PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

के पोर्न प्रतिबन्धले यौनजन्य हिंसा रोकिन्छ? कलाकारहरु भन्छन्- सम्भव छैन



स्वेच्छा राउत

के पोर्न प्रतिबन्धले यौनजन्य हिंसा रोकिन्छ? कलाकारहरु भन्छन्- सम्भव छैन

'इन्टरनेटको माध्यमबाट यौनजन्य, अश्लील सामाग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुग्दछ तथा यौनजन्य हिंसा सिर्जना गर्न प्रेरित गर्दछ।'

शुक्रबार अश्लील (पोर्न) साइटमा प्रतिबन्ध लगाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्योस। 'पोर्न साइट' बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा उक्त विषयमाथि विभिन्न टिप्पणी सुरु भयो।

फिल्म निर्देशक दीपेन्द्र के खनाल प्रश्न गर्छन्,  - केलाई पोर्न मान्ने र के के चाहिं ब्यान गर्ने? 

पहिलोपोस्टसँग कुरा गर्दै उनले भने, 'छोटा लुगा लगाउनु अश्लील हो कि, एडल्ट दृश्य? के चाहिं बन्द गर्ने? त्यसो हो भने त यहाँ बलिउड हलिउडका प्रायः फिल्म प्रदर्शनमा नआउलान्।' 

सरकारले देशमा बढ्दो यौनजन्य दुर्व्यवहारमा पोर्नोग्राफीले पारेको असर बारे उचित अध्ययन अनुसन्धान गरेर मात्र उक्त कदम चाल्न ठीक हुने तर्क उनले राखे। भने, 'हामीमा चेतनाको आवश्यकता छ, नैतिक शिक्षाको आवश्यकता छ। यो सही, यो गलत छुट्याउन नसक्दासम्म पोर्न ब्यान गरेर मात्र यौन हिंसा रोकिन्छ जस्तो मलाई लाग्दैन।'

त्यस्तै फिल्म निर्देशक तथा कलाकार दीपाश्री निरौलाले अश्लील सामाग्रीहरुमा प्रतिबन्ध लगाएपनि फिल्मको रुपमा स्वीकृति लिएर निर्माण भएका सामाग्रीमा प्रतिबन्ध लाग्नु ठीक नभएको तर्क अघि सारिन्।
 
भनिन्, 'अनैतिक र अश्लील कुरामा खुला हुन दिनु ठिक होइन। असर गर्छ भने रोक्न आवश्यक छ। तर सम्भव छ कि छैन अहिलेलाई ध्यान त्यता मोडिनु पर्छ जस्तो लाग्छ।'

गत अगस्त ९ मा फिल्म 'कथा काठमाडौं'को गीत 'जून अनि तारा' सार्वजनिक भयो। गीत सार्वजनिक भएको केही समयमै युट्युब तथा सामाजिक सञ्जालमा विवादमा तानियो। धेरैले गीतको भिडियोमा प्रियंका कार्की र प्रमोद अग्रहरीले दिएको दृश्य 'पोर्न' फिल्मजस्तो देखिएको समेत लेखे।

केही दिनपछि उक्त दृश्य पोर्नसाइट 'पोर्न हब'मा अपलोड हुनुले अर्को गसिप पैदा गर्‍यो। फिल्म निर्देशक संगीता श्रेष्ठका अनुसार प्रहरी लगायत सम्बन्धित निकायहरुले हटाउनका लागि उचित सहयोग गरेनन्। ‘सबैले आफूसँग सम्बन्ध नरहेको भन्दै फर्काए’, उनले पत्रकार सम्मेलनमा भनेकी थिइन्।

त्यति मात्र नभएर उनको फिल्मको दृश्य दुरुपयोग गर्ने च्यानलको लिंक सहित उक्त दृश्य हटाउन चलचित्र विकास बोर्डले समेत पत्र काट्यो।

अश्लील दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको थियो। संगीता प्रश्न गर्छिन् - पोर्न के हो? यदि उक्त दृश्य साँच्चै अश्लील थियो भने सेन्सरले किन रोकेन?

सन् २०१५ मा भारत सरकारले पनि पोर्नोग्राफी प्रतिबन्ध गर्ने निर्णय गर्‍यो। तर अत्याधिक आलोचना र विरोधपश्चात् चाइल्ड पोर्नोग्राफीमा सीमित राखी उक्त निर्णय उल्टाइएको थियो। निर्णयको विरोध गर्नेमा धेरै बलिउडकर्मी रहेका थिए। उनीहरुले सामाजिक सञ्जाल एवं मिडियामार्फत पोर्नोग्राफी प्रतिबन्ध हुनुलाई गलत भन्दै बोले।

अभिनेत्री सोनम कपूरले अगस्त ३, २०१५ मा लेखेकी थिइन्- ‘ती मूर्खहरुलाई ब्यान गर्नुस् जसलाई लाग्छ पोर्न ब्यान गर्नुले भारतीय मान्छेको मानसिकतामा फरक पार्छ।‘  उनले सरकारको निर्णयमा असहमति व्यक्त गरेकी थिइन्।

त्यस्तै लेखक चेतन भगतले पोर्न ब्यान गर्नुलाई स्वतन्त्रताको हननको रुपमा ट्विट गरेका थिए। उनले सरकारलाई सम्बोधन गर्दै लेखेका थिए- कसैको व्यक्तिगत जीवनको व्यवस्थापन नगरौं।

फिल्म निर्माता रामगोपाल वर्माले पनि विरोध गर्दै भारत र अमेरिकाको अनलाइन ट्राफिकको तुलना गरेका थिए।

कलाकार उदय चोपडाले लेखेका थिए, ’म छक्क पर्छु के पोर्न ब्यान गर्नुले साँच्चै यौन हिंसा रोक्ला? त्यसो भए अब के ब्यान गर्ने त?’ 

त्यस्तै पटकथा लेखक मयुर पुरी, कलाकार राजिव खन्डेलवाल, फिल्म निर्माता ओनिर लगायतले पनि सामाजिक सञ्जालमार्फत पोर्नोग्राफी ब्यानको विपक्षमा उभिए।

त्यसताका भारतमा ८ सयभन्दा बढी पोर्न साइट ब्यान गरियो। सामाजिक सञ्जाल साथै अन्य इन्टरनेट सेवा प्रदायकमार्फत् दिइएको दवावले एक सातासम्म गरिएको प्रतिबन्ध खुला गरियो। र सूचना तथा सञ्चार शाखाले निर्णयलाई बाल पोर्नमा कायम राख्दै प्रष्टिकरण दियो- सामाजिक मूल्य मान्यता कायम राख्न पोर्न ब्यान गरिएको थियो तर देशव्यापी रुपमा स्वतन्त्रता र सेन्सरसिपको प्रश्न उठ्यो।

तत्कालीन सूचना तथा प्रशारण मन्त्री रवि शंकर प्रसादले इन्डिया टुडे टिभीसँग भनेका थिए- बाल पोर्न प्रमोट नगर्ने साइटहरुको प्रतिबन्ध हटाइएको हो।

यसरी अधिवक्ता कमलेश वासवानीले पोर्न साइन बन्द गर्न गरेको प्रयास असफल ठहरियो।

नेपालको हकमा के हुन्छ हेर्न बाँकी छ। 

अभिनेत्री केकी अधिकारी भन्छिन्, ’पोर्न साइट बन्द गर्नुले सामाजिक अस्थिरता र यौनजन्य हिंसा घट्छ जस्तो मलाई लाग्दैन। त्यसैले अहिले सम्भव हुने काममा ध्यान दिनु उचित हो।‘

 उनले सबैको सहज पहुँच रहेको युट्बमा राखिने आपत्तिजनक टाइटल र थम्बनेल नियन्त्रणका लागि निकाय सक्रिय गराउन पर्ने तर्क राखिन्।

निर्माता तथा निर्देशक हेमराज बिसीले अस्वस्थ मानसिकता भएकालाई नियन्त्रण गर्न पोर्न साइट बन्द गर्नु वा पोर्नोग्राफी ब्यान गर्नु उचित नहुने बताए। भने, ’खोइ यौन र नैतिकता सम्बन्धी व्यवहारिक शिक्षा? आजको आवश्यकता त त्यो हो नि। यौन हिंसा रोक्न न त मठ मन्दिरमा रहेका यौनजन्य देखिने मूर्तिहरु उखेलेर हुन्छ न त यौनजन्य सामाग्रीमा बन्देज लगाएर।’ 

चेतनास्तर नउकासिएसम्म पोर्नोग्राफी प्रतिबन्ध, छोटो लुगा प्रतिबन्धले सामाजिक हिंसा नघट्ने निचोड उनको छ।

‘जुन कुरा दबाइन्छ, त्यसमा मान्छेको चासो बढ्छ। यौनको हकमा पनि त्यही हो, हाम्रो समाज यौन र यौनिकता बारे उदार नभइदिनुले यौन हिंसा बढेको हो यसमा पोर्न साइट ब्यान गर्नु समाधान होइन’, कलाकार तथा सञ्चारकर्मी माल्भिका सुब्बा भन्छिन्।

खुला बहस र चेतनामुलक कार्यक्रमहरुले केही हदमा यौन अपराध कम हुने विचार उनले राखिन्। ‘पोर्नोग्राफीले ‘सेक्सुअल फ्रस्टेसन’ कम वा बढी गर्ने होइन। त्यो त मानिसको मानसिक स्थितिमा भर पर्ला। यस्तोमा भात र पानी जस्तै आवश्यक यौनलाई हाउगुजी बनाउनु। त्यस सम्बन्धी सामाग्रीलाई प्रतिबन्ध लाउनु बेठिक हो’, सुब्बा भन्छिन्,’बरु उमेर अनुसार बालबालिका, युवालाई आवश्यक जानकारी दिनुपर्छ होला।’ 

निर्देशक तथा गीतकार दिनेश राउतले अश्लील र द्विअर्थी लाग्ने सामाग्रीहरुले फिल्म क्षेत्र र फिल्मकर्मीको पहिचानमा असर गरेको र यसको निवारणका लागि फिल्मपत्रकार फिल्मकर्मी नै सचेत हुन पर्ने सुनाए। 

‘सरकारी निकायले यस्तो सामाग्री नियन्त्रणमा ध्यान देओस् न। पोर्न साइट ब्यान त न सम्भव होला न यसले यौन हिंसा रोक्ला’, राउत थप्छन्,’सामाजिक सद्‍भाव समाजलाई स्वतन्त्र राखेर बढ्छ कुरामा प्रतिबन्ध लगाएर होइन।’
 
मन्त्रालयले शुक्रबारै निर्देशन दिएको भए पनि सोमबारसम्म अधिकांश अश्लील सामाग्रीसहितका वेबसाइटहरु भने बन्द भइसकेका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell