PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

राफेल डिल घोटाला : मोदीलाई अप्ठेरो पार्ने प्रकरणमा यस्तो छ नेपाल कनेक्सन



विधुर ढकाल

राफेल डिल घोटाला : मोदीलाई अप्ठेरो पार्ने प्रकरणमा यस्तो छ नेपाल कनेक्सन

काठमाडौं: फ्रान्ससँगको राफेल डिलको विषयलाई लिएर भारतमा नरेन्द्र मोदी सरकारमाथि चौतर्फी प्रहार भएको छ। मोदी सरकारमाथि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले संसदमै प्रधानमन्त्री मोदी र रक्षामन्त्री निर्मला सीतारमणको चर्को विरोध गरे। फ्रान्ससँग भएको राफेल डिलमा मोदी सरकारले सयौँ करोडको घोटाला गरेको आरोप मोदी सरकारमाथि लागेको छ। 

के हो राफेल सम्झौता?

सन् २०१६ मा भारतको गणतन्त्र दिवसको अवसरमा फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्स्वा होलाण्डेले प्रमुख अतिथिको रुपमा भारतको राजकीय भ्रमण गरे। सोही क्रममा भारत र फ्रान्सबीच राफेल एयरक्राफ्ट खरिद सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। 

त्यसको अघिल्लो वर्ष नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको राजकीय भ्रमणको क्रममा फ्रान्सबाट ३६ वटा राफेल जेट खरिद गर्ने घोषणा गरेका थिए। त्यसको केही समयपछि भारतका तत्कालीन रक्षामन्त्री मनोहर  पारिकरले अघिल्लो मनमोहन सिंह सरकारले गरेको १२६ फाइटर विमान खरिद गर्ने सम्बन्धी सम्झौता खारेज गरेको घोषणा गरेका थिए। उनले सो सम्झौता मृत भएको दाबी गर्दै सम्झौता खारेजीको घोषणा गरेका थिए। युपीए सरकारले २००८ मा सो सम्झौतालाई अगाडि बढाएको थियो। 

त्यसपछि फ्रान्ससँग नयाँ सम्झौताको तयारी भयो। ३६ राफेल फाइटर जेटको खरिद सम्झौता ५९ हजार करोड रुपैयाँको हो। यो सम्झौता हाल भारतमा विवादित भएको छ। १२६ राफेल खरिद सम्बन्धी सम्झौतालाई रद्द गरी सोही कम्पनीबाट सोही मोडलको ३६ जेट खरिद गर्ने सम्झौता भएपछि यसको विरोध सुरु भएको हो। 

विपक्षीले मोदी सरकारले पुरानो सम्झौता भन्दा बढी मूल्यमा सोही विमान खरिदको सम्झौता गरेको भन्दै विरोध गरिरहेका छन्। विपक्षीले भारतीय निजी डिफेन्स कम्पनीको स्वार्थपूर्ति गर्न नयाँ सम्झौता भएको आरोप लगाउँदै आएको छ। पुरानो सम्झौतामा १२६ राफेल विमान मध्ये १०८ विमान भारतको हिन्दुस्तान एयरोनोटिक्स लिमिटेडमा एसेम्बल हुने बताइएको थियो। 

राफेल मामलमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले तीन वटा प्रश्न उठाएका छन्। 

पहिलो प्रश्नः फ्रान्ससँग भएको सम्झौतमा मूल्य फरक परेको छ। के भारतले बढी पैसा तिरेको हो?
 
दोस्रो प्रश्नः के फ्रान्सको कम्पनीसँग जोइन्ट भेन्चर गरेको गरेको भारतीय कम्पनीले कहिल्यै जेट मेनुफेक्चर गरेको छ?

तेस्रो प्रश्नः के यो सम्झौतामा सरकारले सरकारी प्रक्रिया पूरा गरेको छ? किन तत्कालिन रक्षामन्त्री गोवामा माछा मार्दै गरेको भेटिए। र क्याविनेटको सुरक्षा समितिले यो मेगा डिल अनुमोदन गर्‍यो?

राफेलमा अनिल अम्बानीको प्रवेशलाई लिएर काँग्रेसले एक साता अघिमात्र भारतीय महालेखा परीक्षकलाई ज्ञापनपत्र बुझाउँदै सम्झौताको अनुसन्धान गर्न माग गरेको छ। 

काँग्रेसले सम्झौतामा भ्रष्टाचार भएको, सार्वजनिक कोषको दुरुपयोग भएको, राष्ट्रिय सुरक्षा खतरामा परेको आरोप लगाएको छ। उसले रिलायन्सको प्रवेशलाई पनि भ्रष्टाचारको शंकामा तानेको छ। 

काँग्रेसले बुझाएको ज्ञापनपत्रमा डासल्ट र अनिल अम्बानीबीच भएको अफसेट एग्रिमन्टमा डासल्टले राफेल खरिदबाट आएको पचास प्रतिशत भारतको स्थानीय उत्पादनमा लगानी गर्ने उल्लेख भएको भन्दै यसकोसमेत विरोध गरेको छ। 

राफेलमा अम्बानीको प्रवेश

सन् २००८ मा अगाडि बढेको १२६ राफेल विमान खरिद सम्बन्धी सम्झौतामा  १०८ विमान भारतको बेङलोरमा रहेको हिन्दुस्तान एयरोनोटिक्स लिमिटेडमा एसम्बल हुने बताइएको थियो। यो सम्झौता खारेज भएसँगै भएको नयाँ सम्झौतामा भारतको रिलायन्स डिफेन्स मेनुफेक्चरले प्रवेश पाएको छ। यो कम्पनी भारतको रिलायन्स समूहको कम्पनी हो जसका मालिक हुन अनिल अम्बानी। 

सन् २०१७ मा फ्रान्सका रक्षामन्त्रीको उपस्थितीमा यो कम्पनीको नागपुरमा डिफेन्स म्यानुफेक्चरीङ कम्पनीको शिलान्यास भएको थियो। सो समारोहमा महाराष्ट्रका मुख्यमन्त्री, केन्द्रीय सडक तथा राजमार्गमन्त्री नितिन गडकरी र फ्रान्सका राजदुतको समेत उपस्थिति थियो। 

फ्रान्सेली राष्ट्रपति सन् २०१६ मा भारत आउनु दुई दिन अगाडि अम्बानीको रिलायन्स इन्टरटेन्मेन्ट राष्ट्रपति होलाण्डेका साझेदार तथा नायिका जुलिये ग्याएटको फिल्मका साझेदार बने। सोही वर्ष अम्बानीले रिलायन्स डिफेन्स कम्पनीको घोषण गरे। पछि यो नै राफेल सम्झौताको एउटा साझेदारको रुपमा अगाडि आयो। अम्बानीको रिलायन्स इन्टरटेनमेन्टले फ्रान्समा निर्माण भइ सन् २०१७ को डिसेम्बरमा बनेको ‘टोउट ला–हाउट’ (टु दी टप) को निर्माणमा सहयोग गरेको थियो। 

रिलायन्स डिफेन्सको शिलान्यास भएको आठ हप्ता पछि यो सहयोगको घोषणा भएको थियो। ९८ मिनेट लामो यो फिल्म पहिलोपटक स्पेनको सान सेवास्टियन इन्टरनेशनल फिल्म फेस्टिवलमा देखाइएको थियो। पछि युएई, ताइवान, लेवनान, वेल्जियम, अस्टोनिया र लाटिभासहितका आठ देशमा वितरण भयो। तर हालसम्म पनि भारतमा भने यसको प्रदर्शन भएको छैन। 

यो सम्झौताको घोषणा र सम्झौता हुँदा यस चलचित्रकी नायिका फ्रान्सेली राष्ट्रपति निवासमा बसेकी थिइन्। २०१२ देखि १७ सम्म राष्ट्रपछि भएका होलाण्डे र उनको सम्बन्ध २०१४ मा सार्वजनिक भएको थियो। 

५९ हजार करोडको राफेल सम्झौता भएको १० दिनपछि रिलायन्स डिफेन्स फ्रान्सको डासल्टबीच जोइन्ट सम्झौताको घोषणा भयो। 
दी वायरले राफेलमा अनिल अम्वानीको प्रवेश सम्बन्धी रिपोर्टसमेत प्रकाशित भएको छ। फिल्मकी नायिका जुलियाले फिल्म निर्माण अगाडि भनेकी थिइन्, ‘एक दिन भारतीय लगानी आउँछ र फिल्म निर्माण हुन्छ।’ 

१० मिलियन युरो लगानी रहेको फिल्ममा सुरुमा ३ मिलियन रिलायन्सको लगानी रहने बताइएपनि पछि घटाएर १.५ मिलियान युरोमा झारिएको थियो। 

२०१६ को जनवरी २४ मा अनिल अम्बानीले वक्तव्य जारी गर्दै जुलियाको रग इन्टरनेसनसँग साझेदारी भएको घोषणा गरेका थिए। 

राफेलको नेपाल कनेक्सन

राफेलमा रिलायन्सको प्रवेशसँगै नेपाल कनेक्सन पनि जोडिएको छ। रिलायन्स इन्टरटेन्मेन्टकोसमेत लगानी भएको फ्रान्सेली फिल्म सगरमाथासँग जोडिएको छ। 

फिल्म ‘टोउट ला–हाउट’ (टु दी टप)ले सगरमाथा आरोहणका क्रममा मृत्यु भएका मार्को सिफ्रेदीको कथालाई भन्छ। फिल्ममा मार्कोको भूमिकामा केभ एडम्स देखिएका छन्। मार्कोले पहिलो पटक सन् २००१ मा स्नोबोर्डमार्फत सगरमाथाको सफल आरोहण गरेका थिए। 

उनले पहिलो पटक उत्तरी मोहोडाबाट सगरमाथाको आरोहण गरेका थिए। पछि सन् २००२ मा उनी सगरमाथाको आरोहणपछि फर्किने क्रममा उनको मृत्यु भयो। सेप्टेम्वरमा  सगरमाथाबाट स्नोबोर्डमा ओर्लिने क्रममा वेपत्ता भए। 

उनी स्नोबोर्डबाट सगरमाथा चढ्ने रुट पत्ता लगाउने अभियानमा थिए। पहिलो पटक सन् २००१ मा गए पनि त्यस रुटबाट स्नोबोर्ड चलाउन पर्याप्त हिउँ नपाए पछि दोस्रो पटक रुट परिवर्तन गरेर गएका थिए। दोस्रो पटक उनी नोर्टन कोलियरबाट आरोहण गरेका थिए। 

उनको यस आरोहणमा खोज पूरा त भयो तर उनी फेरि आफ्नो खोजलाई प्रयोग गर्न भने पाएनन्। उनको शरीर फेला परेन।

सन् २००२ को अगस्टमा काठमाडौँबाट उनी तीन शेर्पा सहयोगहरु फुर्वा, पानुरु, दा तेन्जिङसँगै सगरमाथा आधार शिविर तिर हानिएका थिए। ८ सेप्टेम्बरमा १२ घण्टाको यात्रापछि उनीहरु दिउसो २:१० बजे सगरमाथा पुगेका थिए। 

त्यतिवेला मार्को थकित भए। केही समयको आराम पछि उनी ओरालो लागे। शेर्पाहरुले उनलाई तल नझर्न चेतावनी दिए। तर उनी मानेनन्। हेर्दाहेर्दै उनी हिमाल तल विलिन भए। 

अहिले राफेल प्रकरणमा भारतमा विवादित भएसँगै मार्कोको पनि चर्चा सुरु भएको छ। त्यस्तै यससँगै नेपाल पनि जोडिएर आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell