PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

प्रकाण्ड पक्राउ प्रकरणः 'चिनी मिलबाट ३० लाख चन्दा, हिरासतमा बाबुरामको ३० मिनेट भेट'



सविन ढकाल

प्रकाण्ड पक्राउ प्रकरणः 'चिनी मिलबाट ३० लाख चन्दा, हिरासतमा बाबुरामको ३० मिनेट भेट'

काठमाडौँ: पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' पाँच दिनदेखि प्रहरी हिरासतमा छन्। अर्ध भूमिगत पार्टीका प्रवक्ता समेत रहेका प्रकाण्डलाई चन्दा असुलीको अभियोगमा पक्राउ गरिएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार उनले ७ करोड रुपैयाँ चन्दा संकलन गरेका दाबी छ। पाँच करोड विभिन्न शीर्षकमा खर्च भए पनि अहिले  विश्वकर्मासँग दुई करोड रुपैयाँ रहेको प्रहरीको दाबी छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेको उनको दलले विभिन्न ठाउँमा विस्फोटसमेत गराएको थियो। त्यतिखेर प्रकाण्डले चन्दा बटुलेको अनुसन्धानमा देखिएको छ। उनले विभिन्न व्यापारी, विद्यालय, उद्योग कलकारखानाबाट चन्दा लिएको अनुसन्धानमा देखिएको एक प्रहरी अधिकृतले बताए।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकले सबैभन्दा बढी साना उद्योग तथा कलकारखानाबाट चन्दा उठाएको देखिएको छ। एक प्रहरी अधिकृतले भने, 'एउटा चिनी मिलबाट ३० लाख रुपैयाँसम्म चन्दा लिएको पाइएको छ। तराईका उद्योगहरूबाट चन्दा बढी संकलन गरिएको छ।'

महङ्गो शुल्क लिएका विद्यालहरुबाट पनि विभिन्न बहनामा चन्दा लिएको देखिएको छ। पाँच लाख रुपैयाँदेखि १५ लाखसम्म चन्दा लिएको देखिएको हो। अनुसन्धान संलग्न ती प्रहरी अधिकारीले भने, 'विद्यालयबाट पनि चन्दा धेरै उठाइएको छ। कम्तीमा पाँच लाख रुपैयाँदेखि चन्दा दिएको देखिएको छ।'

चुनाव अघिदेखि नै अर्ध भूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन नेकपा माओवादीबाट (मोहन वैद्य किरण समूह) फुटेको थियो।

हिरासतमा रहेका प्रकाण्डलाई रिहा गर्ने नरेन्द्रबहादुर सिंह विकले आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएका थिए। जसमा विकलाई ४८ घन्टाभित्र अदालतमा पेस गर्न सोमबार आदेश भएको छ।

 

हिरासतमा बाबुरामको ३० मिनेट भेट

बुधबारदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका नेता प्रकाण्डलाई भेट्न नेताहरूको हिरासतमा पुग्ने गरेका छन्। तत्कालीन माओवादी पार्टीका नेतादेखि नेपाल कम्युनिस्ट पार्टीका नेताहरू प्रकाण्डलाई भेट्न हिरासत पुगेका हुन्।

आइतबार दिउँसो हिरासतमा रहेका विकलाई भेट्न पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई समेत पुगेका छन्। नेता भट्टराईले परिसरको हिरासतमा पुगेर करिब ३० मिनेट जति कुराकानी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell