PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

थारुको महाधिवेशनको प्रमुख अतिथिमा कांग्रेस सभापति देउवा अस्विकृत, कार्यक्रमस्थलमै देउवाविरुद्ध नाराबाजी



बीपी साह

थारुको महाधिवेशनको प्रमुख अतिथिमा कांग्रेस सभापति देउवा अस्विकृत, कार्यक्रमस्थलमै देउवाविरुद्ध नाराबाजी

काठमाडौं : थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ।
तीन दिनसम्म चल्ने सभाको महाधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तोकिएको थियो। तर उद्घाटन सत्र सुरु हुनुअघि देउवाविरुद्ध नारावाजी भएपनि देउवालाई कार्यक्रममै बोलाइएन।

दिउँसो दुई बजे आउने भनेका देउवालाई अन्तिम समयमा आयोजकले रोके। खास गरी कैलाली र कञ्चनपुरका थारुहरु देउवाविरुद्ध नारावाजी गर्दै विरोध जनाएका थिए। देउवासहितका नेताहरु अखण्ड सुदुर पश्चिम आन्दोलनाई सहयोग गरेको र थारुमाथि दमन गरेको भन्दै देउवाको विरोध भएको हो।

उद्घाटन सत्रमा देउवाको विरोध भएपछि थारु कल्याण महासंघ, भारतका अध्यक्ष दिपनारायण प्रसादले उद्घाटन गरेपछि कार्यक्रम सुरु भएको छ।
 
उद्घाटन सत्र राष्ट्रिय सभा गृहमा भएपनि बन्द सत्रलगायतका कार्यक्रमहरु गौशलास्थित शिवदर्शन पार्टी प्यालेसमा हुनेछ।

यस्ता छन् उम्मेदवार

थाकसको अध्यक्ष पदका लागि तीन जना मैदानमा उत्रिएका छन्। थाकसका वर्तमान अध्यक्ष धनीराम चौधरी, राजकुमार लेखी र विश्राम महतोले अध्यक्ष पदका लागि दाबी गर्दै आएका छन्।

धनीराम चौधरी चार वर्षदेखि थाकसका अध्यक्ष छन्। टीकापुर घटनामा उनी मुछिएपछि अर्धमूमिगत अवस्थामा रहँदै आएका छन्। 

नेपाली कांग्रेस निकट धनीरामलाई कांग्रेस निकट थारुहरुको मत आउने बढी सम्भावना रहेको छ। तर थाकसभित्र कांग्रेसकै मत भने निर्णायक छैन। उद्घाटन सत्रमा कांग्रेस सभापति देउवाको विरोध भएपछि कांग्रेस निकट थारुहरु अल्पमतमा परेको देखिन्छ।

चार वर्षसम्म पदमा छँदासमेत खासै काम गर्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ। उनको आफ्नै समूहमा पनि विवाद छ। अहिले धनीराम भूमिगत भएपनि उनको समूहले मत माग्दैछ।

आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवं राष्ट्रिय जनता पार्टी (राजपा)का सचिव राजकुमार लेखी अध्यक्षका प्रबल दाबेदारका रुपमा देखिएका छन्। 
लेखीलाई थरुहट आन्दोलनको नेतृत्वकर्ताका रुपमा पनि लिइएको छ भने उनलाई कम्युनिष्ट निकट थारुहरुले मतदान गर्ने सम्भावना रहेको छ। यसैगरी मधेशवादी दलमा रहेका थारुहरुले पनि लेखीलाई नै उम्मेदावर बनाएको छ।

लामो समयदेखि कम्युनिष्टमा लागेको लेखी अहिले राजपामा छन्। त्यसकारण थरुहट आन्दोलनका अगुवाहरुले पनि लेखीलाई समर्थन गरेको देखिन्छ। मतदान भए लेखी विजयी हुने सम्भावना बढी रहेको नेताहरु बताउँछन्। 

थाकसको अध्यक्षका अर्को उम्मेदवार छन् विश्राम महतो। उनी खासै चर्चामा छैनन्। सहमतिमा निर्णय भए आफू अध्यक्ष बन्ने दाउमा महतो रहेका छन्।
अध्यक्षका लागि मूख्य रुपमा लेखी र धनीरामबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell