PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रोनाल्डोलाई पछि पार्दै लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी



पहिलोपोस्ट

रोनाल्डोलाई पछि पार्दै लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी

दुई सुपर स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको दबदबालाई तोड्दै क्रोएसियन खेलाडी लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक वर्ष प्रदान गर्ने 'फिफा द बेस्ट अवार्ड' जित्दै मोडरिचले आफू विश्वकै उत्कृष्ट भएको प्रमाणित गरे। रसियामा गत जुलाईमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेका मोडरिच पहिलो पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन्।

इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राती भव्य समारोहकाबीच भएको फिफा बेस्ट अवार्ड सेरेमोनीमा ३३ वर्षिय मोडरिचले रियलका पूर्व सहकर्मी हाल युभेन्ट्स क्रिस्टियानो रोनाल्डो र लिभरपुलका इजिप्टियन मेसी मोहम्मद सलाहलाई पछि पारे।

मोडरिचले २९.०५ प्रतिशत मत प्राप्त गर्दा रोनाल्डोले १९.०८ र सलाहले ११.२३ मत प्राप्त गरे।

विश्वभरका राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक सेलेक्टेड मिडिया पर्सन र फ्यानहरुले अनलाइनमा गरेको भोटिङको आधारमा विजेता छनोट गरिएको हो।

गत सिजन रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग जिताउन पनि मोडरिचले भूमिका खेलेका थिए।

सन् २००७ मा ब्राजिलयन मिडफिल्डर काकाले फिफा वर्ष खेलाडी अवार्ड जितेयता यस अवार्ड जित्ने मोडरिच पहिलो खेलाडी समेत बनेका छन्। बीचको एक दशका मेसी र रोनाल्डोले यस अवार्डमा वर्चस्व जमाएका थिए। दुवैले समान ५ पटक यो अवार्ड जितेका थिए।

यसैगरी ब्राजिलियन फरवार्ड मार्टाले फिफा वर्ष महिला खेलाडीको अवार्ड जितिन्। उनले छैटौँ पटक अवार्ड जितेकी हुन्।

ओरलान्डो प्राइडबाट व्यावसयिक फुटबल खेल्ने मार्टाले लागि अदा हेजेरबर्ग र डीज्नीफर मारोजसानलाई पछि पारिन्।

यस्तै पुरुष वर्ष प्रशिक्षकको अवार्ड विश्व विजेता फ्रान्सेली प्रशिक्षक डिडयर डेसच्याम्प्ले जिते। महिला तर्फको प्रशिक्षकको अवार्ड फ्रान्सेली क्लब लियोनका रेयनाल्ड प्याड्रोसले जिते।

उत्कृष्ट गोलकिपरको अवार्ड टिबाउट कोर्तवाले हात पार्दा उत्कृष्ट गोलको लागि पुस्कास अवार्ड लिभरपुलका मोहम्मद सलाहले प्राप्त गरे।

पाँच नयाँ खेलाडीले डेब्यु गरेको फ्रिफ प्रो टिम अफ दि इअरमा रोनाल्डो र मेसीले स्थान बनाउँदा नेमार भने अटाएनन्।

नेमारको स्थानमा यसपटक फ्रान्सेली युवा खेलाडी किलिएन एमबाप्पेले स्थान बनाए। यस्तै गोलकिपरमा युनाइटेडका डेविड डे हेअ, डिफेन्डरहरुमा ड्यानी अल्भ्स, सर्गियो रामोस, मार्सेलो र राफेल भरान, मिडफिल्डरमा मोडरिचसँगै एनगोलो कान्टे र एडेन हाजार्डले स्थान बनाए।

फिफा फ्यान अवार्ड पेरुको फ्यानहरुले प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell