PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आफैँ पेट्रोलियम पदार्थ ढुवानीको तयारीमा आयल निगम, अध्ययन गर्न समिति गठन



पहिलोपोस्ट

आफैँ पेट्रोलियम पदार्थ ढुवानीको तयारीमा आयल निगम, अध्ययन गर्न समिति गठन

काठमाडौँः नेपाल आयल निगमले आफैँले पेट्रोलियम पदार्थ ढुवानीको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ।

निगम सञ्चालक समितिले वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र निगमका प्रवक्ता वीरेन्द्र गोइत सदस्य छन्।

समितिले निगम आफैँले ट्याङ्कर सञ्चालन गर्न आवश्यकपर्ने प्राविधिक विषयवस्तुका सम्बन्धमा विस्तृत अध्ययन गर्ने निगमका प्रवक्ता गोइतले जानकारी दिए। समितिले इन्धन ढुवानीमा निजी क्षेत्रका एकाधिकार अन्त्य गर्न आफैँले ट्याङ्कर सञ्चालन गर्न उपयुक्त हुने/नहुने बारेमा पनि अध्ययन गर्नेछ। हाल निगमसँग इन्धन ढुवानी गर्ने ट्याङ्कर छैन। निजी क्षेत्रका ट्याङ्करले नै इन्धन ढुवानी गर्दै आएका छन्।

निगमको स्वामित्वमा इन्धन ढुवानी गर्ने ट्याङ्कर नहुँदा निजी क्षेत्रका ट्याङ्कर चालकले विभिन्न माग राख्दै पटकपटक इन्धन ढुवानीमा अवरोध गर्दै आएका छन्। निगमले ट्याङ्कर चालकको माग पूरा गरे पनि केही दिनअघि पुनः विभिन्न माग राख्दै इन्धन ढुवानीमा अवरोध गर्दा पेट्रोलियम पदार्थको वितरणमा असहज अवस्था सिर्जना भएको थियो।

एक्कासी मुलुकमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले गत शुक्रबारका लागि सवारी साधनका लागि कोटा प्रणालीसमेत लागू गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell