PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसियाड : शुक्रबार सबै खेलमा नेपालको खराब प्रदर्शन



पहिलोपोस्ट

एसियाड : शुक्रबार सबै खेलमा नेपालको खराब प्रदर्शन

इन्डोनेसियमा भइरहेको १८औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन्।

रत्नजित दक्षिण कोरियाका खेलाडीसंग २१–८, २१–११ तथा विकास जापानका खेलाडीसंग २१–९ऽ २१–१० को सोझो सेटमा पराजित भए।

महिला डबल्समा नेपालका अमिता गिरी र रशिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१–७ र २१–१ ले सहजै हराए।

नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ। महिला सिंगल्समा नेपालकी नङशल तामाङले जापान तथा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले इन्डोनेसियाका खेलाडी विरुद्ध खेल्नेछन्।

 

पौडी : बनेन राष्ट्रिय कीर्तिमान

पौडीमा नेपाली खेलाडीले कुनै पनि स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाउन सकेनन्। नेपालबाट ४ खेलाडी सहभागी थिए। सबैको चुनौती समाप्त भइसकेको छ। चारै खेलाडी हिट चरणबाटै बाहिरिए।

शुक्रबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। गौरिका सिंह र टीसा शाक्य ५० मिटर फ्रिस्टायलमा क्रमशः २१ औं र २३ औं स्थानमा रहे। निर्धारित दूरी गौरिकाले २८।५० तथा टीसाले २९।६१ सेकेन्डमा पूरा गरे। ३१ खेलाडीले सहभागिता जनाएका थिए।

पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् श्रेष्ठ सहभागी ३६ मध्ये ३२ औं भए। उनले निर्धारित दूरी तय गर्न ३२।४५ सेकेन्ड समय खर्चे। शिरिषको स्पर्धा यसअघि नै सम्पन्न भइसकेको छ।

 

भलिबल : नेपाल पराजित

पुरुष भलिबलमा नेपाल पराजित भएको छ। समूह ‘सी’ को लिगमा नेपाल दक्षिण कोरियासंग २५–१६, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित भयो। नेपाल यसअघि चाइनिज ताइपेईंसं पनि ३–० को सोझो सेटमा पराजित भएको थियो। पुरुष भलिबलमा २० राष्ट्र सहाभागी छन्।

 

स्पोर्ट क्लाइम्बिङ

पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष बोल्डरिङको छनोट चरणमा नेपालका प्रणीलमान श्रेष्ठ र पेम्बा शेर्पा बाहिरिएका छन्। दुवै खेलाडी समग्रमा २१ औं स्थानमा रहे।

यसअघि प्रणील र पेम्बा पुरुष स्पिड्स र पुरुष कम्बाइनको छनोट चरणबाटै बाहिरिएका थिए। अब नेपालले शनिबार पुरुष कम्बाइन लिडको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ।

 

आर्चरी : मिक्स टिममा पराजय

आर्चरीको रिकर्भ मिक्स टिम इभेन्टमा नेपाल पराजित भएको छ। नेपाल किर्गिस्तानसंग ५–४ ले पराजित भयो। नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गरेका थिए।

नेपालले शनिबार पुरुष रिकर्भ टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ। नेपाली टिममा तिलक पुन मगर, रोशन नगरकोटी र मिनप्रसाद गौचन छन्।

 

बास्केटबलमा नेपाल चौथो

पुरुष थ्री बाइ थ्री बास्केटबलको समूह चरणको खेलमा नेपाल चौथो भएको छ। ६ राष्ट्र सहभागी समूह ‘सी’ को खेलमा शुक्रबार नेपालले १ मा वाक ओभर, १ मा जित र १ मा हारको सामना गर्‍यो।

नेपालले माल्दिभ्सबाट वाक ओभर पायो। नेपालले जोर्डनलाई २१–१० ले पराजित गर्‍यो। नेपालको जितमा आशिष बस्नेतले सर्वाधिक १३ अंक योगदान गरे। सिरिया विरुद्ध नेपाल २१–१९ ले पछि पर्‍यो। आशिषले नै सर्वाधिक स्कोर गर्ने क्रममा ९ अंक बटुले।

त्यसअघि नेपाल कतार र जापानसंग पराजित भएको थियो। थ्री बाइ थ्रीअन्तर्गत महिलामा नेपालले शनिबार जापान र मंगोलिया विरुद्ध खेल्नेछ।

 

फेन्सिङ : फोइल टिममा पराजय

फेन्सिङतर्फ पुरुष फोइल टिममा नेपालले हार व्यहोरेको छ। नेपाल फिलिपिन्संग ४५–३ को फराकिलो अन्तरले पछि पर्‍यो। नेपालबाट राजनराज खड्का, महेशप्रसाद भाट, सन्जिप लामा र शेरसिंह ऐरीले खेलेका थिए।

 

गल्फ

गल्फको पुरुष व्यक्तिगत स्पर्धाको दोस्रो चरणसम्म नेपालका शुक्रबहादुर राई संयुक्त रुपमा ५५ औं स्थानमा छन्। ५५औं स्थानमा सिंगापुर, बंगलादेश र कतारका खेलाडी पनि छन्। टंक कार्की युएई, ब्रुनाइ र बंगलादेशका खेलाडीसंगै संयुक्त रुपमा ६२ औं स्थानमा छन्। यस्तै अजित विके ७४ औं स्थानमा छन् भने पृथ्वी मल्ल संयुक्त रुपमा ७८ औं स्थानमा छन्। ७८औं स्थानमा उज्वेकिस्तानका खेलाडी पनि छन् । यो स्पर्धामा ८७ खेलाडी सहभागी छन्।

गल्फको पुरुष टिम इभेन्टमा नेपाल १७ औं स्थानमा छ। यो स्पर्धामा २० टिमले भाग लिएका छन्। गल्फ आइतबारसम्म जारी रहनेछ।

 

बक्सिङ : संगीता पराजित

बक्सिङको पहिलो दिन एक नेपाली खेलाडीले मात्र प्रतिस्पर्धा गरिन्। महिला ५७ केजीमा नेपालकी संगीता सुनारलाई ५–० ले पराजित गर्दै थाइल्यान्डकी निलावान क्वाटरफाइनलमा प्रवेश गरिन्।

बक्सिङमा नेपालबाट ५ पुरुष र ३ महिला गरी ८ खेलाडी सहभागी छन्। शनिबार तेजबहादुर देउवाले पुरुष ४९ केजी, भुपेन्द्र गुरुङले पुरुष ६४ केजी र पुनम रावलले महिला ६० केजीमा प्रतिस्पर्धा गर्नेछन्। बक्सिङ टोली थाइल्यान्डमा ४५ दिनको वैदेशिक प्रशिक्षणपछि त्यत्तैबाट एसियाडमा सहभागी हुन इन्डोनेसिया आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell