PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतको ‘अह‌ंकारी’ अभिव्यक्तिबाट इमरान खान दुःखी : विश्वमा आज



भारतको ‘अह‌ंकारी’ अभिव्यक्तिबाट इमरान खान दुःखी : विश्वमा आज

‘अह‌ंकारी’ भारत ?


नयाँ दिल्लीले भारत-पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई लिएर दुःख व्यक्त गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो ट्वीटरमा एक सन्देश लेख्दै भनेका छन्, 'भारत-पाकिस्तानबीचको शान्ति वार्तालाई पुनः आरम्भ गर्ने मेरो आह्वानप्रति भारतको अहंकारी तथा नकारात्मक प्रतिक्रियाबाट म दुःखी बनेको छु। साना मान्छेले ठूला कार्यालयमाथि नियन्त्रण राख्नुपर्ने मेरो जीवनको अनुभवले र दृष्टिले ठूलो तस्वीर नदेखेको हुनसक्छ ।'

शुक्रबार दुई विशिष्ट प्रहरी अधिकारी र एक जना प्रहरी जवानलाई जम्मु काश्मिरमा अपहरणपछि क्रुरतापूर्ण हत्या गरेको केही घण्टापछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीबीच हुने भनी प्रस्तावित वार्ताबाट भारत पछि हटेको थियो।

यस पहिले यही सेप्टेम्बरको १८ गते सीमा सुरक्षा बलका प्रहरी जवान नरेन्द्र सिंहको पनि जम्मु नजिकैको भारत -पाकिस्तानको अन्तराष्ट्रिय सीमाक्षेत्रमा बन्दूक बोकिरहेको अवस्थामा हत्या भएको थियो।

शुक्रबार भारतीय विदेश मन्त्रालयले आफ्नो निर्णय घोषणा गर्दै पाकिस्तानी प्रधानमन्त्रीको वास्तविक अनुहारलाई सिमानामा भएका हत्याले छर्लङ्ग देखाएको बताएको थियो।

भारत तथा पाकिस्तानका विदेशमन्त्रीहरूबीच संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाका अबसरमा भेट हुने तय कार्यक्रम पनि अनिश्चित बनेको छ।


सैन्य परेडमा आक्रमण

इरानको दक्षिणपश्चिमी क्षेत्रमा रहेको अहभाज शहरमा भैरहेको सैन्य परेडमा बन्दुकधारीहरुले गोली चलाउँदा २५  जनाको मृत्यु भएको छ। दश मिनेट सम्म भएको गोलीबारीमा बालबालिका सहित धेरै जना घाइते भएको जनाइएको छ। अधिकारीहरुले यस घटनाको पछि इस्लामिक आतंकवादी संस्थाहरु सुन्नी मिलिटेन्टस् वा अरब न्यास्नालिस्टहरुको हात रहेको अनुमान गरिएको छ। इरानी विदेश मन्त्री महोमद जाभेद जारिफले  भने विदेशी शासनको सहयोग रहेको आतंकवादी यो घटना पछि रहेको बताएका छन्।


अफगानिस्तानमा विस्फोट

अफगानिस्तानको उत्तरी प्रान्त फार्यावमा भएको विस्फोटनमा परी आठ बालबालिकाको मृत्यु भएको छ। घटनामा अन्य आठ जना पनि घाइते भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा तालिबान लडाकू समूहको संलग्नता रहेको प्रहरीका प्रान्तीय प्रवक्ता अब्दुल कारिम उराशले जानकारी दिएका छन्।

मेक्सिकोमा पत्रकारको हत्या

बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा एक पत्रकारको हत्या गरेका छन्। यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरुको संख्या मेक्सिकोमा नौ पुगेको छ ।मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको उनको पत्रिकाले शुक्रबार जनाएको छ । एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो ।    

 चलचित्र निर्मातालार्इ आममाफी

अष्ट्रेलियाली चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली राजाले आममाफी दिएका छन्। क्याम्वोडियाका शक्तिशाली प्रधानमन्त्री हुन सेनले उनलार्इ आममाफी दिन राजा नोरोडोम सिहामोनीलार्इ आग्रह गरेपश्चात रिक्सटन रिहा हुने भएका हुन्। उनलार्इ आजै रिहा गरी अष्ट्रेलिया पठाइने जनाइएको छ। गत अगष्टमा क्याम्बोडियाली अदालतले जासुसी गरेको आरोपमा उनलार्इ छ वर्षको जेल सजाय सुनाएको थियो।

फोटो: BRECORDER/AFP/AP/BBC/CNN/REUTERS/RSS



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell