PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आँशु र हाँसोमा सन्दीप सुत्र : खुशी हुन कारण नखोज



स्वेच्छा राउत

आँशु र हाँसोमा सन्दीप सुत्र : खुशी हुन कारण नखोज

कलाकार सन्दीप क्षेत्री पाटन अस्पतालमा थिए। बच्चा डेलिभरिका क्रममा उनकी श्रीमती समीक्षा पोख्रेलको स्वास्थ्य बिग्रियो, अवस्था गम्भीर बन्यो। आशासँगै चिन्ता र डर थपियो क्षेत्री परिवारमा।

घटना तीन वर्षअघिको हो। सन्दीप क्षेत्री मान्छे हँसाएरै चिनिन थालिसकेका थिए। उनलाई देखेपछि अस्पतालमै पनि मानिसहरु नजिकै आउँथे र उनलाई हेरेर हाँस्थे। कोही त फोटो खिच्न समेतपछि पर्थेनन्।

‘मेरी श्रीमतीको अवस्था क्रिटिकल थियो। म दु:खमा थिएँ। तर, मलाई हेरेर मान्छे रमाएको देख्दा लाग्थ्यो - कस्तो अरुको भावनाको कदर नगर्ने, अवस्था नबुझ्ने रहेछन्,’ त्यतिखेर मनमा खेलेको कुरा खोले सन्दीपले। 

उनलाई हेरेर हाँस्नेहरुप्रतिको दृष्टिकोण राम्रो बनेन, यस घटनापछि।

भाग्यवस्, उनकी श्रीमतीको स्वास्थ्यमा भने सुधार आयो। छोरीलाई जन्म दिइन्। खुशीले रुवाएको त्यो क्षण सम्झन्छन्। आमा लक्ष्मी क्षेत्रीले ठूलो स्वरमा ‘छोरी भयो’ भनेर चिच्याउँदा बाहिर कुरिरहेका सन्दीपले भरिएको गह थाम्न सकेनन्।

‘बरर आँशु झर्यो। एकछिन अघिको डर सब गायब भयो। खुशीले कामेको अझै सम्झन सक्छु,’ यसो भनिरहँदा सन्दीप बुवा बन्दाको अनुभूति व्याख्या गर्न खोज्छन् तर, सक्दैनन, ‘के भयो भयो? श्रीमती ठीक भएको खुशी हो कि? आफ्नो अंश जन्मिएको खुशी हो? के हो के हो?’ 

त्यसपछि श्रीमतीको छेवैमा गए। ‘ठीक छौ नि?,’ मात्र सोधे र मात्र छोरी हेरे। भने, ‘छोरी हातमा लिँदा फेरि एक पटक आँशु झर्यो।’ 

सन्दीपले जीवनमा यसरी आँशु झारेको पलहरु विरलै छन्। जति छन्, ती बिर्सन नसक्ने गरी मनमा अमेट छन्।

*** 

श्रीमती अस्वस्थ हुँदा हस्पिटलमा भेटिनेबारे नकारात्मक ‘इम्प्रेसन’ परेको थियो उनमा। ‘म दुनियाँलाई हसाउँछुको मतलव ममा अरु इमोसन छैन भन्ने होइन नि। किन बुझ्दैनन् मान्छे जस्तो लागेको थियो,’ भने।

केही समयपछि फेरि सन्दीपका ठूलोबुवा बिरामी भए। उनलाई पाटन अस्पतालमा भर्ना गरियो।

सन्दीप भर्याङ उक्लिँदै थिए, हतारहतार। माथिबाट हातमा स्लाइन लगाएकी युवती रेलिङ र आफन्तको सहारामा ओर्लिँदै थिइन्। जब उनको आँखा सामुन्ने सन्दीप परे तब उनी उत्साहित देखिइन्। उनी हाँसिन्। अघिसम्म गलेको जस्तो देखिने आँखामा बेग्लै चमक महसुस गरे उनले।

‘मलाई देखेर त्यो बहिनीको अनुहारमा परिवर्तन देख्दा मेरो सोच्ने तरिका नै बद्लियो। त्यसपछि म हरेकसँग हाँस्न र बोल्न थालेँ,’ उनको दृष्टिकोणमा आएको मोड सुनाए।

‘आखिर हस्पिटलमा आएका हरेकको आफन्त बिरामी हुन्छन् वा स्वयं बिरामी हुन सक्छन्। त्यसरी बिरामी पर्दा पनि, पीडामा हुँदा पनि सबै बिर्सेर हाँस्न सक्छन्। मलाई हेरेर खुशी हुन्छन् भने त त्यो राम्रो कुरा हो- भन्ने लाग्यो।’ 

आजभोलि सन्दीप कसैलाई हेरेर हाँस्न वा कसैलाई खुशी बनाउन कारण खोज्दैनन्। ‘कारण खोज्दिन त्यसैले दु:खी हुँदिन। आफू दु:खी नभए न हो अरुलाई पनि हँसाउन सकिने,’ केही बेर रोक्किएर थपे, ‘यो कुरालाई व्यवहारमा उतार्न चाहिँ मेरी छोरीले सिकाइरहेकी छिन्।’ 

उनकी छोरी साम्राज्ञी ३ वर्षकी भइन्। हरेक दिन सन्दीप घर पुगेपछि छोरीले उनीसँग लुकामारी खेल्न बोलाउँछिन्। उनीसँग खोलिदिँदा रमाउँछिन्। सधैं एकै ठाउँमा लुकेजस्तो गर्छन्, छोरीले देख्नेगरी। हरेकपटक बाबालाई भेट्याउँदा खित्का छोडेर हाँस्छिन् साम्राज्ञी।

‘मेरी छोरीको हाँसो बखान गर्न सक्दिन। तर, उ त्यसरी बिनाकारण रमाएको देख्दा मैले धेरै कुरा सिकेको छु। उसले मलाई ‘इन एण्ड आउट ह्याप्पी म्यान’ महसुस गराउँछे।’  

‘सबै मान्छेमा हरेक खालको संवेदना हुन्छ। कमेडियनमा पनि हुन्छ। तर खुशी हुन जोड् दिने कि पीडा सम्झेर पिल्सने? त्यो चाहिँ व्यक्तिपिच्छे फरक हुने कुरा हो,’ सन्दीपले भने, ‘म चाहिँ सानो सानो कुराहरुमा रमाउन जोड दिन्छु। जे गरिरहेको छु त्यसैमा शत् प्रतिशत् दिनुले रमाउन सिकाउँछ।’

*** 

सन्दीप पछिल्लो पटक अत्याधिक पीडामा रोएको सम्झन्छन्। यशोदा सुवेदीको निधन हुँदा कलाकार मदनकृष्ण श्रेष्ठलाई हेर्न सकेनन्। सधैं एकअर्कासँग अङ्ग्रेजीमा कुरा गर्ने यी दुई हाँस्य कलाकार देखादेख भएर पनि बोलेनन्। त्यस दिन उनी कोक्किएर रोए।

‘मलाई मदन’बालाई हेर्दा एकदम गाह्रो भयो। मेरो गह भरियो। म दुखेरै रोएँ,’ सुनाए। 

अहिले मदनकृष्ण श्रेष्ठ कार्यक्रमहरुमा हिँडेको देख्दा उनलाई खुशी लाग्छ।

‘बाको अनुहार परेको पाको साथी हो उहाँ मेरो। उहाँले अति प्रेम गर्ने श्रीमती गुमाउँदाको क्षण मलाई असाध्यै गाह्रो भयो। बाले अवस्थालाई स्वीकार्नु भयो। भित्र गाह्रो होला तर, कम्तिमा कोसिस गर्नुभएको छ। यस्तै देखेर म झन् धेरै सिक्छु।‘

*** 
सन्दीपसँग पनि कथा छन्। संघर्षका दिनका याद छन्। तर, ती सबलाई उनी दु:ख मान्दैनन्। उनी आफूले चाहेको काम गर्नका लागि मिहिनेत गरेका थिए। त्यस बखतका अप्ठ्याराहरु र त्यसको सामनालाई ‘प्रक्रिया’का रुपमा व्याख्या गर्छन्।

मास्टर्स पढ्दै कलाकारिता गर्न काठमाडौं आएका उनी शंकरदेव क्याम्पसमा भर्ना भए। उनलाई सधैं लाग्यो - प्यासन जेमा भए पनि पढ्न चाहिँ पर्छ। पढाइले मान्छेलाई अध्ययनशील बनाउँछ भन्ने बुझाइ थियो उनमा।

पढाइ त सरासर अघि बढ्यो। मास्टर्स सके। अनि मास्टर नै बने। तर, अभिनयको भोक मेट्ने अवसर भने सजिलै पाएनन्। मिहेनेत गर्दा पनि पाइरहेका थिएनन्। कमेडी कार्यक्रम निर्मणका लागि धेरैवटा टिभीमा अप्लाइ गरे। तर, कसैले उनलाई पत्याएनन्।

‘म सबैतिर रिजेक्ट भएँ। थाहा छैन समय भएको थिएन वा मैले राम्रो गर्न सक्दिनथेँ, ’ सन्दीप सुनाउँछन्, ’गोटी खत्रैसँग चाल्दैछु जस्तो लाग्थ्यो तर बाहिरबाट हेर्नेले मेरो खेल झुर देखे।’ 

सन्दीपलाई कहिले पनि खान, बस्न, लाउन वा अन्य खर्चको दु:ख भएन। परिवारले त्यो वातावरण नै दिएन। एउटा पोइन्ट यस्तो आयो जब उनले नै घरमा खर्च माग्न छोडे। ‘त्यो बेला माइक्रो चढ्न सात रुपैयाँ हुन्न थियो। तर, त्यो कुराले मलाई निराश बनाएन,’ भने। 

उनी कहिले - आज एक्सरसाइज भयो भन्दै हिँड्थे त कहिले आफैलाई सुपरस्टार बनाएर अन्तर्वार्ता लिँदै हिँड्थे। त्यस्तैमा उनी रेडियो सिटीमा आवद्ध भए। रेडियोसँग जोडिएको ६ वर्षे अनुभव उनीसँग छ। लगत्तै सुपर एक्टिङ कम्पिटिसनमा सहभागी भएपछि भने उनको अभिनय यात्राले राजमार्ग पक्र्यो। मानिसहरुसँग चिनजान भयो। नेसनल टिभीमा खुलेको भ्याकेन्सीले निर शाह लगायतसँग काम गर्ने अवसर जुर्यो। ‘नेसनल टिभी मेरो सिक्ने स्कूल बन्यो,’ यसै भन्छन् उनी। 

‘प्रोसेसका क्रममा सबैले प्रश्न गर्छन्। आलोचना गर्छन्। त्यही बेला हो सबैले मिहेनत गर्नुपर्ने। अनि नतिजाले दिन्छ जवाफ, ’ उनी आफूलाई रिजेक्ट गर्नेहरुलाई सम्झिएर बोल्छन्, सायद। थप्छन्, ’सबैलाई सुन्नुपर्छ तर गर्ने चाहिँ आफ्नो मनले चाहेको कुरा हो।’ 

अठोटले आफूलाई आज ‘सन्दीप क्षेत्री’को रुपमा स्थापित गरेको उनको विश्वास छ। हाल उनी हाँस्य कार्यक्रम प्रस्तोताको रुपम त चर्चित छन् नै साथै फिल्महरुमा पनि उनको अभिनय रुचाइन्छ। कला क्षेत्रमा नामलाई ब्रान्ड बनाएका यिनी कलेजमा पढाउँछन् पनि।

‘म धेरैथरीका काम गर्दिन। बरु एउटै काम फरक तरिकाले गर्छु,’ उनी आफ्नो हरेक काममा रमाउँछन्। भन्छन्, ’म मेरा विद्यार्थीलाई अडियन्स देख्छु। आफ्ना स्क्रिप्टहरु कोर्ससँग रिलेट गरेर एक्पेरिमेन्ट समेत गर्छु।’ 

*** 

एकपटक उनी कार्यक्रमका लागि अमेरिका पुगेका थिए। स्टेज कार्यक्रम। त्यहाँ उनलाई एक नेपालीले मेसेज लेखे - तपाईं किन ‘मिठाइलाल जादव’ बनेर मधेशीको अपमान गर्नु हुन्छ? किन रेसिस्ट बन्नु हुन्छ? 

सन्दीप मेसेज पढेर मुस्कुराए र जवाफ लेखे- ‘भाइ म वीरगंजको मान्छे हुँ र जादव पात्र मेरो आफ्नो ठाउँको पात्र हो। मैले उसको बोलीलाई नराम्रो नभनी, उसको छालाको रङलाई छ्या नभनी काम गरेको छु। आफ्नै समुदायको मान्छेको खिल्ली म किन उडाउँछु होला?’ 

अनि थपे, ‘अहिले म अमेरिकामा छु। अब भन्नुस् कालो बन्नु हुन्न भनेर गोरो बाराक ओबामा बन्नु?’ 

कहिले काहिँ आलोचनाको शिकार हुनुलाई स्वभाविक रुपमा लिन्छन् उनी। ‘कतिपटक गलत काम जानीजानी लुकिलुकी गर्छौं, गलत हो भन्ने थाहा पाएरै। मैले जिन्दगीमा धेरै त्यस्तो गरेँ। अहिले म सही छु भन्ने थाहा छ त्यसैले आलोचनाले मलाई गलाउँदैन। दु:खी बनाउँदैन।’ 

उनी आफूसँग जोडिएकालाई पनि खुशी हुन आग्रह गर्छन्। किनकि आफूले जे प्राक्टिस गर्यो त्यस्तै बनिन्छ भन्ने उनको अनुभव हो। 

‘मिस्टर ह्याप्पी’ भनेर चिनिन रुचाउने उनी हाम्रो सामाजिक सिकाइमा प्रश्न गर्छन्। ‘कसले भन्यो अहिले धेरै हाँसे भरे रुनु पर्छ भन्ने? अहिले हाँसे भरे झन् धेरै हाँस्न पाइन्छ भनेर सिकाउँदा हुन्न?’ 

सन्दीप ‘बाहिर धेरै हाँस्ने मान्छे भित्र दु:खी हुन्छन्’ भन्ने लोकोक्तिको पक्षमा कदापी छैनन्। ह्याप्पी, ह्याप्पियर, ह्याप्पियस्ट- ह्याप्पीको बीचमा स्याड कहिले पनि आउँदैन। उनी आफ्नो कुरामा कन्भिन्स गर्न खोज्छन्।

‘सबै मान्छेमा हरेक खालको सेन्टिमेन्ट हुन्छ। पीडा भुलेर हाँस्न म पनि भन्दिन। तर, खुशी हुन कारण नखोजे र आफ्नो अवस्थालाई स्वीकार्न सके हामी आफूसँगै आफ्नाहरुलाई खुशी बनाउँन सक्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell