PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किम र मुनबीच शिखर वार्ताको तयारी पूरा : विश्वमा आज



पहिलोपोस्ट

किम र मुनबीच शिखर वार्ताको तयारी पूरा : विश्वमा आज

दुर्इ कोरियाली नेता भेट्दै


दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इन उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि मंगलवार प्योङयाङ पुग्दैछन्। दुर्इ नेताबीच हुन लागेको यो तेस्रो शिखर वार्ता हो। पहिला भएका वार्ताहरु दुर्इ राष्ट्रको सीमामा रहेको पानमुनजोममा भएको थियो। 

प्योङयाङमा हुने शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुनुका साथै कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण सहित समृद्ध कोरियाली द्वीप बनाउने उपायको खोजी गरिने पनि बताइएको छ। यस्तै उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध र सिंगापुरमा दुर्इ राष्ट्रका नेताहरुबीच भएको सहमति कारे पनि छलफल हुने बताइएको छ।   

अमेरिकामा आँधी

संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोपका कारण एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन्। केही दिनयताको अविरल वर्षा र यसका कारण आएको व्यापक बाढीले ठूलो क्षति पुगेको छ। आँधीले कैयौँ भौतिक संरचना उडाएको र ध्वस्त पारेको छ । दक्षिणपूर्वी क्षेत्रहरुमा अविरल बाढी र आँधी जारी रहेका कारण यहाँ बाँधहरु फुट्ने र पहिरो जाने सम्भावना रहेको बताइएको छ। अधिकारीहरुले आँधीको गतिमा कमी आए पनि खतरा कायम रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। 

फिलिपिन्स र चीन पनि प्रभावित

यस्तै, फिलिपिन्समा ‘सपर टाइफुन म्यान्गखुट’ नामक भीषण आँधीमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । हाल फिलिपिन्समा केही मत्थर देखिएको उक्त आँधी हङकङ र चीनको पूर्वी तटीय सहरमा प्रवेश गरेको छ । त्यहाँ पनि आँधीले ठूलो क्षति पुर्‍याएकोछ। चीनमा आँधीका कारण दुर्इ जना व्यक्तिको मृत्यु भएको जनाइएको छ।  


अमेरिका क्युबा सम्बन्ध 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा क्युबा र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा ह्रास आएको क्युबाका राष्ट्रपति मिगेल डायाज कनेलले बताएका छन्। कनेलले क्युबामाथि अमेरिकी आर्थिक प्रतिबन्ध नाजायज रहेको बताउँदै अमेरिकी प्रतिबन्ध नै मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन्। यस्तै उनले अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प विजयी भएसँगै पूर्व राष्ट्रपति बाराक ओबामाले शुरु गरेको ऐतिहासिक कुटनीतिक संवादमा कमी भइरहेको बताए।

आप्रवासी चढेको डुंगा डुब्दा...

टर्कीको दक्षिण पश्चिम तटीय इलाकामा इराकी आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार डुंगामा सवार आठ जना बालबालिका सहित अन्य १६ जनाको सकुसल उद्दार गरिएको छ। उक्त डुंगा ग्रीसतर्फ गइरहेको बताइएको छ। इराक, सिरियाजस्ता मुलुकमा जारी युद्धबाट पलायन हुने ठूलो समूह टर्कीको बाटो हुँदै युरोप जाने गर्दछ। 


फोटो:AP/AFP/GETTY/BBC/GUARDIAN/CNN



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell