PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीको आत्मसंस्मरण आउँदै



पहिलोपोस्ट

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीको आत्मसंस्मरण आउँदै

नेपालगन्ज : नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान एलबी क्षेत्रीको आत्मसंस्मरण पुस्तक प्रकाशन हुने भएको छ। सोमवार नेपालग्नजमा पत्रकार सम्मेलन गर्दै सन् १९९८ का कप्तान क्षेत्रीले आत्मसंस्मरण बारे खुलासा गरेका हुन्।

पुर्व कप्तान क्षेत्रीको आत्मसंस्मरण क्रियटिभ बुक्सले प्रकाशन गर्न लागेको हो। क्रिएटिभ बुक्सले यसअघि सुरेन्द्र हमालको ओलम्पियन पुस्तक प्रकाशन गरेको थियो।

नेपाली महिला क्रिकेटको जग बसाउने काम उनै क्षेत्रीले गरेका हुन्। क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र ५ को अध्यक्ष हुँदा नेपालमा उनले नेपालगन्जबाट महिला क्रिकेटको सुरुवात गराएका थिए।

पुर्‍ख्यौली थलो पर्वतबाट भारतको पश्चिम बंगालमा सपरिवार २४ वर्ष बस्दा क्षेत्रीले क्रिकेट यात्रालाई टेनिस बलदेखि ए डिभिजन लिगसम्म पुर्‍याएका थिए। भारतको चर्चित जाइन्ट क्लव मोहम्मडनदेखि बेलगाछिया, बाटा हुँदै मेट्रो रेलको टीमबाट खेलेका क्षेत्री नेपाल फर्केर स्थानीय क्लबहुँदै नेपाली क्रिकेटको पहिलो आधिकारिक राष्ट्रिय टिममा परे। सन् १९९८ मा काठमाण्डौमा भएको दोस्रो एसीसी प्रतियोगितामा नेपाली टिमको कप्तानी सम्हाले। 

२०५० सालदेखि कोहलपुर बस्दै आएका क्षेत्रीले २०५२ सालमा बाँके टीमबाट घरेलु मैदान कलैयामा ‘डेब्यु’ गरेका थिए। त्यसलगत्तैको १२औं जय ट्रफी खेलेपछि उनी राष्ट्रिय टीममा परे। सन् १९९६ मा नेपाली टोलीले पहिलो पटक मलेसियामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा क्षेत्री टीमका उपकप्तान थिए। दुई वर्षपछि १९९८ मा कप्तान भए। बाँके टिमको समेत कप्तान रहेका क्षेत्रीले ०५६ सालमा राजबिराजमा भएको १६औं जय ट्रफीसम्म खेले।

२०६० सालमा क्षेत्री नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष भए। २०६१ देखि सुरु भएको छात्रा क्रिकेटको परिकल्पनाकार उनै थिए। २०६१ फागुन १५ देखि २२ गतेसम्म कोहलपुर क्रिकेट मैदान र मंगलप्रसाद माविमा छात्राले क्रिकेट खेल्दा धेरैले नौलो माने। २०६१ माघ १९ मा राजाले कु गरेपछि क्यान पुनर्गठन भयो। २०६२ मा भएको पुनर्गठनमा एलबी परेनन्। २०६३ सालमा पुनः क्यानमा फर्किए। यो बेला उनले लेदरबलले छात्रा क्रिकेट प्रतियोगिता गराए। २०६४ मा बाँके र रुपन्देहीको छात्राका बीचमा मैत्रीपूर्ण म्याच भयो। त्यही साल असारमा महिलाको राष्ट्रिय लिग भयो। महिला क्रिकेट राष्ट्रिय लिग हुँदा क्षेत्री संयोजक थिए। लिगबाट राष्ट्रिय टोली बन्यो। त्यसमा कप्तान नेरी थापामगरसहित बाँकेका सात जना खेलाडी परेका थिए। नेपाली महिला क्रिकेट टोलीले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय म्याच मलेसियामा खेल्यो। महिला टोलीको व्यवस्थापक बनेर क्षेत्री नै गएका थिए।

भारतमा पाँच वर्ष ए डिभिजन खेल्नु, नेपालको पहिलो टोलीको उपकप्तान हुँदै कप्तान, महिला क्रिकेटको शुरुवातकर्ता, क्यानमा कप्तानको तर्फबाट प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति रहेका क्षेत्री अहिले आइसीसीले क्यानलाई चलायमान गराउन बनाएको स्वतन्त्र समूहको सदस्य छन्। यी सबै भोगाई र अनुभवलाई क्षेत्रीले आफ्नो आत्मकथामा समेटेका छन्। उनको पुस्तकले नेपाली क्रिकेटमा व्यवसायिक सपना बोकेर आएका खेलाडी र राजनीतिक हस्तक्षेपबिरुद्ध जुटेका क्रिकेटप्रेमीलाई प्रेरणा दिने विश्वास छ।

नेपाली क्रिकेटका संभावना, चुनौति र समस्या पहिचान गर्न समेत मद्दत गर्ने अपेक्षा रहेको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले बताए। नेपाली खेलाडीको पहिलो बायोग्राफी ‘ओलम्पियन’ सुरेन्द्र हमालबाट प्रकाशन यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले यो बीचमा केशव श्रेष्ठको समृद्धिको बाटो, भिष्म उप्रेतीको पाइला पाइला उपन्यास, केशव श्रेष्ठकै शून्यदेखि करोडपतिसम्म नामक पुस्तक प्रकाशन गरिसकेको छ। त्यसैगरी नेपालगन्ज उत्सव समेत प्रकाशन गरेको छ। २०७५ सालभित्र आधा दर्जन खेलकुद सम्बन्धि पुस्तक प्रकाशन गर्ने तयारी गरेको क्रियटिभ बुक्सका अध्यक्ष ठकुरीले खुलासा गरे। साथै त्यत्तिकै हाराहारीमा साहित्यिक कृतिको काम भइरहेको पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell