PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रिलिज भिडन्तमा रोजी र रामकहानी, चलचित्र विकास बोर्डका अध्यक्ष निकितामाथि पुजाको आक्रोश



रीना मोक्तान

रिलिज भिडन्तमा रोजी र रामकहानी, चलचित्र विकास बोर्डका अध्यक्ष निकितामाथि पुजाको आक्रोश

काठमाडौं : फिल्म 'रोजी' र 'रामकहानी'को निर्माण टिमबीच विवाद भएको छ। फिल्मको प्रदर्शन मिति एउटै मितिमा जुधेपछि विवाद सुरु भएको हो।  

'रामकहानी' निर्मात्री एवम् अभिनेत्री पुजा शर्माले बुधवार सामाजिक सञ्जाल फेसबुकमा चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले नै फिल्म जुधाएको आरोप लगाउँदै स्टेटस लेखेकी थिइन्। बोर्ड अध्यक्ष आफै महिला भएर महिलाले नै बनाएको फिल्मसँग जुधाउन पूर्व योजना रहेको उनको आरोप थियो।



फिल्म 'रामकहानी'मा पुजा र निर्देशक सुदर्शन थापाको लगानी छ।

यता विकास बोर्ड अध्यक्षले भने स्टेटस त लेखेकी छनन् तर 'पावर अफ पोजिटिभिटी'को भिडियो सेयर गरेकी छिन्। उता पुजाले फेरी 'आइ लभ यू' लेखेकी छिन्। दुईको स्टेटस खासै मेल खाँदैन।

निकिताको ब्यानर गोपी कृष्ण मुभिजबाट फिल्म 'रोजी' बनेको हो। उनका भाइ निरक पौडेल 'रोजी'का निर्देशक हुन्। तर, निकिताले 'रोजी'को प्रदर्शन मिति आफूले तय नगरेको बताएकी छिन्। पहिलोपोस्टसँग उनले भनिन्, 'मैले फिल्मको रिलिज डेट फाइनल गरेको होइन। म फिल्मको निर्माता होइन। भाइको फिल्म हो, पुजाले निरक र मणिरामसँग कुरा गर्नुपर्थ्यो। त्यस्तो केही मिलाउनु पर्ने भए म मध्यस्तकर्ता भएर रोजीको टिमसँग कुरा गर्थें। कुरा गर्ने वातावण मिलाइदिन्थेंँ।'

'तर, पुजाले मलाई केही भनिनन्। उनले यो सब मेरो योजना भनेर लेखेकी छिन् तर यो मेरो योजना होइन। मलाई सोधेको भए हुन्थ्यो प्रदीपसँग डर लागेको भए। प्रदीप र निरकसँग म कुरा गर्थें,' उनले थपिन्, 'पुजाले एकचोटी कल या मेसेज पठाको भए हुन्थ्यो। मलाई आरोप लगाएर केही फाइदा छैन।'

पुजाले भने छ महिना अघि नै फिल्मको प्रदर्शन मिति तय गरेको दावी गरेकी छिन्।

'रोजी'मा अभिनेता प्रदीप खड्काको मुख्य अभिनय छ। फिल्म 'प्रेमगीत'बाट पुजा र प्रदीपको सम्बन्ध चिसिएको थियो। विवादका कारण उनी दुईको चिसिएको सम्बन्ध पनि छ। त्यसैमाथि सुदर्शन र निरकको फिल्म यसअघि पनि जुधेको थियो। निरकले बनाएको फिल्म 'कुसुमे रुमाल २' सँग सुदर्शनले 'मेरो एउटा साथी छ' जुधाउँदा फिल्मले खासै ब्यापार गरेन। अब निरकले यो प्रकृया दोहोराउन खोजेको देखिन्छ।

दुई फिल्म एकै समयमा प्रदर्शनमा आउँदा दुवैलाई प्रभाव पारेको उदाहण फिल्म क्षेत्रमा प्रशस्तै छ। तर, मिलेर जाने कुरामा भन्दा पनि झगडा नै गर्न व्यस्त देखिन्छन् कलाकार अनि निर्माताहरु। 'रोजी' र 'रामकहानी' टिमबीच प्रदर्शन मितिलाई लिएर अझै सम्झौता भएको छैन। दुवै फिल्म भदौ २२ मा प्रदर्शनमा आउनेछ।

त्यस्तै उक्त मितिमा नै बलिउड फिल्म 'पल्टन', 'ड्राइभ र 'हल्का' प्रदर्शन हुने छन्। नेपाल प्रदर्शनमा आउने बलिउड फिल्म अझै तय भएको छैन। बलिउडले पनि नेपाली फिल्मको ब्यापारमा प्रभाव पार्दै आएको देखिन्छ।

'रामकहानी' र 'रोजी' निर्मातामा मात्र यो समस्या होइन। दीपाश्री निरौला निर्देशित 'छक्का पञ्जा ३' र अशोक शर्माको फिल्म 'जय भोले'को पनि प्रदर्शन मितिमा भिडन्त भइरहेको छ। निर्माण पक्ष मिलेर जाने भन्दा पनि फिल्म जुधाउने पक्षमा देखिन्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell