PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रोहित र धवनको शतक मद्दतमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारत फाइनलमा, अफगानिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित



पहिलोपोस्ट

रोहित र धवनको शतक मद्दतमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारत फाइनलमा, अफगानिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित

चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई सुपर फोरको खेलमा ९ विकेटले पराजित गर्दै भारत युएईमा भइरहेको एसिया कपको फाइनलमा प्रवेश गरेको छ।

भारतले सुपर फोरमा लगातार दोस्रो जित हात पार्दा कप्तान रोहित शर्मा र शिखर धवनले शतक प्रहार गरे। भारतले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो। पाकिस्तानले दिएको २३८ रनको लक्ष्य भारतले ३९.३ ओभरमा १ विकेट मात्र गुमाएर पुरा गरेको हो। भारतको लागि धवनले ११४ रन बनाए भने रोहित १११ रनमा नटआउट रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २३७ रन बनाएको थियो। पाकिस्तानका लागि सोएब मल्लिकले सर्वाधिक ७८ रन बनाए।

उता लगातार दुई खेल हारेपछि अफगानिस्तान भने फाइनल होडबाट बाहिरिएको छ। बंगलादेशले अफगानिस्तानमाथि ३ रनको रोमानञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४९ रन बनाएको थियो। ८७ रनमा ५ विकेट गुमाएको बंगलादेश इनिङ्स उकास्न इमरुल कायस र महमुदुल्लाहले छैटौँ विकेटका लागि १२८ रनको शतकिय साझेदारी गरेका थिए।

२५० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो। अफगानिस्तानका लागि साहिदीले सर्वाधिक ७१ रन बनाए। अफगानिस्तानलाई अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको थियो। तर बंगलादेशका मुस्ताफिजुर रहेमानले उक्त ओभरमा रसिद खानको विकेट लिनुका साथै ४ रन मात्र दिएपछि अफगानिस्तान ३ रनले पराजित भयो। समूह चरणमा अफगानिस्तानले बंगलादेशलाई पराजित गरेको थियो।

सुपर फोरमा भारत र अफगानिस्तान तथा पाकिस्तान र बंगलादेशबीच खेल हुनेछ। पाकिस्तान र बंगलादेशबीच विजयी हुने टोली फाइनल पुग्नेछ। पाकिस्तान र बंगलादेशले एक-एक खेल जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell