PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नागरिकता ऐन संशोधन विधेयक अपुरोः एनआरएनए महिला फोरम



नागरिकता ऐन संशोधन विधेयक अपुरोः एनआरएनए महिला फोरम

बैंकक: गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको महिला फोरमले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न हालै नेपालको संसदमा प्रस्तुत मस्यौदा विधेयक अपूरो रहेको भन्दै यसमा सुधार गर्न संसद र सरकारको ध्यानाकर्षण गरेको छ। 

नागरिक ऐनको यस मस्यौदाले गैरआवासीय नेपाली महिला र पूराना पुस्ताका गैरआवासीय नेपालीहरुका मागहरु नसमेटिएको भन्दै संसद र सरकारको ध्यानाकर्षण गरेको छ। महिला फोरमले आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। 

कार्यक्रममा संसद निरु पालले एनआरएनए थाइल्याण्डले नागरिकताको विषयमा उठाएका मागहरु जायज भएको बताइन्। उनले यसमा सकारात्मक परिणाम ल्याउनका लागि आफूले सक्दो पहल गर्ने बताइन्। 

पूर्वमन्त्री भगवती चौधरीले नागरिकताका सम्वन्धमा गैरआवासीय नेपालका माग र चासोलाई सरकार र संसदसम्म पुर्याउने बताइन्। 

एनआरएनए थाइल्याण्ड महिला फोरमकी संयोजक मेघा चन्दले नागरिकता ऐनको हालको मस्यौदामा विदेशमा रहेका नेपाली चेलीहरुका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने प्रष्ट व्यवस्था गर्नुपर्ने माग राखिन्। 

त्यस्तै, दोस्रो विश्व युद्धताका बर्मा हुँदै थाइल्याण्ड र मलेसिया पुगेर बसोबास गर्दै आएका दोस्रो र तेस्रो पुस्ताका नेपालीहरुको बारेमा प्रस्तावित मस्यौदा मौन रहेको रहेको भन्दै उनले यस विषयलाई पनि प्रस्तावित ऐनमा प्रस्टरुपले समेट्न नेताहरुलाई आग्रह गरिन्। 

थाइल्याण्ड र मलेसियामा बस्दै आएका यस्ता नेपालीहरुसँग पुख्यौली कागजहरु नभएकोले नेपाली नियोग र  स्थानीय गैरआवासीय नेपाली संघको सिफारिसमा गैरआवासीय नागरिकता दिने व्यवस्था गर्न चन्दले लिखित सुझावसमेत दिएकी थिन्। 

’सम्बृद्ध नेपालका लागि गैरआसीय नेपालीका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा नेपाल पोलिसी इन्ष्टिच्युटका अध्यक्ष खगेन्द्र ढकालले विश्वभरि छरिएर रहेका नेपाली विशेषज्ञहरुले नेपालको विकासका लागि अनुसन्धान गरी अल्पकालीन र दीर्घकालीन वैकल्पिक नीतिहरु उपलब्ध गराएर सहयोग गर्न एनआरएनएले भर्खरै पोलिसी इन्स्टिटुटको स्थापना गरि अगाडी बढेको जानकारी गराए। 

किङग मङ्ग्कुट  विश्वविद्यालयमा प्राध्यापनरत ढकालले नेपालको आर्थिक समृद्दिको लागि नेपाल बाहिर रहेका नेपालीहरु आर्थिक कुटनीतिको प्रवर्धन, ज्ञान, प्रविधि र सीप हस्तान्तरण गर्न पनि सक्षम र इच्छुक रहेको बताए। 

गैरआवासीय नेपाली संघ थाइल्याण्डका सल्लाहकार अमृत श्रेष्ठले व्यापार र लगानी  प्रवद्र्धन गर्न एसियाका विभिन्न देशहरुमा भएका राम्रा अभ्यासहरु गैरआवासीय नेपालीमार्फत नेपाल सरकारले उपयोग गर्नसक्ने बताए।

एनआरएनए थाइल्याण्डका अध्यक्ष आसजिता अवालेले नेपालको पर्यटनमा थाइल्याण्ड एउटा ठूलो सम्भावना रहेको बताए। पर्यटकको सुविधाको लागि  नेपालको  त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थल र स्थानीय विमानस्थलमा छोटो हिडेर जान मिल्ने बाटो खोल्न उनले सुझाव दिए। 

एनआरएनए थाइल्याण्डका महासचिब रवि महर्जनले एनआरएनए थाइल्याण्डले स्थानीय नागरिक अभियानसँगको साझेदारीमा गोरखा र दोलखाका ४० जना भूकम्प पीडित एवं उपेक्षित विद्यार्थीलाई १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति परियोजना सुरु गरेको बताए।

कार्यक्रममा एनआरएनए थाइल्याण्डका संरक्षक डेविड खनाल, सल्लाहकारहरु भारती लिम्बुनी, कुमार कार्कीले प्रवासमा रहेर पनि नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न सफल भएको बताए। एनआरएनए थाइल्याण्डका उपाध्यक्षहरु महेन्द्र श्रेष्ठ, भविन्द्र बस्नेत, सागर लामा, कोषाध्यक्ष कान्छा गाबो गुरुङ, सहसचिव केशव आचार्य, कार्यकारी सदस्य अतिस श्रेष्ठ र एनआरएनए थाइल्याण्डका प्रतिनिधिहरुले अन्तरक्रियामा भाग लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell