति वा सदस्य वा व्यक्तिलाई तोक्न सक्नेछ।

१२)  केन्द्रीय सभापतिले आफू विदेश गएको अवस्थामा उपसभापतिलाई कार्यवाहक सभापति तोक्नेछ।

 

कांग्रेसको विधानमा आवश्यक संशोधन र परिमार्जनका सम्बन्धमा नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले प्रस्तुत गरेको वैकल्पिक प्रस्ताव

 

(१३) पार्टीको विभिन्न तहका कृयाशील सदस्य पार्टीको नीति कार्यक्रम एवं विधान विपरित कार्य गरेको महशुस भई प्रमाण समेत भएमा तत्काल सभापतिले त्यस्ता व्यक्तिलाई निलम्वन गरि सो को सम्पूर्ण तत्य सत्य छानविनका लागि अनुशासन समितिमा प्रस्ताव पठाउनेछ। उक्त प्रस्तावमा अनुशासन समितिले छलफलगरि विधान विपरित कसुर ठहर भएमा सो ठहर सहित केन्द्रीय कार्यसमितिमा अन्तिम कारवाईको लागि सिफारिस गर्नेछ। उक्त कृयाशील व्यक्ति दोषी भए निश्कासन हुने छ।

(थप गरिएको)
संसदीय दलको नेताको बैकल्पिक प्रस्ताव केन्द्रीय सभापति प्रतिनिधि सभाको सदस्य भएको अवस्थामा स्वत: संसदीय दलको नेता हुने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell