PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इन्द्रजात्रामा आज चार वर्षीया कुमारीको पहिलो रथयात्रा, गद्दी बैठकबाट राष्ट्रपतिले अवलोकन गर्ने



पहिलोपोस्ट

इन्द्रजात्रामा आज चार वर्षीया कुमारीको पहिलो रथयात्रा, गद्दी बैठकबाट राष्ट्रपतिले अवलोकन गर्ने

काठमाडौँः वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी आज येंया अर्थात् इन्द्रजात्रा मनाइँदैछ। आज जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलाई तल्लो टोलमा रथयात्रा  'क्व:नेया' गराइन्छ।

आज कुमारी घरबाट रथ यात्रा सुरु भई मरु, अट्को नारायण, जैसीदेवल, मजिपात, लगन, ह्युमत, कोहिटी, भिमसेनस्थान हुँदै पुन: कुमारी घर ल्याइ रथयात्रा सम्पन्न हुनेछ।

किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो तर त्यहाँ पारिजात फूल नभएपछि इन्द्रकी आमाले इन्द्रलाई फूल दिन पृथ्वी पठाइन्। एक शक्तिशाली राजकुमारका नाताले इन्द्र पृथ्वी लोकमा मानिसको भेषमा आयो र यहाँका मानिसहरुको स्वीकृति बिना उनीहरूको जग्गामा फूल टिप्यो। आफूहरूको जग्गामा फूल चोरेको भन्दै इन्द्रलाई समाइ बाँधेर नगर परिक्रमा गराए। इन्द्रलाई बाँधेर नगरका विभिन्न क्षेत्रमा धुमाइएको प्रतीक स्वरूप इन्द्रजात्रा भर 'यमबा:द्य' राखिने प्रचलन रहेको छ। त्यहीबाट इन्द्रजात्रा सुरु भएको विश्वास गरिन्छ। त्यसैले यो जात्रालाई नेवार समुदायमा 'येँन्या पुन्ही' पनि भनिन्छ। 'येँ' अर्थात् 'आकाश' र 'न्या' अर्थात् 'चलाउनु'। आकाशको देवता इन्द्रको जात्रा चलाउने भएकाले नै यसलाई येंया (इन्द्रजात्रा) भन्ने मान्यता रहेको संस्कृतिविद् तेजेश्वरबाबु गवंगले बताए।

 

नयाँ कुमारीको पहिलो रथ यात्रा

गत दशैँमा १२ वर्ष पुगेपछि तत्कालीन कुमारी मतिना शाक्यले कुमारीबाट अवकाश पाइन। त्यसपछि विजयरत्न शाक्य र श्रृजना शाक्यकी छोरी तृष्णा शाक्यलार्इ नयाँ कुमारीका रुपमा छानियो। परम्परा अनुसार महाअष्टमीका दिन तलेजु भवानीको मन्दिरमा बज्रयानी र तन्त्र परम्परा अनुसार पूजा गरी नयाँ कुमारीलाई विधिवत स्थापित गरी कुमारी घर भित्राइएको थियो। जीवित देवी कुमारीको रूपमा चार वर्षीया तृष्णाको इन्द्रजात्रामा यो पहिलो रथयात्रा हो।

गद्दी बैठकबाट जात्रा अवलोकन

यसपटक राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्तिहरूले वसन्तपुरस्थित गद्दी बैठकबाट जात्रा अवलोकन गर्नेछन्। भूकम्पका कारण गत दुई वर्ष गद्दी बैठक मर्मत भइरहेकाले त्यहीको डबलीमा कार्यक्रम हुँदै आएको थियो।

आज दिउँसो ४ बजेर ३० मिनेटमा रथ यात्रा सुरु हुने इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ। रथ यात्रासँगै मजिपा: लाखे, किलगलको पुलुंकिसि, सव:भव लगायत विभिन्न नाच पनि वसन्तपुर क्षेत्रमा देखाइनेछ।

आजै रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा सोही बाटो हुँदै 'बहुमत:' र त्यसपछि 'दागीं' ल्याउने परम्परा रहेको छ।

 

माथिल्लो र बीचको टोलमा पनि रथयात्रा

भोलि पनि कुमारी, भैरव र गणेशको रथ यात्रा गरिन्छ। माथिल्लो टोलमा रथ यात्रा गरिने भएकोले यसलाई थ:नेया भनिन्छ। कुमारी घरबाट सुरु हुने रथ यात्रा प्याफल, नरदेवी, टेंगल, बांगेमुढा, असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेर रथ यात्रा सम्पन्न हुन्छ।

अन्तिम दिन (असोज १२ गते शुक्रवार) भने ननिचा:या: अर्थात् बीचको टोलमा रथयात्रा गरिन्छ। कुमारी घर बाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुर पुगेर रथ यात्रा समापन हुन्छ।

त्यसैदिन भक्तपुरको नालाबाट ल्याइ हनुमानढोकामा ठड्याइएको य:सी ढालिन्छ र टेकु दोभानमा लगेर विसर्जन गरेसँगै इन्द्रजात्रा विधिवत रुपमा सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell