PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

चुरोटको विकल्प इ-सिगरेट : यसले स्वास्थ्यमा असर पार्छ कि पार्दैन?



पहिलोपोस्ट

चुरोटको विकल्प इ-सिगरेट : यसले स्वास्थ्यमा असर पार्छ कि पार्दैन?
Photo: GETTY

प्रविधिको विकाससँगै मानिसहरुको जीवनशैली पनि परिवर्तन हुँदैछ। प्राविधिक उपकरणमा मानिसको परनिर्भरता पनि बढ्दो छ। प्रविधिले विश्वमै धूमपान गर्ने तरिकामा पनि नयाँपन ल्याइदिएको छ। आजकाल परम्परागत चुरोटसँगै त्योभन्दा भिन्न 'इलेक्ट्रोनिक सिगरेट' (भ्यापिङ) हरु बजारमा उपलब्ध छ। नेपाली युवामाझ पनि भ्यापिङको क्रेज बढेको छ। सामान्यतया परम्परागत चुरोट भन्दा सुरक्षित मानिएकाले पनि युवाहरु भ्यापिङ तर्फ आकर्षित भएका हुन्। तर, हालैको एक अध्ययनले भ्यापिङले समेत मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्ने तथ्य उजागर गरेको छ। 

भ्यापिङ गर्दा रोग प्रतिरोधात्मक प्रणालीलार्इ क्षति गर्न सक्ने एक अध्ययनले देखाएको हो। साथै भ्यापिङका कारण सोचे भन्दा निकै डरलाग्दो अवस्था सिर्जना हुनसक्‍ने देखिएको हो। 

अनुसन्धानकर्ताहरुले इ-सिगरेटबाट उत्पन्न हुने धुँवाले फोक्सोको प्रतिरक्षा प्रणालीलार्इ असक्षम बनाउने कुरा पत्ता लगाएका छन्। त्यसबाट फोक्सोको संक्रमण भर्इ फोक्सो सुनिने खतरा रहेको पनि अनुसन्धानले देखाएको छ।

त्यही आधारमा इ-सिगरेटहरु सुरक्षित हुन्छ भन्ने विचार विरुद्ध सावधान रहनुपर्ने अनुसन्धानकर्ताहरुले बताएका छन्। 

पब्लिक हेल्थ इंग्ल्यान्डले भने इ-सिगरेटहरु धूमपान भन्दा कम हानिकारक हुने र धूमपान त्याग्न मानिसहरुले त्यसको सहायता लिनका लागि कुनै संकोच गर्नु नपर्ने बताएको छ।

युनिभर्सिटी अफ ब्रिमिङहमका प्रोफेसर डेभिड थिक्केटको नेतृत्वमा गरिएको अध्ययन जर्नल थोरक्समा प्रकाशित भएपछि भ्यापिङबारे नयाँ तथ्यको खुलासा भएको हो।
  
पहिलाका अध्ययनहरुमा भने इ-सिगरेट सेवन गर्नुपूर्वको रसायनिक तत्वहरुको मात्र अध्ययन गरिएको थियो। यो अध्ययनमा अनुसन्धानकर्ताहरुले प्रयोगशालामा भ्यापिङको नक्कल अध्ययन गर्न मेकानिकल प्रणालीको विकास गरेका थिए। त्यसका लागि धूमपान नगर्ने आठ जना व्यक्तिहरुको फोक्साका नशाहरुको नमूना प्रयोग गरिएको थियो। 

अनुसन्धानका क्रममा धुँवाले फोक्सो सुनिन्नुका साथै 'अलभेओलर माक्रोफेजस'को गतिविधिलार्इ बिगार्ने देखिएको छ। 'अलभेओलर माक्रोफेजस' नामक सेल्सले दूषित किटानु, ब्याक्टेरिया र एलर्जीलार्इ हटाउने कार्य गर्दछ। 

भ्यापिङ गर्नेहरुमा धूमपान गर्ने र क्रोनिक लंग डिजिजको झै अवस्था पनि देखिएको छ। प्रयोगशालामा गरिएको अनुसन्धानले भ्यापिङ गर्दा सावधानी अपनाउनु पर्ने निष्कर्ष निकालेको छ। साथै यसबाट लामो समयसम्म प्रभाव पार्ने कारणहरु बुझ्न अझै अनुसन्धान गर्नुपर्ने जनाइएको छ।

पब्लिक हेल्थ इंग्ल्यान्डले फेब्रुअरीमा प्रकाशित गरेको एक इन्डिपेन्डेन्ट रिभ्युले इ-सिगरेटहरु धूमपान भन्दा सुरक्षित रहेको र त्यसबाट कम हानी हुने बताएको थियो। उसले इ-सिगरेटको प्रयोग गर्दा धेरै मानिसहरुले धूमपान त्यागेको भन्दै इ-सिगरेटलार्इ प्रेस्क्रिप्सनका रुपमा समेत दिनुपर्ने उल्लेख गरेको थियो। 

प्रोफेसर थिक्केटका अनुसार इ-सिगरेटहरु परम्परागत सिगरेटहरु भन्दा सुरक्षित भए पनि पहिलो चरणको अनुसन्धानबाटै तिनीहरुले लामो समयसम्म प्रभाव पार्न सक्ने खतरा देखिएको बताए। 

थिक्केट भन्छन् 'इ-सिगरेटको प्रयोगले क्यान्सरको जोखिम कम हुन्छ। तर, यदि एक जनाले २० देखि ३० वर्षसम्म लगातार भ्याप गरे त्यसले 'क्रोनिक अबस्ट्रक्टिभ पुलमोनरी डिजिज' हुन सक्छ। त्यसबारे हामी सबै सचेत हुनैपर्छ। इ-सिगरेटहरु अरु सामान्य सिगरेट भन्दा धेरै हानिकारक हुनेमा म विश्वस्त हुन सक्दिन। तर, तिनीहरु निकै सुरक्षित छन् भन्ने विषयमा हामीले सावधानी पूर्वक सोच्नैपर्छ।'

पब्लिक हेल्थ इंग्ल्यान्डका धूमपान नियन्त्रण विभागको नेतृत्व गरिरहेका मार्टिन डकरेल भन्छन् 'इ-सिगरेट सय प्रतिशत सुरक्षित हुन्छ भन्ने होइन, तर तिनीहरु धूमपानभन्दा कम खतरनाक हुन्छन्। धूमपान छोड्ने मनस्थिति बनाएकाले इ-सिगरेट सुरु गरिहाल्नु पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell