PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेलिरहेको रसियाको तर्क : विश्वमा आज



पहिलोपोस्ट

प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेलिरहेको रसियाको तर्क : विश्वमा आज

रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ। रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति जारी गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिएका छन्। 

मन्त्री सेर्गेइले रुस-अमेरिका सम्बन्धमा तनाब निर्माण हुँदा विश्वमा स्थायित्व आउँछ भन्नु मुर्खता मात्र हो भन्दै भने 'आगोसँग खेल्न खोज्नु मूर्खता हो, यसको परिणाम खतरनाक हुन सक्दछ ।' 

बिहीबार अमेरिकाले रुसदेखि चीनसम्मका देशमाथि प्रतिबन्धहरु लगाएको थियो। अमेरिकाले रुसी लडाकू बिमान र क्षेप्यास्त्र खरिद गर्ने एउटा चिनियाँ सैनिक संस्था बिरुद्ध दण्ड सहित सजाय गर्ने घोषणा गरेको थियो। 

अमेरिकी विदेश मन्त्रालयले समेत ३३ वटा रुसी जासूसी तथा सैनिक-सम्बद्ध पक्षहरुलाई नाकाबन्दीको कालोसूचीमा राखेको घोषणा गरेको थियो। यी सबै यसअघि नै अमेरिकी प्रतिबन्धको सूचीमा रहेका रुसी व्यक्ति र कम्पनी थिए। 
प्रतिबन्ध घोषणा गरिएका ३३ मध्ये २८ वटा बिरुद्ध २०१६ को अमेरिकी चुनावको धाँधलीको अनुसन्धान गरिरहेको रोबर्ट मूलरको छानबिन समितिले आरोपित गरेका हुन्। 

उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले हालसम्म अमेरिकाले जतिसुकै प्रतिबन्धहरु घोषणा गरे पनि रुसले आफ्नो नीतिमा परिवर्तन नगरेको स्पष्ट पर्दै भने 'अमेरिकी कालोसूची पटकपटक लागिरहेकै छ। यो हास्यास्पद छ तर उसले लगाइआएको छ। यस्तो लाग्छ प्रतिबन्धहरु घोषणा गर्नु अमेरिकाका लागि  मनोरञ्जन हो।' 

ट्रान दाई क्वाङको निधन

भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा निधन भएको छ।लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानएको छ। सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हालेका क्वाङले त्यसअघि चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। 

तान्जानियामा डुंगा दुर्घटना

तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा डुंगा दुर्घटना हुँदा एकसय भन्दा बढी मानिसहरुको मृत्यु भएको छ। बुगोरोराबाट युकेरेवे टापुको किनारमा आउँदै गर्दा डुंगा ढल्किएर पल्टिएको प्रत्यदर्शीहरुले बताएका छन्।एमभी न्यरी' नाम दिइएको उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको र तिनीहरु एकै दिशामा ढल्किँदा दुर्घटना भएको जनाइएको छ। वानचा क्षेत्रका प्रहरी प्रमुख जोन मोनगेल्लाले हालसम्म ३७ जनाको उद्दार गरिएको बताएका छन्। पहिले सय जनाको जीवितै उद्दार गरिएको बताइएको थियो। उद्दारकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।

अमेरिकमा गोलीकाण्ड

अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ। गोली चलाउने व्यक्ती बाल्टीमोर निवासी स्नोचिया मोसेलीरहेको अधिकारीहरुले बताएका छन्। औषधिको गोदामघरमा सहकर्मीहरुबीच विवाद बढ्दै गएपछि गोली चलेको बताइएको छ। उक्त घटनामा अरु तीनजना गम्भीर घाइते भएका छन्। 


काश्मिरमा प्रहरीको हत्या

भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरेका छन्। सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै काश्मिरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका बिषयलाई लिएर विवाद हुदै आएको छ । दुवै देशले काश्मिरलाई आफ्नो भूभाग भएको दावी गर्दै आएका छन्। काश्मिर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झण्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ। 

फोटो:RFERL/TELEGRAPH/BBC/GETTY/WNDU
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell