PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सर्वनाममा 'जनयुद्ध जारी छ?'



पहिलोपोस्ट

सर्वनाममा 'जनयुद्ध जारी छ?'

काठमाडौं: दस वर्ष लामो सशस्त्र विद्रोहपछि २०६३ मा शान्ति सम्झौता भयो। त्यस पछाडि माओवादी जनमुक्ती सेना ७ वटा डिभिजन अन्तर्गतका २१ वटा शिविरमा बस्न थाले। शिविरमा रहेकाहरुलाई संयुक्त राष्ट्रसंघीय नियोग अन्मिनले प्रमाणिकरण सुरु गर्‍यो र प्रमाणित भएकाहरुलाई परिचय पत्र दियो।

जसलाई सरकारले सेना समायोजन विशेष समिति गठन गर्‍यो। कार्यदलले माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन गर्नका लागि मापदण्ड बनायो। उक्त मापदण्ड पुरा नहुनेहरुलाई 'अयोग्य' घोषणा गर्‍यो र फिर्ता पठायो। 

सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटकमा पनि क्रान्ति गर्न परिवार, पढाई, प्रेम आदि त्यागेर आएकाहरु लड्दा लड्दै अयोग्य औचित्यहिन घोषित हुन्छन्। उनीहरुले क्रान्तिको लागि उठाएको हतियार बेकार हो भनिन्छ। नाटकको मुख्य उदेश्य नै सामन्तवादविरुद्ध लडेकाहरुमाथि भएको छल र उनीहरुको अधुँरो सपना देखाउनु हो। 



नाटकमा बैशाखीलाई हतियारको रुपमा विम्बात्मक ढङ्गले प्रयोग गरिएको छ जहाँ लडाकुहरु बम, बन्दुक, बारुद, खुकुरी आदि केही बोक्दैनन्। बैशाखी जसको सहारामा पूरा राज्य अडिएको छ। नाटकमा प्रयोग उक्त विम्बले सशस्त्र द्वन्द्वताका जनता, समाज र सिंगो देशको अवस्था संकेत गर्छ। सँगै नाटकले प्रश्न पनि गर्छ- के देशको अवस्था अझै उस्तै छ? जनयुद्ध जारी छ?

नाटक दुई नयाँ सैनिकहरुको भर्ती र परिचयसँगै सुरु हुन्छ- एकजना पढ्दै गरेको विद्यार्थी र एकजना बुवाआमाको सहारा। दुबैलाई क्रान्तिकारी नाम दिइन्छ सफल र अग्नी।

सुरुमा त दुबै आत्तिन्छन्, डराउँछन्। सफलले भन्छ- 'किताब बोक्नभन्दा क्रान्तिको वैशाखी बोक्न गाह्रो हुने रहेछ।' तर जब सामन्तीहरुको विरुद्ध लड्नुको ‌औचित्य सम्झाइन्छ तब उनीहरु जनवादी गीत गाउँछन्, लड्छन्, परिवर्तनका लागि मर्नु र मार्नुलाई स्विकार्न सक्ने हुन्छन्। 

उनीहरुको जोस, समाजमा समानताका खातिर गरेको त्याग, देखेको सपनासँगै परिवार पनि त छ। उनीहरुसँग जोडिएको भावनाको पाटो पनि छ। नाटकमा अग्निको परिवारमा छोरा लड्दै गर्दा सिर्जना हुने अवस्थाको कथा पनि देखाइन्छ। साथै प्रेम र भावनाले एक युवा र एक युवतीलाई क्यान्टोनमेन्टमै नजिक्याउने यथार्थलाई पनि देखाइएको छ। 



गत शुक्रबारदेखि सुरु भएको नाटक मञ्चन असोज २१ गतेसम्म चल्नेछ। नाटकको लेखन तथा निर्देशन राज शाहले गरेका हुन्। नाटकमा राज शाह, सुजिता अधिकारी, शर्मिला नगरकोटी, सुदर्शन अर्याल, मनोज महर्जन, इन्द्रबहादुर चौधरी, मुकेश हमाल, पासलाक्पा शेर्पा, धिरज थापा मगर, कृष्ण खड्का, शोभा लिम्बु, आशिष काफ्ले, मोहन श्रेष्ठ, नमपराज पराजुलीको अभिनय रहेको छ। 


फोटोहरु: नविनबाबु गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell