PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रमोसन, घुस र पब्लिसिटी : 'फेक इन्काउन्टर'को युपी मोडल



प्रमोसन, घुस र पब्लिसिटी : 'फेक इन्काउन्टर'को युपी मोडल

'केही चिन्ता मान्नुपर्दैन। त्यो मान्छेको आइडी बैँक लुटिएको ठाउँमा राखिदिउँला। उसलाई दोषी देखाइदिउँला। अनि इन्काउन्टर भनी उसलाई गोली हानी उठाइदिउँला। मेरो एरियामा यसो गर्नलाई ५-६ लाख रुपैयाँ लाग्छ। अरुको एरियामा हुने हो भने मैले अरुसित कुरा गर्नुपर्ने हुन्छ। २ लाख रुपैयाँ थप लाग्नेछ। त्यो भन्दा बढी पर्दैन।'
 
सब इन्सपेक्टर सर्वेश कुमारले आफ्नो व्यापारका प्रतिद्वन्द्वीलाई ठीक पार्ने उपाय सोध्दा यस्तो बताएका थिए। 

बाँच्ने सम्भावना कतिको हुन्छ त?

‘पटक्कै हुन्न,’ कुमारले भने, ‘मेरो टार्गेटमा परेपछि बाँच्ने कुनै सम्भावना हुन्न। खुला ठाउँमा गोली हान्दा बाँच्ने कुनै सम्भावना हुन्न।‘

नेपालको सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा घुस खाएर गोली हान्ने कुरा सब इन्सपेक्टरले जसलाई भनिरहेका थिए, ती वास्तवमा अन्डरकभर पत्रकार थिए। योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि राज्यमा फेक इन्काउन्टरका घटना बढ्दै गर्दा इन्डिया टुडेले गरेको अन्डरकभर अपरेसनमा यस्तो खुलासा भएपछि प्रहरी अप्ठेरोमा पर्‍यो। तीन जना पुलिस हिजोमात्रै निलम्बित गरिए। 

अपराधीलाई कानुनको हातमा बुझाउनु भन्दा कानुनलाई नै आफ्नो हातमा लिई सिध्याइदिने काम हुँदै जाँदा अहिले राज्यमा प्रमोसन, घुस र पब्लिसिटीका लागि फेक इन्काउन्टर गर्ने प्रवृत्ति त्यहाँ मौलाएको छ। इन्डिया टुडेको अनुसन्धानले एक वर्षमा ६० भन्दा बढीको इन्काउन्टरमा ज्यान गएको देखाएको छ। 

मार्च २०१७ यता १५ सय वटा इन्काउन्टर भएका छन् त्यसमधये झण्डै ४०० जना घाइते भएका छन्। 

घुस र प्रमोसनका लागि निर्दोष नागरिकहरुलाई झुटो केसमा फँसाउने र मुठभेडको नाम दिई गोली हानी मार्ने प्रवृत्ति बढेको अनुसन्धानले देखाएको छ। 

विरोध गर्नेलाई धम्की

फेक इन्काउन्टरको विरोध गर्नेलाई प्रहरीले धम्की पनि दिने गरेको छ। रिहाइ मञ्चका प्रमुख राजीव यादवले कन्धरपुर पुलिस स्टेसनका प्रमुखले आफूलाई ज्यानको धम्की दिइएको बारे पत्रकार सम्मेलन गरेर अडियो सार्वजनिक गरेका थिए। उनले बलिउड फिल्मका दुई पात्रको उदाहरण दिँदै सिंघम र चुलबुल पाण्डेको नक्कल गर्न खोज्ने प्रहरी अधिकारीहरुले कानुन हातमा लिइरहेको आरोप लगाएका थिए। 

‘ठोकिदिन्छौँ’

प्रहरीलाई इन्काउन्टरका लागि बढावा प्रदेशकै मुख्यमन्त्री आदित्यनाथले दिएका हुन्। उनले टेलिभिजन अन्तर्वार्तामा सार्वजनिक रुपमै भनेका थिए, ‘अगर अपराध करेँगेँ तो ठोक दिए जाएँगे।‘

नभन्दै दिनमा चार जनाको दरले ठोक्ने काम हुन थाले। 

इन्काउन्टरका सत्य

द वायरले उत्तर प्रदेशमा कथित इन्काउन्टरमा मारिएका परिवारहरुसँग कुराकानी गरी एउटा रिपोर्ट तयार पारेको छ, जसमा इन्काउन्टरको प्रहरी सत्यलाई तथ्यले काटेको देखिन्छ। केही प्रतिनिधि घटना

घटना एक : मुजफ्फरनगर जेलबाट ३३ वर्षीय फुरकान अचानक छुट्छन्। एक हप्तापछि पुलिस गाउँमा आएर पैसा माग्न आउँछ। पैसा दिने शर्तमा रिहा भएको जस्तो कुरा देखिन्छ। दुई हप्तापछि इन्काउन्टरमा उनको मृत्यु हुन्छ। पुलिसका अनुसार त्यसक्षेत्रमा भएका डकैतीहरुमा उनको हात थियो। तर परिवारका सदस्य सोध्छन्- ऊ त जेलमा थियो, कसरी डकैती गर्न सक्छ?  प्रहरी भने रुटिन चेकका क्रममा दुई वटा बाइक रोकिन नमानेको र रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएकोले प्रत्याक्रमण गर्दा उनी मारिएको दावी गर्छ। पोस्टमार्टम गर्दा उसको जिउका हड्डीहरु भाँचिएको देखियो। मतलब मार्नुअगाडि उनलाई बेस्कन कुटिएको थियो। 

घटना दुई : दादरीमा डिसेम्बर ९, २०१७ मा चाउमिन र समोसा ठेलामा बेच्ने असलमलाई प्रहरीले गोली हानी मार्‍यो। प्रहरीका अनुसार असलम ठूलो अपराधको योजना बनाइरहेको थियो र मुठभेडका क्रममा मारिए। उनकी गर्भवती पत्नीले भनिन्, ‘प्रहरीले आफ्नो क्षमता देखाउन हामीलाई अभियुक्त र अपराधी बनाउँछ। केही घटना भए प्रहरी हाम्रै घरमा आइपुग्छ।‘ असलमका पाँच भाइमध्ये चार जना जेलमा छन्। 

घटना तीन : अगस्त १०, २०१७ मा ४० वर्षका फलफूल व्या्पारी इक्रमको बाघपत जिल्लामा प्रहरीले गोली हानी हत्या गर्छ। प्रहरीका अनुसार उसले एउटा बाइक, ८ हजार ७ सय रुपैयाँ र एउटा सुनको सिक्री र औँठी चोरेको थियो। प्रहरीले रोक्न खोज्दा नमानी गोली चलाएपछि प्रहरीले प्रतिकारका क्रममा गोली चलाएको थियो। प्रहरीले उसित ३२ बोरको एउटा पेस्तोल र सात वटा काट्रिज रहेको दावी गरेको थियो। 
तर इक्रमकी पत्नी हनिफा भन्छन्, बाइक चलाउन त आउँदैन, कसरी बाइक चलायो उसले? लाश पाएपछि थाहा भयो, इक्रमको शरीरमा गोली मात्र थिएन, हड्डी भाँचिएका थिए, टाउकोको पछाडि ठूलो चोट थियो।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell