काठमाडौं : नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सोमबार सामाजिक सञ्जालमा केही प्रश्नहरु उठाए। छोटो भूमिकासहित उनले गरेको प्रश्न नेपाल एयरलाइन्समा ल्याइएका कार्यकारी अध्यक्षको विषयमाथि थियो। स्टाटसमा उनले सत्ताको चरित्रलाई पनि थोरै ब्यङ्ग्य गरे।
लेखे -
'सत्तामा बस्नेहरूलाई सायद पुराना कुरा सम्झिने फुर्सद हुँदैन। नत्र वायुसेवा निगममा सुगतरत्न कंसाकार अध्यक्ष र केबी लिम्बु एमडी हुँदाको रडाको बिर्सेर फेरि कार्यकारी अध्यक्ष र एमडी किन बनाइन्थ्यो होला? काम गर्न नसकेर निगमबाट बाहिरिएका मदन खरेलमा के जादु रहेछ कुन्नी?'
सत्तामा बस्नेहरूलाई सायद पुराना कुरा सम्झिने फुर्सद हुँदैन । नत्र वासुसेवा निगममा सुगतरत्न कंसाकार अध्यक्ष र केबी लिम्बु एमडी हुँदाको रडाको बिर्सेर फेरि कार्यकारी अध्यक्ष र एमडी किन बनाइन्थ्यो होला ? काम गर्न नसकेर निगमबाट बाहिरिएका मदन खरेलमा के जादु रहेछ कुन्नि ?
— Bishnu Rijal (@bishnurijal1) September 17, 2018
पत्रकारिता पृष्ठभूमिका केन्द्रीय सदस्यको रिजालको प्रश्नको उत्तर सरकारले दिएको छैन। गत शुक्रवारको मन्त्रिपरिषदले खरेललाई सदस्यमा नियुक्ति गर्यो। र, सँगै निगमको सञ्चालक समिति सदस्यमा पर्यटन सचिव रहने व्यवस्था हटायो। फेरि आइतवार उनलाई कार्यकारी अध्यक्ष बनाइयो।
दुई नयाँ विमानसहित बजार फैलाउने तयारीमा रहेको निगममा खरेललाई भित्र्याइएको विषयले कुन मोड लिन्छ त? निगममा कार्यकारी हैसियतमा जाँदै गरेका खरेललाई प्रश्न गर्यौं : दुई जना कार्यकारी हुँदा गाह्रो होला नि काम गर्न?
खरेलले घुमाउरो जवाफ दिए – निगमको अवस्था जाँचगरेर अघि बढ्ने कुरा। उनको जवाफ यस्तो थियो – 'पहिला त समस्याका बारेमा अध्ययन नै गर्नुपर्छ। म बाहिर बसेर सबै सिचुएसन बुझेको छैन। आन्तरिक सबै कुराहरु बुझ्नलाई तीन चार दिन लाग्छ। समग्ररुपमा बुझिसकेपछि मात्र हामीले कस्तो प्लान बनाउनु पर्ने भन्ने कुरा हुन्छ। अहिले नै प्लान बनाउनुभन्दा पनि पहिलेको अवस्था अध्ययन गरेर त्यसको पछाडि कस्तो प्लान बनाउनुपर्छ जस्तो लाग्छ।' (खरेलसँगको कुराकानी पढ्न यहाँ क्लिक गर्नुस्)
उनको यो नियुक्तिको विषयलाई लिएर हामीले निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई सोध्यौं : सुगतरत्न कंसाकारले राजिनामा दिन्छ भन्ने हल्ला सुनिन्छ नि?
उनले त्यसलाई आंशिक सत्य नै माने। भने, 'चार पाँच दिनसम्म अगाडिसम्म त्यो हल्ला साँचो हो। त्यसपछि चाहिँ यहाँ कर्मचारी साथीहरुले मिलेर बसे भइहाल्छ भन्दै आठ महिना राजिनामा नदिन अनुरोध गरे। मलाई पनि सही लागेर कर्मचारी साथीहरुसँग सरसल्लाह गरेर राजिनामा नदिने निर्णय गरेँ। कर्मचारी साथीहरुबाहेक अरु कसैसँग सल्लाह गरेको छैन।' (उनीसँगको कुराकानीको अंश पढ्न यहाँ क्लिक गर्नुस्)
एक म्यानमा दुई तरबार?
एमडी सुगतरत्न कंसाकारको कार्याकाल अझै ८ महिना बाँकी छ। सोझै उनलाई हटाउँदा आउनसक्ने झन्झटबाट बच्न सरकारले अर्को कार्यकारी नियुक्त गर्यो। जिम्मेवारी अब कुन हिसाबले अगाडि बढ्छ अन्योल नै छ। आखिर एक म्यानमा दुई तरबार कसरी अट्छ त? दुई कार्यकारी कसरी हुन्छ?राजनीतिक नियुक्ति लिएर आएका खरेलले राजनीति नै भाषामा सुनाए, 'कार्यकारी रोल त दुईजनाको मात्र होइन त्यसमा सबैको कार्यकारी रोल हुन्छ। डाइरेक्टरहरु पनि सबै कार्यकारी हुन्। बिहान १० देखि पाँच बजेसम्म सधैँ रेगुलर काम गर्ने मान्छे सबैले कार्यकारीको काम गर्छन्।'
नेपाल वायुसेवा निगमलाई एग्रेसिभ रुपमा अगाडि बढाउने योजना बनाइरहेका कंसाकार के गर्छन् त? उनले कार्यकारी पद छाड्ने बताए। भने, मुद्दा हाल्दिन, प्रबन्ध निर्देशकको पद पनि छोड्दिन।' नेपाल टेलिकमदेखि नै व्यवस्थापनमा अब्बल स्थापित भएका कंसाकारले सरकारको नयाँ निर्णयलाई चुनौति दिएनन्। भने, 'त्यसमा त मैले अब के भन्ने, सरकारले निर्णय गरिसक्यो। त्यहीअनुसार अब नयाँ कार्यकारी अध्यक्षसँग मिलेर काम गर्ने हो।'
राजनीतिक र कुटनीति जवाफ दिए दुवै 'कार्यकारी'ले निगमको प्रवर्द्धन र विस्तार दुवैले आफ्नो उद्देश्य पनि बताए। कंसाकार र खरेल दुवैको अभिव्यक्तिले एउटै म्यानमा दुई तरबार 'एडजस्ट' को संकेत दिन्छ। तर, कहिलेसम्म?
केन्द्रीय सदस्य रिजालको ट्विटको अंशलाई फेरि एकपटक यहाँ दोहर्यााउँ – '…निगममा सुगतरत्न कंसाकार अध्यक्ष र केबी लिम्बु एमडी हुँदाको रडाको बिर्सेर…'
अर्बौंको डिल सहित बजार विस्तारको होडमा रहेको निगममा यी दुई तरबार कतिन्जेल एउटै म्यानमा अटाउँछन्, त्यो भविष्यले नै बताउनेछ। किनकि 'धन देख्दा महादेवको तीन नेत्र' भन्ने उखान त चलेकै छ।