PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


२५० वर्षअघि आजकै दिन यसरी हराएका थिए पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई


पहिलोपोस्ट

२५० वर्षअघि आजकै दिन यसरी हराएका थिए पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई
स्केच : नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात

२५० वर्षअघि कान्तिपुर एउटा छुट्टै राज्य थियो। आज झैँ त्यतिबेला पनि यहाँ इन्द्रजात्राको रमझम थियो। तर रात नबित्दै यो राज्यले आफ्नो छुट्टै अस्तित्व गुमायो र तत्कालीन गोरखा राज्यमा विलय हुन पुग्यो। नेपाल एकीकरणको अभियानमा कान्तिपुर विजय एउटा मुख्य फड्को थियो। तर यसका लागि पृथ्वीनारायण शाहले धेरै तयारी गर्नुपरेको थियो। 


त्यतिबेलाको काठमाडौँ । स्केच : कर्कप्याट्रिकको सन् १८११ मा प्रकाशित पुस्तक।

इन्द्रजात्रा कै दिन किन?

कान्तिपुर विजयका लागि पृथ्वीनारायण शाहले इन्द्रजात्राकै दिन रोज्नुको विशेष कारण थियो। इन्द्रजात्राका समयमा कान्तिपुरका राजा, मन्त्री र रैतीसमेत नाच-तमासामा मस्त हुन्थे। यसअघि दुई पटक उनले यसको फाइदा उठाइसकेका थिए। पहिलो पटक नालदुम आक्रमण गर्दा उनले इन्द्रजात्राकै पूर्णिमाको अवसर छोपेका थिए। त्यसैगरी दोस्रो पटक नुवाकोटमा आक्रमण गर्दा पनि उनले यही दिन छानेका थिए। नुवाकोट हमला गर्दा कान्तिपुरका राजा जयप्रकाश मल्लले त्यहाँको सुरक्षाका लागि खटाएका जयन्त राना उनैलाई भेट्न कान्तिपुर आउँदा इन्द्रजात्रामा अलमलिएका थिए। जयन्त गोर्खाबाटै निश्कासित काजी थिए। गोर्खालीहरुको भेद थाहा पाउने कमाण्डर नुवाकोटमा रहेकाले पृथ्वीनारायण शाहलाई यहाँ विजय पाउन कठिन भइरहेको थियो। तर इन्द्रजात्राको बेला उनी कान्तिपुरमा रहेको मौका छोपी आक्रमण गर्दा त्यहाँको मोर्चा जयन्तका छोरा शंखमणि रानाले सम्हालेका थिए। तर उनी मारिए। पछि जयन्त फर्किए तर उनलाई गोर्खाली सेनाले पराजित गरी पूरै नुवाकोट कब्जामा पारे। 

तेस्रो पटकलाई पनि उनले इन्द्रजात्राको समयलाई नै अठोट गरेका थिए र ज्योतिषी कुलानन्द ढकालले पनि अनुकूल समयमा उत्तम साइत भेट्टाएका थिए। यसैबीच विक्रम संवत् १८२५ को इन्द्रजात्राको समय नजिकिँदै थियो। कान्तिपुरको नाकाबन्दी पनि पूरा जोरतोरका साथ चलेको थियो। काठमाडौँ वरपरका इलाका कब्जा गर्दै यहाँ नून र कपास छिर्न नदिन गोर्खाली सेना तैनाथ थिए।  

ठबहिल कब्जा

अब जयप्रकाश मल्लका आँतको अन्तिम परीक्षा गर्नु र शहरभित्र घुस्ने ठाउँको टुङ्गो लगाउनु बाँकी थियो। यसका निम्ति पृथ्वीनारायण शाहले कान्तिपुरका उत्तरपट्टी शहरको गिर्दापर्खालबाहिर रहेको ठबहिल (हालको ठमेल) लाई रोजे र उनले आफ्ना सैनिक पठाएर त्यहाँ अधिकार गर्न लगाए। यो काठमाडौँमा आक्रमण गर्नु २३ दिन अघिको कुरा थयो। तर, शहरको गिर्दापर्खालसित जोरिएको ठाउँमा गोर्खालीले अधिकार जमाउँदा पनि राजा जयप्रकाश मल्लले आफ्ना सैनिक पठाई  त्यताबाट गोर्खालीलाई हटाउने आँट गर्न सकेनन् र यिनी चुप लागेर बसिरहे। 

तर ठवहिलतिरबाट घुसेर कान्तिपुरको राजदरबारमा अधिकार जमाउन सैनिक दृष्टिले कठिन देखियो। यसो हुँदा श्री ५ पृथ्वीनारायण शाहले त्यहाँबाट आफ्ना सैनिकहरू फिर्ता बोलाई शहरका पश्चिमभागतिर दुइ ठाना बार्न श्रीकृष्ण पाठकलाई खटाए।  


जनबहालमा रहेको कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लको स्केच

रोकिएन इन्द्रजात्रा

अब प्रतिवर्ष मनाइने इन्द्रजात्राको पर्व नजिकै आइपुग्यो । पृथ्वीनारायण शाहले यस अवसरबाट लाभ उठाउने मनमनै सङ्कल्प मात्र होइन यसको योजना र योजनाअनुसारको तैयारी पनि पूरा गरिसकेका थिए। तर, ठवहिलबाट उनी हटेकाले कान्तिपुर शहरमा इन्द्रजात्राको पर्व रोकेर अथवा सामान्य रूपमा मात्र मनाएर शहरको रक्षाका लागि सतर्क रहनुपर्ने अत्यावश्यक कुरालाई जयप्रकाश मल्लले महसूस गरेनन्। उनले शहरका गोपुरहरू बन्द गरेर त्यहाँ कडा पहरासम्म राखी यो उत्सव साबिकबमोजिम मनाउने निश्चय गरे।  

तीन बिन्दूबाट आक्रमण

यता पृथ्वीनारायण शाहले आक्रमण रणनीतिको अन्तिम टुङ्गो लगाइसकेका थिए। गोर्खाली फौजको मुख्य हेडक्वार्टर दहचोकमा थियो भने ट्याक्टिकल हेडक्वार्टर कीर्तिपुरमा थियो। अन्तिम भेला हुने बिन्दू (एफआरभी) विष्णुमती नदी छेउ कंकेश्वरी र महांकालस्थानमा थियो। 

पृथ्वीनारायण शाहले आफ्ना दुवै छोरालाई नुवाकोटमा राखी अरू भाइ र वंशराज पाँडे, तुलाराम पाँडे, केहरसिंह बस्न्यात आदि भारादार र एक हजारजति सुशिक्षित गोर्खाली सैनिकलाई इन्द्रजात्राका आरम्भकै दिन कीर्तिपुरमा जम्मा गरेर तीन टोलीमा बाँडी तीनतिरबाट आक्रमण गर्ने योजना ठीक गरिसकेका थिए। ज्योतिषी कुलानन्द ढकालले पनि २६ सेप्टेम्बरका रातका तीन बजे शहरभित्र पस्ने साइत तोकिदिएका थिए।

तीन ठाउँबाट आक्रमणका लागि पहिलो बिन्दू भीमसेनस्थानबाट प्रवेश गर्ने फौजमा मुख्य फौज २ सय जना थिए। रिजर्भमा सय जना थिए। उनीहरुको मुख्य काम हनुमानढोका दरबारको दक्षिण-पश्चिम परिसर र वसन्तपुर इलाका कब्जा गर्नु थियो।

दोस्रो बिन्दू थियो टुँडिखेल। यसमा मुख्य फौज ३ सय जना थिए भने रिजर्भमा १ सय जना। यो समूहको काम महांकाल-संकटा हुँदै भण्डारखाल इलाका (हालको भूगोल पार्क र विशाल बजार भएको ठाउँ) लाई कब्जा गर्नु थियो। 

यी दुवै बिन्दूबाट प्रवेश गर्ने फौज सहायक थिए। मुख्य फौज नरदेवीतिरबाट प्रवेश गर्दै थियो। यसको नेतृत्व पृथ्वीनारायण शाह स्वयंले गरेका थिए। यहाँ मुख्य फौज ३ सय जना थियो भने रिजर्भमा पनि अरुतिरको भन्दा दोब्बर २ सय जना राखिएको थियो। यहाँको फौजको मुख्य जिम्मेवारी नरदेवी हुँदै हालको ग्यारिजन गण रहेको स्थानबाट हनुमानढोका राजदरबारलाई फ्रन्टल अट्याक गरी दरबार कब्जा गर्नु थियो। 

यस सालको इन्दजात्राको आरम्भ २२ सेप्टेम्बरबाट सुरु भएर ७ दिन रहन्थ्यो। कुलानन्द ज्योतिषीले आक्रमण गर्ने साइत २६ सेप्टेम्बरका रातको आरम्भकाल बताएका थिए। यस रातका आरम्भदेखि नै राजा जयप्रकाश मल्ल कुमारीका रथमा बसेर पहिले गणेशको त्यसपछि भैरवको रथ अघि लगाएर राजदरबारबाट अलिकति पूर्वतिर लागी त्यसपछि दक्षिणतिर हुँदै झोछेँटोलको मूलसडक पक्री यंगाल, लगनटोल, ब्रह्मटोल, ध्याचलखुटोल हुँदै कोहिटीमा पुगेर त्यहाँबाट जैसीदेवललाई दाहिने पारी मजिपाट, चिकॅमुगल र अटकोनारायणस्थान हुँदै गणेशस्थान (काठमाडौं) सम्म आई उज्यालो हुँदानहुँदै कुमारीलाई उनका निवासस्थानमा भित्र्याएर उज्यालो भएपछि आफ्ना राजदरबारमा भित्रिने यिनको नियम थियो।

आज पनि इन्द्रजात्राको दिन यही रुटमा कुमारी, गणेश र भैरवको रथयात्रा चलाइन्छ। यो नियम जयप्रकाश मल्लले नै सन् १७५३ देखि चलाएका थिए। अचेलको गद्दी बैठक बनेको ठाउँमा भूपालेन्द्र मल्लका समयमा नयाँ राजदरबार बन्यो। यस दरबारका अगाडि पश्चिमपट्टीको चौतारामा राजसभा बस्ने नियम थियो। इन्द्रजात्राका साताभर राजसिंहासन त्यसै चौतारामा सजिएको बैठकमा रहन्थ्यो। 

यात्रामा कुमारीका रथमा राजा जयप्रकाश मल्ल रहने गरेकाले राजाका चाकडीका निमित्त पनि रथका मार्गमा परेका बडादमीका घरबाट गहनाले झकिझकाउ भएका पत्नीहरूलाई लिएर उनीहरू पूजाको सामान लिई खडा रहने हुनाले बराबर रथ थाम्दै जानुपर्ने हुँदा रातभरको समय लाग्थ्यो। 

नाकाबन्दीले खलबल कान्तिपुरमा गोर्खाली धक्का

सातै दिन कान्तिपुरभित्र यो चाड मनाइन्थ्यो। तर गोर्खालीले आर्थिक नाकाबन्दी शुरू गरेपछि चाड र रथयात्रा पनि फीका भैरहेको थियो। यो साल शहरका गिर्दापर्खालसम्म नै गोर्खालीको घेरा परेको हुनाले यो चाड स्थगित राख्ने कि  चालु राख्ने भन्ने कान्तिपुरमा खलबल परिरहेको समयमा शत्रुलाई हटाउनमा कुमारीको उपर गरिएको भक्तिभावनाले पनि सहायता देला भन्ने विचार जयस्थिति मल्लले राखेर चालू राख्‍ने आज्ञा दिएका थिए। शहरभित्र उत्साह र उमङ्ग, नाच-तमासामा केही थिएन । गोर्खालीका भयले गोपुरहरू बन्द गरी त्यहाँ नगरकोटी सैनिकहरू राखिएका थिए। तर, खान्गी र खानाखर्च पनि बहुत कम पाइन लागेको हुनाले यिनीहरू उदास थिए।
 
कुमाउँ गढवालबाट भाडामा ल्याइएका नगरकोटी फौजहरुमा राष्ट्रप्रेमको भावना थिएन। जयप्रकाश मल्लले बेला बेलामा तलब पनि दिन नसक्दा राजा प्रतिकै वफादारितामा कमी हुँदै थियो। 



कान्तिपुरमा गोर्खाली सैनिकको आक्रमण हुँदै गरेको यो पेन्टिङ हरिप्रसाद शर्माले बनाएका हुन् र यसलाई हामीले lalitimpressions.com.np बाट साभार गरेका हौँ।

यसरी कब्जा जमाए गोर्खाली फौजले

साइतको समय आयो। शहरका तीन गोपुर फोरेर तीनैतिरबाट गोर्खाली सैनिक कान्तिपुर शहरभित्र घुसे। पश्चिमपट्टी नरदेवीटोलबाट घुस्ने दलको नेतृत्व स्वयम् पृथ्वीनारायण शाहले गरेका थिए। एक दल भीमसेनथानपट्टीबाट र अर्को टोली शहरका पूर्वभाग टुँडिखेलपट्टीबाट घुस्यो। यिनमा पृथ्वीनारायण शाहका भाइहरू पनि बाँडिएर रहेका थिए। जुनेली रात हुनाले चिरागको बन्दोबस्त गर्नुपरेको थिएन। नाच-तमासा बन्द रहेको हुनाले सबैजसो नागरिकहरू कोठाकोठामा सुतिरहेका थिए। गोपुरका रक्षक भएर रहेका नगरकोटीहरू पनि गोर्खालीका बन्चराले गोपुर फोर्नेबित्तिकै कुनाकाप्चातिर लागे र जयप्रकाश मल्ललाई यो समाचार दिन दौडे। शहरका तीन गोपुर फोरेर भित्र घुसेका सैनिकहरूले तीनैतिरबाट राजदरबारलाई घेरा दिन लाग्दा त्यहाँका रक्षक नगरकोटी सैनिकहरू गोर्खालीमाथि जाइलागे। लडाइँमा बीस-पच्चीस जना दोहरै परे र केही नगरकोटी घाइते पनि भए। बाँकी रहेका नगरकोटीहरू गोर्खाली सेनाका अगाडि केही चलेन। उनीहरु लडाइँको मैदान छोडेर भागे। कान्तिपुरको राजदरबारमा गोर्खालीले कब्जा जमाए। शहरको दक्षिणपट्टीको कोहिटीको गोपुर जयप्रकाश मल्ललाई भाग्न भनेर पृथ्वीनारायण शाहले नघेरीकन खुला छाडिदिएका थिए। 


पृथ्वीनारायण शाहकालीन गोर्खाली सैनिकहरुको प्रतीकको उपस्थिति काठमाडौँका जात्राहरुमा अझै हुने गर्छ।  

रथबाट उत्रेर भागे कान्तिपुरका राजा

राजदरबारमा गोर्खालीको चोट खाई भागेका नगरकोटीहरूले त्यहाँ गोर्खालीको अधिकार भएको समाचार सुनाउँदा राजा जयप्रकाश मल्ल कुमारीको रथमै थिए। आफ्नो पराजय निश्चित देखेपछि उनी रथबाट उत्रेर कोहिटीका गोपुरबाट आफ्ना अङ्गरक्षक तीन सय जनाजति नगरकोटीका साथ पचलीतिरको बाटो गरी काठेसाँगुबाट वाग्मती तरी ललितपुरमा शरण लिन गए। 

यता राजदरबारमा गोर्खालीको अधिकार भएपछि तिथि (पूर्णिमा) स्थिरवार (रवि), स्थिरनक्षत्र (उत्तरभाद्र) र स्थिरलग्न (सिंह) पारी राजदरबारका अगाडिका चौतारामा रहेको कान्तिपुरका राजसिंहासनमा श्री ५ पृथ्वीनारायण शाह विराजमान भए। 

कुमारीको रथयात्रा सुचारु

कुमारीको रथ कोहिटीमा अलपत्र थियो। जयप्रकाश मल्ल भागिसकेका थिए। उनले आफ्ना भाइभारादार र आवश्यक गोर्खाली सैनिकसमेत पठाई कोहिटीबाट कुमारीको रथको यात्रा चलाउन लगाए। त्यसबेलादेखि आजसम्म पनि रथयात्रा अगाडि गुर्जुको पल्टनका रुपमा पृथ्वीनारायण शाहकालीन सैनिकहरु हिँड्ने गर्छन्। 


कुमारीले पृथ्वीनारायण शाहलाई टीका लगाइदिएको यो पेन्टिङ हरिप्रसाद शर्माले बनाएका हुन् र यसलाई हामीले lalitimpressions.com.np बाट साभार गरेका हौँ।

रथ वसन्तपुरस्थित कुमारी घरअगाडि आएपछि पृथ्वीनारायण शाहले विधिपूर्वक कुमारीलाई भवनमा प्रवेश गराए। कुमारी भित्रिएपछि उनका पाउमा ढोग दिएर राजदरबारमा जाने नियम जयप्रकाश मल्लले चलाएका थिए। पृथ्वीनारायण शाहले पनि कुमारीको दर्शन गरेर यो चलन पूरा गरे। यसअघिसम्म मल्ल राजाहरुलाई टीका लगाएर आशीर्वाद दिँदै आएकी जीवित देवी कुमारीले त्यो दिन गोर्खाली राजालाई टीका लगाई आशीर्वाद दिए। यसलाई सांस्कृतिक रुपबाट पनि पृथ्वीनारायण शाहले मान्यता पाएको मानियो। शाहवंशका सबै राजाले यो चलन पूरा गर्दै आएका थिए। गणतन्त्र घोषणाका केही वर्षसम्म पनि गद्दीच्युत राजा ज्ञानेन्द्रले यो परम्परा कायम राखेका थिए। तर पछि उनी त्यहाँ जान छाडे। अचेल राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले यो परम्परा धान्दै आएका छन्।  

पृथ्वीनारायण शाहले जयप्रकाश मल्ल बसेको राजदरबार अफाप सम्झेर उनले कुमारीका निवासभवनमा जोडेर पूर्वपट्टि बनेको कुमारीको विशाल बैठक फराकिलो र जगेडा रहेको हुनाले त्यसै बैठकलाई आफ्नो अस्थायी राजभवन बनाए।
 

एम्बुसमा परी तुलारामको निधन

जयप्रकाश मल्लका सैनिकहरुले जाँदाजाँदै देवलहरुको जमिनमा बारुदको एम्बुस बिछ्याएर गएका थिए। पृथ्वीनारायण शाह गद्दीमा बसेका समयमा तलेजुका मन्दिरमा रहेर बढाइँ गर्न लाग्दा काजी तुलाराम पाँडे बारुद सल्किएर गभ्मीर घाइते भए। पशुपतिका आर्यघाटमा उनको निधन भयो। कान्तिपुर आक्रमणका क्रममा गोर्खाली फौजले भोगेको यो सबैभन्दा ठूलो क्षति थियो। त्यही दिनदेखि कान्तिपुर भन्ने शहरको नामसँगै गोर्खालीहरूले भन्दै आएको 'काठमाडौँ' नाम पनि चलाउन थालियो। 
 
बिहान उठ्दा कान्तिपुरका नागरिकहरू पृथ्वीनारायण शाहका प्रजा भइसकेका थिए। उनले गद्दीमा बसेपछि ताका घर-खेत, बिर्ता, गुठी सबै थमौती भएको छ भनेर झ्याली पिटाएका थिए। त्यसैले यहाँका बासिन्दाहरुले पनि विद्रोह गरेनन्। कान्तिपुरको स्वतन्त्र राज्यको हैसियत त्यतिबेलादेखि गुम्यो। गणतन्त्र घोषणा नहुन्जेल शाहवंश नेपालको राजगद्दीमा रहे।

(स्रोत :  बाबुराम आचार्यको 'नेपालको एकीकरणको शिलान्यास', प्राचीन नेपाल र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातको सैनिक रणनीति विश्लेषण) 
 



२५० वर्षअघि आजकै दिन यसरी हराएका थिए पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट