PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टीकापुर घटनाको तीन वर्षः मुख्य आरोपित रेशम चौधरी भन्छन् 'न्यायको प्रतीक्षामा छु'



बीपी साह

टीकापुर घटनाको तीन वर्षः मुख्य आरोपित रेशम चौधरी भन्छन् 'न्यायको प्रतीक्षामा छु'

मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटना काण्ड आज तीन वर्ष पुगेको छ। टीकापुर घटनामा आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भए। 

यही घटनामा संलग्न भएको आरोपमा २४ जना थारु अगुवाहरु पूर्पक्षका लागि धनगढी कारागारमा छन् भने एक जना बालक सुधार गृहमा। घटनाका मुख्य आरोपी तथा सोही क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचन जितको सांसद रेशम चौधरी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्। टीकापुर घटना र थरुहट आन्दोलनबारे कारागारमा रहेका सांसद चौधरीसँग बीपी साहले गरेको कुराकानीको सम्पादित अंश।
 

तपाईँको जेल जीवन कस्तो बित्दैछ?

निर्वाचित सांसदका लागि जेलमा बस्नु पकै पनि सहज छैन होला। तर, कुनै घवराहट छैन। आरामले बसिएको छ। नेता कार्यकर्ताहरुसँग भेटघाट हुँदैछ। हाम्रा जनताले आशा भरोसा गरेका छन्। त्यही भएर बेफिक्री भएर बसेको छु। तर, आफ्नो क्षेत्रका जनताको चिन्ता छ। जनताका लागि केही गर्न चाहन्छु। तर, अहिले जेलमा बसेर आफ्नै लागि न्यायको प्रतीक्षा गर्दैछु।
 

टीकापुर घटनाको तीन वर्ष भएको छ। तपाईँको जानकारीमा अहिले कस्तो छ टीकापुर?

कैलाली थारुहरुको थियो, छ र रहनेछ। गैर थारुहरु पनि मिलेरै बसेका छन्। तर, टीकापुर घटनापछि अवस्था बिग्रिएको छ। थारुहरुको दिनचर्या अहिले पनि समान्य हुन सकेको छैन। थारुहरु टीकापुर बजारमा स्वतन्त्र रुपमा जान सक्ने अवस्था बनेको छैन। एक किलो चिनी र नुन ल्याउन पनि थारुहरु भारतीय बजार तिकुनिया जानु परेको छ। अहिले टीकापुर आसपासका थारुहरु टीकापुर बजार आउनबाट डराएर भारतीय बजार जान बाध्य छन्। यही कुराहरुबाट तपाईँहरुले पत्ता लगाउन सक्नुहुन्छ कि टीकापुरका थारुहरुको अवस्था कस्तो छ भनेर।

टीकापुर घटनापछि त्यस क्षेत्र अहिलेसम्म पनि अशान्त नै छ। सरकारी अड्डाहरुमा थारुहरुको कुनै काम भइरहेको छैन। प्रहरी प्रशासनबाट त थारुहरुले झन् यातना खेप्नुपरेको छ। टीकापुर र आसपासका क्षेत्रमा एक समुदायको दबदबा बढेको छ।
 

त्यसो भए थारु र थरुहट आन्दोलन कमजोर भएको हो त?

होइन। थरुहट आन्दोलन कमजोर भएको छैन। झन् सशक्त बनेको छ। थारुहरु आफैमा शक्तिशाली बनेका छन्। राज्यको दमन सहेर मजवुद बन्दैछन्। भित्रभित्रै थरुहट आन्दोलन सल्किएको देख्छु। राज्य र गैर थारुहरुको दमन तथा निर्वाचित सांसदलाई जेलमा हाल्ने घटनाले थारुहरु झनै आक्रोशित बनेका छन्। 

अझै थरुहट आन्दोलन उठ्ने सम्भावना छ?

सरकारको यस्तै रवैया रहने हो र थारुहरुको न्यूनतम मानव अधिकारको प्रत्याभूति हुने छैन भने ठूलो आन्दोलन हुन सक्ने सम्भावना देखेको छु। 

तर, अधिकांश थारु नेताहरु जेलमा छन् त, आन्दोलन कसरी?

मैले चुनाव जितेको पार्टी राजपाले नेतृत्व गर्यो भने राजपाकै नेतृत्वमा पनि हुन सक्छ। राजपाका लागि यो गोल्डेन अपर्चुनिटी हो। विजय गच्छदारले थारुहरुलाई धोका दिएपछि थारुहरु नेतृत्व विहीन भएका छन्। म र अरु साथीहरु जेलमा परेका छौं। तर, हाम्रो पार्टी अहिले पनि संसदको तेस्रो ठूलो दल छ। राजपाले नेतृत्व गर्नेमा म विश्वस्त छु। 

तपाईँमाथि लागेको मुद्दाका विषयमा के हुँदैछ?

हाम्रो मुद्दा अहिले अदालती प्रक्रियामा भएकोले धेरै कुरा बोल्न मिल्दैन। तर, हामी न्यायालयको सम्मान गर्छौं। त्यही भएर न्यायको प्रतीक्षामा छौं। मुलतः यो राजनीतिक घटना हो। राजनीतिक समस्याको राजनीतिक तवरले सामाधान हुनुपर्छ।

तेस्रो मधेश–थरुहट आन्दोलनकै क्रममा मुद्दा लागेकाहरु कतिपय साधारण तारेखमा छुटिसके त।

हो। यो नजिरले पनि हामीलाई सहज गर्छ होला। तर, सबै कुरा न्यायालयको हातमा छ।
 

यस घटनाका विषयमा विभिन्न छानविन पनि भएको छ। ती प्रतिवेदन सार्वजनिक भइरहेका छैनन्। किन होला?

हो। करीब आधा दर्जन प्रतिवेदन बनाइएको छ। तर, सबै प्रतिवेदन लुकाइएको छ। हाम्रो पार्टीले प्रतिवेदन सार्वजनिक गर्न बारम्बार माग गरे पनि सरकारले सार्वजनिक गरेको छैन। प्रतिवेदनहरु सार्वजनिक भएको भए पनि आधारहरु बाहिर आउने थिए, जसले हामी अपराधी होइनौं भन्ने कुरा प्रमाणित गर्ने थियो। तर, ती प्रतिवेदन लुकाइएको छ। मानव अधिकारवादी, अन्तर्राष्ट्रिय न्यायिक निकायहरुलाई पनि प्रतिवेदन सार्वजनिकका लागि सहयोग गर्न आग्रह गर्छु। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell