PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उत्तर कोरिया क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्न सहमत, ट्रम्पद्वारा स्वागत



उत्तर कोरिया क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्न सहमत, ट्रम्पद्वारा स्वागत
फोटो: REUTERS

प्योङयाङ: उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न सहमति जनाएका छन्। यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः शुरु हुने सम्भावना बढेको छ। 

प्योङयाङमा आयोजित उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मून जाए-उन बीचको ऐतिहासिक द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो। दक्षिण कोरियाली राष्ट्रपति तीन दिने भ्रमणका क्रममा हाल उत्तर कोरियामा छन्। 

'उत्तर कोरियाले दोङचाङ-री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुबै देशका विज्ञहरुको सहभागितामा सधैंका लागि बन्द गर्न सहमति जनाएको छ,'किमसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले भने। उक्त पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण सिओलमा पनि गरिएको थियो। 

उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायी रुपमै बन्द गर्नेजस्ता थप कदमहरु पनि चाल्ने सहमति जनाएको छ, तर त्यसका लागि अमेरिकाले आफ्ना नीतिहरुमा सामयिक पुनरावलोकन गर्नुपर्ने राष्ट्रपति मूनले बताए। 

उनले भने, 'दक्षिण र उत्तर कोरियाले पहिलो पटक आणविक निःशस्त्रीकरणका बारेमा छलफल गरेका छन्।' 

किमले आफू र मूनले सबै किसिमका आणविक हातहतियार त्याग्ने तथा कोरियाली द्वीपमा रहेको आणविक त्रास हटाउने प्रतिबद्धता जनाएको बताए। 

'यो घोषणाले दुबै देशबीचको सम्बन्धमा सुधार ल्याउन उच्चस्तरको मार्गप्रशस्त गरेको छ, र यसले शान्ति र समृद्धिको ढोका खोल्न हामीलाई नजिक ल्याएको छ,” प्योङयाङ सम्झौतामा हस्ताक्षर गर्दै किमले बताए। 

संयुक्त घोषणापत्रमा आणविक निःशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाले प्रतिबद्धता जनाएको छ। 

प्योङयाङको तीन दिने भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति मूनले अमेरिका र उत्तर कोरियाबीचको अबरुद्ध वार्ता पुनः शुरु गराउन पहल गर्ने बताएका थिए। संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले भने, 'उत्तर कोरिया र अमेरिकाबीचको वार्ता पुनः शुरु हुने मैले विश्वास लिएको छु।' 

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अन्तर-कोरिया शिखर बैठकमा भएका सहमति स्वागतयोग्य रहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले, 'किम जोङ उनले आणविक सुपरीवेक्षणका लागि अनुमति दिन सहमति जनाएको छ, र अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा एउटा आणविक परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रहार केन्द्र सधैंका लागि बन्द गर्न राजी भएको' उल्लेख गरेका छन्। 

अमेरिकाले उत्तर कोरियासँग रहेका आणविक हातहतियारको सूची उपलब्ध गराउन र आणविक केन्द्रहरुको निरीक्षण गर्न माग गरिआएको छ। तर उत्तर कोरियाले अमेरिकी मागलाई अस्वीकार गरिरहेको छ । यहीकारण दुबै देशबीचको वार्ता केही समयदेखि अबरुद्ध छ। 

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकारले भने हाल दुबै मुलुकबीच भएको सहमतिले अमेरिका र उत्तर कोरियाबीच वार्ताको ढोका खेल्ने विश्वास व्यक्त गरे। 

दुबै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरुलाई अझ फराकिलो बनाउने सहमति पनि भएको छ । रासस/योन्हाप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell