PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदीप गिरिको नजरमा : विमान विद्रोह र दुर्गा सुवेदी



पहिलोपोस्ट

प्रदीप गिरिको नजरमा : विमान विद्रोह र दुर्गा सुवेदी

  • प्रदीप गिरि –
वर्ष गन्तीका हिसाबले हेर्ने हो भने दुर्गा सुवेदीलाई भेटेको ठ्याक्कै ४७ वर्ष भयो। त्यसबेला मैले काशी विश्वविद्यालय (वनारस हिन्दु विश्वविद्यालय) बाट बिए पास गरेको थिएँ। मेरा सहपाठीहरु चक्रप्रसाद बाँस्तोला, निरन्जन बराल, गोविन्द रेग्मी आदिले एमएमा भर्ना गराए। मैले भने अब सक्रिय राजनीति गर्ने टुङ्गो गरिसकेको थिएँ।

हामीले विराटनगरमा प्रजातान्त्रिक समाजवादी युवा दलको सम्म्लेनको तयारी बैठक गर्‍यौं। बैठकको आयोजना र तयारी नोना कोइराला र शैलजा आचार्यले गर्नु/गराउनु भयो। त्यही पहिलो बैठकमा दुर्गाजीसित मेरो भेट भएको थियो। किन हो हामी दुवैले भेटको लगत्तैपछि एक अर्काप्रति सख्यभावको अनुभूति गर्‍यौंजस्तो लाग्छ। हाम्रो राजनीतिक झगडा कहिल्यै भएन। वैचारिक मिलाप पनि भएन।

नोभेम्वर १९६८ मा म काठमाडौंमा जेल परेँ। किशोर नेपालले आफ्नो आत्मकथामा त्यस घटनाको लामो विवरण दिनु भएको छ। त्यस दिन राति दुर्गाजी मेरै डेरामा बास बस्नु भएको थियो। धेरैपछि एक दिन दुर्गाजी बनारसमा मेरो डेराबाट भारतीय पुलिसद्वारा समातिनु भयो। यो पछिल्लो घटना भने जुन १०, १९७६ को थियो भनेर दुर्गाजीले उल्लेख गर्नु भएको छ। झण्डै आठ वर्षको यो कालखण्ड नेपाली कांग्रेसको इतिहासको एक अलिखित अध्यायका रुपमा अध्यावधि विद्यमान छ।

बीपी कोइराला १९६८ को पुछारदेखि बनारसमा बसोवास गर्न थाल्नु भयो। त्यहीं बसेर सशस्त्र संघर्षका पक्षमा वकालत गर्न थाल्नु भयो। त्यसै प्रेरणाबाट नेपालभित्र फाट्टफूट्ट हिंसात्मक गतिविधि भए। खतरनाक ‘हाइज्याकिङ’ भयो। त्यस हाइज्याकिङका मुख्य अभियन्ताका रुपमा दुर्गा सुवेदीको मिथकीय व्यक्तित्व बन्यो। फेरि ओखलढुङा काण्ड घटित भयो। यो सब निस्फलझैं भएर अन्ततः बीपी कोइराला ३० डिसेम्बर १९७६ मा नेपाल फर्किनु भयो। यसै आठ वर्षका कठीन कालखण्डलाई दुर्गा सुवेदीले यस पुस्तक (विमान विद्रोह) मा मुख्यतः लिपिबद्द गर्नु भएको छ।

यस पुस्तकमा दुर्गाजीको जीवनी थोरै मात्र छ। उहाँले आफ्ना बारे विस्तारमा चर्चा गर्नु भएको छैन। सामान्यतः राजनीतिमा लाग्ने मानिसको मूल प्रेरणा यसको अदम्य हुन्छ। मैले यसो गरे, उसो गरे भन्ने आफ्नो बडाईबाट आत्मकथा ओतप्रोत हुन्छ। आत्मकथाका लेखकहरु परनिन्दा वा बदख्याईमा पनि विशेष रस लिन्छन्। तर, यस्तो नगर्नु दुर्गाजीको सबभन्दा ठूलो खुबी हो। आत्मकथाका भावी लेखकहरुले यस पुस्तकबाट अलिकति शिक्षा लिए हुन्थ्यो। यसै पनि दुर्गाजीको व्यक्तित्वमा एउटा आफ्नै किसिमको सरलता देखिन्छ। मनभित्र दानवत्व होला तर बाहिरी रुप सधै सौम्य र शालिन छ। पुस्तक पनि लगभग यस्तै सरल, सौम्य र शालिन छ।

उल्लेखित आठ वर्ष नेपाली कांग्रेसको इतिहासको सर्वाधिक दुर्वोध्य कालखण्डको रुपमा रहेको छ। पार्टी व्यवहारतः दुईटा हेडक्वाटरबाट संचालित थियो। कार्यकारी अध्यक्षको रुपमा सुवर्ण समशेर कलकत्तामा हुनुहुन्थ्यो। उहाँ राजासँग संवाद गर्ने पक्षमा हुनुहुन्थ्यो। कारागारमुक्त भएपछि वीपी कोइराला भने बनारस पुगेर सशस्त्र क्रान्तिको कुरा गर्न थाल्नु भएको थियो। कांग्रेस पार्टीका माथिल्लो तहका नेताहरु एक दुइटा अपवादबाहेक सबै सुवर्णजीको कार्यनीतिका पक्षमा थिए। स्वयं गिरिजाप्रसाद कोइरालाले पनि नेपालमा रहँदासम्म आफूलाई दाजु बीपी कोइरालाको कार्य दिशासँग पृथक देखाएका थिए तर त्यो पनि पञ्चायतले खपेन।

१९७२ पुग्दा नपुग्दा गिरिजाप्रसाद र सरोज दुवै भारत रहन बस्न थाले। गिरिजाबाबु बेचैन स्वभावको मान्छे हुनुहुन्थ्यो। केही नगरी बस्न नसक्ने उहाँको प्रवृत्ति थियो। फेरि एक्लै पनि टिक्न नसक्ने। हिन्दुस्तानमा उहाँका वरिपरि सुस्तरी एउटा जमात एकत्र हुन थाल्यो। मुख्यतः गिरिजाबाबुकै हुटहुटी र संयोजनमा विमान वलायन भयो। यस सिलसिलामा ‘र’का मानिसहरुसँग समेत आफूले सम्पर्क गरेको गिरिजाबाबुको आत्मकथन छ। त्यो त्यस्तै नै भयो होला। पछि त्यस हाइज्याकिङको मुद्दामा बीपी कोइरालासमेतलाई मुछ्ने प्रयासमा भारतका राजकीय निकाय प्रवृत्त भएको कुराको संकेत यस पुस्तकमा भेटिन्छ। हाइज्याकिङका विषयमा दुर्गाजीले व्यक्त गर्नु भएका टिप्पणी यसैले विशेष सारगर्भित छन्।

हाइज्याकीङ पक्कापक्की गर्नुअघि त्यसको भावी नकारात्मक परिणामका विषयमा एकपटक बनारसमा मेरो र दुर्गाजीको कुरा भएको थियो। दुर्गाजीले त्यो सम्झना राख्नु भएको छैन। यस्तो संवेदनशील विषयमा सम्झनाले धोका दिनु स्वभाविक हो। बडा मै हुँ भन्ने हाम्रा महानायकहरुले आफ्नो कथा लेखेका छन्। उनीहरुले कति कुरा जानीजानी गोलमाल गरेको देखिन्छ। कति कुरा भने आत्मविस्मृतिको परिणाम हो भनेर सजिलै बुझ्न सकिन्छ। यस पुस्तकमा चर्चित आठ वर्षका बारेमा थुप्रै लेख र टिप्पणी छापिएका छन्। इतिहास पुरुष भैसकेका बीपी कोइराला र गिरिजाप्रसाद कोइरालालाई चिनेको भन्ने दावा गर्ने मानिसको संख्या असंख्य हुनु त स्वभाविक हो। उता संघर्षका बेलामा नाक मुख नदेखिएका महानुभावहरु पनि अहिले यसो गरें उसो गरें भनी भन्दैछन्। त्यतिबेला ठूलै जोखिम उठाएर विमान वलायनमा सफल हुनु भएका दुर्गा सुवेदीको यस कृतिले खास ऐतिहासिक महत्व राख्दछ।

विमान वलायनको त्यो साहसिक कार्यमा दुर्गा सुवेदी आफैं जहाजको ककपिटमा हातमा पेस्तोल लिएर तत्पर हुनु भएको थियो। यस घटनाका प्रत्यक्षदर्शी आज पनि जीवित छन्। यस घटना अघि पनि दुर्गा सुवेदीले के कस्तो कार्यहरु गर्नु भएको रहेछ भन्ने कुराको धेरथोर विवरण यहाँ उपलब्ध छ। यस किसिमको आत्मकथा लेख्दा समय वा उमेरका कारणले मान्छेले कतिपय कुरा विर्सन सक्छन्। फेरि विस्र्मणको मनोविज्ञान आफ्नै किसिमको हुन्छ भनेर मनोवेत्ताहरुले प्रमाणित गरेका छन्। आफूले कुनै मजबुरीमा गरेका कतिपय काम मान्छेले अवचेतनका आफ्नै कारणले बिर्सन्छ भन्ने सिग्मन्ड फ्रायडको कथन छ। झट्ट बिर्सी नहाले पनि आफ्ना जीवनका तथ्यहरुको छनौट गर्दा जीवनीकारहरुले आफ्नो जस बढाउने कुरा मात्र लेख्छन्। आफूलाई जस नदिने खालका घटनाक्रमहरु ठूलाबडाले समेत बिर्सने गरेको देखिन्छ।

हाम्रा कांग्रेसका नेताहरुले छाप्नु भएका किताबहरु तथा गणेशमान सिंहको मेरो कथाका पानाहरु, वीपी कोइरालाको आत्मावृत्तान्त, गिरिजाप्रसाद कोइरालाको आफ्नो कथासमेत यस दोषबाट मुक्त छैनन्। भारतका नेताहरुमा पनि नेहरु, मोरारजी देसाईका जीवनीलाई यस श्रेणीमा राख्न सकिन्छ। तर दुर्गा सुवेदीजीको वर्तमान पुस्तक यस्तो दोषबाट सर्वथा मुक्त छ। कदाचित अर्को कारणले पनि यस्तो हुन गएको होला। यो एक परम्परागत जीवनी हुँदै होइन। यसमा दुर्गाजीको जीवनको सिङ्गो इतिवृत छैन। यसै पनि यो जीवनीले दुर्गाजीको पारिवारिक पृष्ठभूमिसमेतमा पनि विशेष ध्यान दिएको छैन। जीवनका अनेक कालखण्डमा दुर्गाजीले गर्नु भएका थुप्रा काम र भोगेका कुराप्रति उहाँ उदास हुनुहुन्छ। दुर्गाजीले एउटा साधु जस्तो रहेर राजनीति गर्नु भएको हो। तदनुरुप यो जीवनी पनि सर्वथा लोकमुखी छ।

पुस्तकमा वर्णन गरिएको कालखण्डमा म पनि यस्तै राजनीतिमा संलग्न थिए। हाइज्याकिङको घटनाले मेरो जीवनमा पनि प्रत्यक्ष प्रभाव पार्यो। हाइज्याकिङ हुनुअघि बनारसमा वीपी कोइरालाका वरिपरि भेला भएका हामी विद्यार्थी र युवकहरु त्यसै रुमलिएर बसेजस्तो थियौं। बीपी कोइरालाले क्रान्तिको आव्हान गर्नु भएको थियो। तर त्यहाँ क्रान्तिको कुनै कार्यक्रम तथा रुपरेखा थिएन। स्वयं उहाँले नै समेत भन्दा यो त एउटा खिचपिच मात्र हो, सैद्धान्तिक कुरा मात्र हो भन्नु हुन्थ्यो। पार्टीको खास सभापति सुवर्ण समशेर हो र सुवर्णजीले भनेको कुरा नै पार्टीको आधिकारीक कार्यक्रम हो भन्ने वीपीको कथपो कथन रहन्थ्यो। तर वीपीका त्यस्ता अभिव्यक्तिले नेपालीको नयाँ पुस्तामा ठूलो हलचल ल्याएको थियो।

विराटनगरका विद्यार्थी र तन्नेरी बम र पेस्तोलका तालिम लिइरहेका थिए भन्ने कुरा यसै पुस्तकमा दुर्गा सुवेदीजीले लेख्नु भएको छ। मैले एउटा सत्य कुरा भन्नै पर्छ। मलाई यस्ता कुराहरुको कुनै जानकारी थिएन। एक दुइटा साथीहरुले यस्ता कुरा उक्काउँदा म उपहासमा उडाउने गर्थें। झण्डै दुई वर्षको नख्खु जेलको बसाई किसुनजीको संगत र त्यहाँ बस्दा भएको अध्ययनले हिंसक गतिविधिको बारे म निश्चित दृष्टिकोण राख्थें। क्रान्ति एउटा सामाजिक प्रक्रिया हो, यो कुनै एउटा व्यक्तिको पराक्रमको कुरा होइन। १०/२० जना युवकहरुले बन्दुक चलाउन सिकेर क्रान्ति सफल हुँदैन भन्ने मेरो मान्यता थियो। वीपी कोइरालाले समेत आफ्ना गम्भीर लेखहरुमा हुबहु यस्तै कुरा गर्नु भएको छ। तर अर्कातिर क्रान्तिमा लाग्छु भन्ने मानिसहरुलाई हतोत्साहित गरेको रहेनछ भन्ने कुरा यस पुस्तकबाट थाहा पाइन्छ। संक्षेपमा भन्दा मैले र दुर्गाजीले बीपी कोइरालाका व्यक्तित्वका दुई पाटालाई देख्न पुगेका रहेछौं जस्तो मलाई लाग्छ।

यस पुस्तकबाहेक अरु पनि थुप्रै साक्षर दस्तावेज छन्। गणेशमान सिंहको अदालतको बयान एउटा यस्तै दस्तावेज हो। जेहोस् वीपी कोइरालाको आठ वर्षको अर्थात् १९६८ डिसेम्बर देखि १९७६ डिसेम्बरसम्म यस्तै विरोधाभाष थियो। सौभाग्यवस कोइराला अन्ततः यस्तो असामन्जस्यको स्थितिबाट माथि उक्लनु भयो। ३१ डिसेम्बर १९७६ का दिन कोइराला राष्ट्रिय मेलमिलापको आव्हानका साथ नेपाल फर्कनु भयो। वीपी कोइरालाको नेपाल प्रत्यागमनका साथ नेपाली कांग्रेस आफ्नो इतिहासको अर्को चरणमा उत्साहका साथ सक्लियो।

प्रवासका ती आठ वर्षका बारेमा कुनै भरपर्दो साहित्य छैन। कांग्रेसको इतिहास लेखन त थालिएकै छैन। ती घटनाका साक्षी रहेका मानिस पनि एक पछि अर्को गरेर विस्मृतिको गर्तमा विलिन हुँदैछन्। यस्तो समयमा यस्तो पुस्तकले ठूलो आवश्यकताको पुर्ति गरेको छ। यस पुस्तकले कांग्रेसको एउटा अल्पज्ञात अध्यायमाथि प्रकाश पारेको छ। यस कृतिले स्वभाविक रुपमा एक होइन अनेक प्रश्न उठाएको छ। सोधकर्ताहरुले आगामी दिनहरुमा यहाँ उठेका प्रश्नहरुलाई टुङ्गोमा पुग्ने खोजतलास गर्ने छन् भनी आशा गर्नु पर्छ।

जाँदाजाँदै एउटा कुरा भन्नु पर्नेछ। यस पुस्तकमा मुस्किलले १५/२० जना तन्नेरीहरुको नाम उल्लेखसम्म छ। तर वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले बनारस केन्द्रीत भएर गर्नु भएका गतिविधिहरुमा योभन्दा धेरै ठूलो परिमाणमा मानिसहरु संलग्न रहेका थिए। यस्तो जमातमा मुख्यतः विद्यार्थी र युवक थिए। उमेरदार पनि थिए। को थिए ती मानिसहरु ? के थियो उनीहरुको वर्गिय आधार ? के कस्ता भावना र आवेगले यस्तो दुस्साहस गर्न उनीहरु तयार भएका थिए ? उनीहरुको वैचारिक तयारी कस्तो थियो ? यस्ता मानिसलाई सशस्त्र क्रान्तिमा प्रवृत्त गर्दा वीपीको खास सोचाइ के थियो ? के दुर्गा सुवेदीलाई यस्तो रणनीति भएको वा नभएको आभाष थियो ? यस्ता प्रश्नहरुको आलोकमा मात्र यस पुस्तकको मूल्यांकन हुन सक्छ।

त्यस्तो ऐतिहासिक कार्य गर्नु भएका दुर्गाजी कांग्रेसको राजनीतिबाट उदासिन र विमुख भएर एक्लिएर बस्नु भएको छ। त्यति मात्र होइन २०४७ सालको प्रजातन्त्र स्थापनापछि पनि पार्टीले उहाँलाई कुनै भूमिका दिएन। दुर्गाजी स्वभावले सरल, इमान्दार, परिश्रमी एवं कर्मठ व्यक्ति हुनुहुन्छ। उहाँमा एउटा राजनीतिक व्यक्तित्वका रुपमा कुनै दोष देखिदैन तर पनि उहाँले पार्टीमा कुनै काम पाउनु भएन। यो सब किन भयो ? आफ्ना आखिरी दिनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्य, भीमबहादुर तामांगसमेत कांग्रेससँग विमुख भएका थिए। यस्तो बारम्बार हुन्छ र किन बारम्बार दोहोरिन्छ ? मेरो विचारमा कांग्रेसको यस्तो राजनीतिको समाजशास्त्रीय शल्यक्रिया हुनु पर्छ। यस्तो शल्यक्रियाका निमित्त यस पुस्तकले अनिवार्य सामग्री उपलब्ध गराएको छ। यसका निमित्त गम्भीर पाठकले दुर्गाजीलाई जतिसुकै धन्यवाद दिए पनि थोरै हुनेछ।

(लोकतान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको हालै प्रकाशित पुस्तक ‘विमान विद्रोह’मा प्रदिप गिरीले लेख्नुभएको भूमिकाको सम्पादित अंश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell