PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१२ दिन भित्र काठमाडौंका खाल्डा खुल्डी पुर्ने मन्त्रीको दावी, विकास समितिको ३ बुँदे निर्देशन



पहिलोपोस्ट

१२ दिन भित्र काठमाडौंका खाल्डा खुल्डी पुर्ने मन्त्रीको दावी, विकास समितिको ३ बुँदे निर्देशन

काठमाडौं : अबको १२ दिनभित्र काठमाडौंका सबै खाल्डाखुल्डी परिने दाबी भौतिक योजना तथा यातायात मन्त्री रघुबीर महासेठले गरेका छन्।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री महासेठले अबको १२ दिनभित्रै काठमाडौंका सबै खाल्डाखुल्डी पुरिनुका साथै चाबहिल साँखुको बाटोको काम सम्पन्न गर्न निर्देशन दिइसकिएको बताए।

आज बसेको समितिको बैठकमा सांसदहरुले सडकको खाल्डा खुल्डीले समस्या भएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
त्यसैगरी सांसदहरुले यातायातमा रहेको सिन्डिकेट समाप्त नभएको दाबी पनि गरेका थिए। 

जवावमा मन्त्री महासेठले यातायातमा सिन्डिकेट नरहेको दाबी गर्दै केही दिनभित्र सबै सिन्डिकेट हटेर बैधानिक प्रक्रिया सुरु हुने बताए।
आजको बैठकबाट समितिले मन्त्रालयलाई तीन वटा निर्देशन दिएको छ।

१. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन, यस्ता आयोजनाहरुमा देखिएका समस्या तथा चुनौतीहरुलाई स्थायी तवरले शिघ्रातिशीघ्र समाधान गर्न तथा कुनै पनि कारणबाट आयोजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती हुन नदिने व्यवस्था मिलाउन, कार्यक्रमहरुको रणनैतिक स्पष्टता कायम गर्दै परिणाममुखी र गुणस्तरीय कार्य सम्पादन गर्न गराउन समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ।

२. केन्द्र, प्रदेश र स्थानीय सरकारबीच आपसी सुदृढ समन्वय र स्पष्ट कार्यक्षेत्रको अभावमा भौतिक पूर्वाधारहरुको निर्माण तथा स्तरोन्नति लगायतका कार्य प्रभावकारी एवं दिगो नहुने निश्चित छ । तसर्थ समितिको यो वैठक उल्लेखित विषयका लागि प्रभावकारी समन्वय गर्न तथा सोको लागि क्षमता अभिवृद्धि गर्न र कार्यक्षेत्रमा स्पष्टता कायम गर्न नेपाल सरकार, भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयलाई निर्देश गर्दछ।

३. देशको विकास पूर्वाधारको विद्यमान अवस्था चालु कार्यक्रमहरु एवम् उक्त कार्यक्रमहरुको प्रगति विवरण, आगामी पाँच वर्षमा भौतिक पूर्वाधार विकासको अपेक्षित लक्ष्य सहितको विस्तृत विवरण र गत आर्थिक वर्षमा यस मन्त्रालय अन्तर्गत भएका विकास निर्माण कार्यमा भएको खर्च एवं प्रगति, भएका रकमान्तरहरु र गैरबजेटरी खर्च सम्वन्धी विवरण, विद्यमान ऐन नियमलाई विकासमैत्री बनाउन गर्नुपर्ने अवधारणा, गर्नुपर्ने कार्य समेत यस समितिलाई अविलम्ब उपलब्ध गराइदिन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ।

यसैगरी समितिको बैठकले अन्तरसरकारी निकायहरुबीच आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्दै तत्कालीन तथा दीर्घकालीन आवश्यकताका आधारमा समितिको कार्यसूचीहरु निर्धारण गर्दै समितिलाई प्रभावकारी बनाउदै  लैजाने निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell