PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पार्टी मिले पनि मिलेन मन : ने क पामा दुई संसदीय दल



बीपी साह

पार्टी मिले पनि मिलेन मन : ने क पामा दुई संसदीय दल

काठमाडौँः नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बीच एकतापछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) गठन भएको तीन महिना भइसक्दा पनि संसदीय दलको कार्यालय छुट्टाछुट्टै छन्।

तत्कालीन एमालेका नेता तथा सांसदहरू माओवादीको संसदीय दलतिर जाँदैनन् भने तत्कालीन माओवादीका सांसदहरू एमालेतिरको कार्यालयमा जाँदैनन्। नेताहरू एक अर्काको संसदीय दलमा गएका छैनन्। आ–आफ्नो पुरानो संसदीय दलकै कार्यालयमा नेताहरूले भेटघाट गर्छन्।

नेकपाका संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरी पुरानै कार्यालयमा बस्छन्। एमालेतर्फका सांसदहरूको पिजनहोल पनि उतै छ।

यता माओवादीको पुरानो संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को बोर्ड छ। धेरै दिनदेखि प्रचण्ड संसदीय दलको कार्यालय पुगेका छैनन्।

राष्ट्रियसभा सचिवालय रहेको उक्त भवनमा नेकपाका प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राष्ट्रियसभाका दलका नेता दीनानाथ शर्मा बस्छन्। उनीहरूलाई भेट्न सांसद तथा कार्यकर्ताहरू त्यही आउँछन्। यो माओवादीको पुरानो संसदीय दलको कार्यालय पनि हो।

नेकपा एउटै दल भए पनि दुई ठाउँमा कार्यालय हुँदा संसद् सचिवालयलाई समस्या परेको छ। एउटा दलका कार्यालयका लागि एक जना शाखा अधिकृत दिने चलन भए पनि हाल नेकपामा दुई जना शाखा अधिकृत छन्। दुई ठाउँमा दलको कार्यालय रहेकोले कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको सचिवालयले जनाएको छ।

 

किन छुट्टाछुट्टै?

पार्टी एकीकृत भएपछि एकै ठाउँमा सांसदहरू बस्न सक्ने क्षमता भएको हल नभएकोले छुटाछुटै रहेको तर्क नेकपाका नेता र संसद् सचिवालयका अधिकारीहरूले गर्छन्।

एकीकृत दलको कार्यालयका लागि पुरानो शान्ति मन्त्रालय अथवा महिला तथा बालकालिका मन्त्रालयमा सर्ने भन्ने छलफल पनि भएको थियो। तर त्यो प्रक्रिया रोकियो।

संघीय संसद् सचिवालय स्रोतका अनुसार नेकपाका नेताहरूले संसदीय दल एक ठाउँमा राख्न नमानेपछि प्रक्रिया रोकिएको हो। सचिवालयले नेकपाका शीर्ष नेताहरूसँग छलफल गर्दा अहिलेकै अवस्थामा केही दिन रहन दिन आग्रह गरेका थिए।

‘तत्कालीन नेकपा एमालेमा दुई जना पूर्वप्रधानमन्त्री र एक जना वर्तमान प्रधानमन्त्री हुनुहुन्छ। उहाँहरूको आ–आफ्नै कार्यकर्ता र नेताहरूसँग भेटघाट हुन्छ।’ सचिवालयका एक अधिकारीले भने,‘माधव नेपालजीका नेता कार्यकर्ता केपी ओलीजीका नेता कार्यकर्ताहरूसँग बस्न चाहनुहुन्नु। झलनाथ खनालजीका नेताहरु अन्यसँग बस्न चाहनुहुन्न। तत्कालीन एमाले संसदीय दलको कार्यालय उहाँहरूकै लागि अपुग छ। झन् त्यहाँ माओवादीका नेता कार्यकर्तालाई रुचाउन सक्ने अवस्था छैन। माओवादीको संसदीय दलको कार्यालयतिर एमालेका नेताहरू आउन चाहनुहुन्न। जसकारण शीर्ष नेताहरूले अहिले छुट्टाछुट्टै राख्न आग्रह गर्नुभएको छ।’

सबै शीर्ष नेताहरू आ–आफ्नै गुटगत भेटघाट र छलफल गर्ने भएकोले अहिले नै एकै ठाउँमा ल्याउन अप्ठ्यारो देखिएकोले मिलाउने काम रोकिएको उनले बताए।

तर नेकपाका प्रमुख सचेतक देव गुरुङले संसद् सचिवालयले जहाँ उपलब्ध गराए त्यहीँ बस्ने प्रतिक्रिया पहिलोपोस्टलाई दिए।

‘यो संसद् सचिवालयको जिम्मेवारी हो। उहाँहरूले जहाँ व्यवस्था गर्नु हुन्छ त्यही बस्छौँ। यस विषयमा हामीलाई धेरै जानकारी छैन।’ गुरुङले भने।

 

संसद् सचिवालयको कस्तो थियो तयारी?

पुरानो शान्ति मन्त्रालयमा व्यवस्था हुन नसकेपछि संघीय संसद् सचिवालयको २ नम्बर भवनमा रहेको पुरानो माओवादी दलको कार्यालयमा एकीकृत पार्टीको संसदीय दल राख्ने तयारी गरिएको थियो।

पहिलो संविधानसभामा माओवादी सबभन्दा ठूलो दल हुँदा सोही कार्यालयमा बैठक बस्ने गरेको थियो। संसद् सचिवालयका अनुसार त्यति ठूलो संख्यामा अहिले नेकपासँग संसद् छैन। तर पनि बैठक बस्ने हलका लागि बखेडा झिकियो।

माओवादीको पुरानै हलमा गरिएको पार्टेशन हटाएर फराकिलो बनाउने तयारी सचिवालयको थियो। उक्त हलका लागि कुर्सीहरू पनि थपिने काम भएको थियो। तर नेताहरुबीच एकै ठाउँमा बस्न नरुचाएपछि दलको कार्यालय अलगअलग नै राखिएको छ।

‘संसद् सचिवालयले तयारी गरिसकेको छ, नेकपाका नेताहरुबीच मन मिलेपछि दलको कार्यालय पनि मिल्नेछ’ सचिवालयका अधिकारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell