PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सहज किन्न पाइने एसिडको घातक परिणामः कसरी गर्ने नियमन? यस्तो छ कानुनी व्यवस्था



सविन ढकाल

सहज किन्न पाइने एसिडको घातक परिणामः कसरी गर्ने नियमन? यस्तो छ कानुनी व्यवस्था
प्रतीकात्मक तस्विर

काठमाडौँ: गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ। एसिड आक्रमणपछि कीर्तिपुर अस्पतालमा उपचाररत दासको गएराति ११ बजे मृत्यु भएको हो। एसिड लागेर सम्झनाकी १४ वर्षीय  बहिनी घाइते छिन्।

एसिड हानेको अभियोगमा प्रहरीले सम्झनाका छिमेकी ४५ वर्षीय रामबाबु पासवानलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । यौन प्रस्ताव नमान्दा पासवानले एसिड हानेको मृतक सम्झनाले बयान दिएकी थिइन्। प्रहरीको अनुसन्धानमा पनि पासवानले सम्झनालाई मोबाइलबाट पटक-पटक फोनसमेत गरेको देखिएको छ।

पासवानले राती सिसाको बोतलमा राखिएको एसिड लिएर सम्झनाको घर पुगेको र एसिड छ्यापेर भागेको अनुसन्धानमा देखिएको छ। देशभर सहजै रुपमा उपलब्ध हुने यही एसिड नै सम्झनाको लागि मृत्युको कारक बन्न पुग्यो।

छिमेकी देश भारतमा नेपालमा जस्तै सहज एसिड खरिद गर्न पाइँदैन। एसिड आक्रमण बढेपछि त्यहाँ यसलाई हतियारको रुपमा परिभाषित गर्दै बिक्री वितरणमा कडाई गरिएको छ। भारतमा कसैले एसिड किन्नुपर्यो भने किन्नेको परिचय खुल्ने कागजात अभिलेखका रूपमा राख्नुपर्ने भारतीय न्यायालयले आदेश दिएको छ।

नेपालमा भने देशभर ब्याट्री पसल, साइन्स ल्याबका सामान बेच्ने पसल, ग्यारेज आदि ठाउँमा एसिड सहजै किन्न पाइन्छ। बजारमा आधादेखि एक लिटर एसिड तीन सय रुपैयाँसम्ममा किन्न पाइन्छ। एसिड अन्य घरायसी प्रयोग हुने भएकाले बोकेर हिड्दैमा शंका गर्ने अवस्था हुँदैन।

पछिल्लाे समयमा भएका एसिड अाक्रमणका घटनाहरु

• २०७१ साल फागुनमा वसन्तपुरको ट्युसन सेन्टरमा संगीता मगर र सीमा बस्नेतलाई जीवन विकद्वारा एसिड आक्रमण

•    २०७० गोंगबु बानियाँटारमा उर्मिला श्रेष्ठलाई अज्ञात व्यक्तिद्वारा आक्रमण

•    २०६९ भदौमा काठमाडौँको कोटेश्वर नरेफाँटमा मीरा केसीलाई अज्ञात व्यक्तिले एसिड हाने

•    २०६८ भदौ मोरङकी २२ वर्षीय विमला साहलाई उनकै श्रीमानद्वारा आक्रमण

• २०७३ माघमा एसिड छ्यापिएकी नवलपरासीकी २७ वर्षीय तुलसा सापकोटाको उपचारको क्रममा मृत्यु भयो। उनलाई परिचित युवा सुनील कोइरालाले एसिड छ्यापेका थिए।


के छ कानुनी व्यवस्था?

२०७१ सालमा संगीता मगर र सीमा बस्नेतमाथि भएको एसिड आक्रमणपछि यो विषय बहसमा आयो र संसदले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ पारित गरी  एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको थियो।

यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३(२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरि अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ। जरिवानाकोा रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ। 

एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ। मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ।


९ अर्बभन्दा बढीको एसिड बिक्री

अस्पताल, कलेज,फलाम उद्योग, कर्कटपाता उद्योग, साबुन उद्योग, सुन व्यापारी, ब्याट्री उद्योगहरूले बढी मात्रामा एसिड चलाउँछन्। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ९ अर्ब बराबरको एसिड उत्पादन गर्ने केमिकल आयात हुन्छ। ४० देखि ५० प्रकारका एसिड नेपालमा भित्रिने गरेको छ। बजारमा एसिड लिटरको दुई सयदेखि तीन सय रुपैयाँसम्म पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell