PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'मैदानभित्र जित्यो नेपाल, रोकिएला मैदानबाहिरको हार?'



गोविन्दराज नेपाल

'मैदानभित्र जित्यो नेपाल, रोकिएला मैदानबाहिरको हार?'

  • टिप्पणी-

अन्तर्राष्ट्रिय क्रिकेटमा २२ वर्षे तन्नेरी रुपमा रहेको नेपाली क्रिकेटले पहिलोपटक ओडिआई सिरिज खेलेर फर्किएको छ।

गत मार्चमा पहिलोपटक ओडिआई मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग दुई खेलको ओडिआई सिरिज खेल्यो। पहिलो खेल हारे पनि दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हासिल गर्दै नेपालले सिरिज बराबरी गर्‍यो।

पहिलो ओडिआई जितपछि पक्कै पनि नेपाली क्रिकेट टोली उत्साहित छ। दर्शक समर्थक र सरोकारवाला निकाय पनि हौसिएका छन्।

मैदानभित्र नेपालले उत्कृष्ट प्रदर्शन गरिरहँदा सारा नेपाली एकजुट भएर समर्थन गर्छन्। १२औँ खेलाडीको भूमिकामा रहने नेपाली दर्शकको साथ क्रिकेट टिमलाई जहाँ गए पनि छाड्दैन।

मैदानभित्र हार/जित जस्तो नतिजा पनि आउन सक्छ तर मैदानबाहिर नेपाली क्रिकेट हारिरहेको छ। भौतिक पूर्वाधार सधैँ नेपालको लागि कमजोरी बनिरहेको छ। मुख्यतः नेपाली क्रिकेटको गभर्निङ बडी अभिभावक नै छैन विगत दुई वर्षयता। र नेपाल यही समयमा ठूलो-ठूलो सफलता हात पारिरहेको छ।

क्यान छैन। पूर्वाधार भएर पनि त्यसको सही समयमा प्रयोग भएको छैन। एउटा मैदान तयार पार्न दशकभन्दा बढी लाग्छ अनि त्यसमा पनि विभिन्न पक्षले भाँजो हान्ने काम गर्छन्। खेलाडीहरू आफूले सक्दो दिएर खेलिरहेका छन् तर उनीहरूको मासिक तलब-भत्ता छैन। नेपाली टोलीको प्रायोजक छैन। क्यान निलम्बन भएको अवस्थामा नेपालले हरेक काम गर्न आइसीसीको मुख ताक्नु पर्ने अवस्था छ।

यसैलै होला एकपटक प्रशिक्षक जगत टमाटाले भनेका थिए, 'आइसीसीको अनुमति बिना नेपाली क्रिकेटको सिन्को पनि भाँचिन्न।'

यस्ता विभिन्न समस्याका बावजुद पनि नेपालले टी-२० विश्वकप खेल्यो। एकदिवसीय विश्वकप छनोट खेल्यो। पहिलोपटक ओडिआई मान्यता पायो। पहिलो ओडिआई सिरिज खेल्यो। ओडिआईमा पहिलो जित हात पार्‍यो। नेपालले इन्टरकन्टिनेन्ल कप खेल्ने अवसर पनि पाइकसेको छ। यसैबीच नेपालले यही अगष्टको अन्तिममा एसिया कप क्रिकेटको छनोट खेल्दैछ। यदि ६ टोली सम्मिलित उक्त छनोट प्रतियोगिता जित्न सकेमा नेपाल विश्व क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग एसिया कपमा भिड्न पाउँनेछ। प्रशिक्षक टमाटाले सबैको सपना भारत र पाकिस्तानसँग खेल्ने बताएका छन्।

नेपालले आगामी चार वर्षका लागि ओडिआई मान्यता पाइसकेको छ। लगभग पाँच महिना बितिसक्दा नेपालले एउटा सिरिज खेल्यो। नेपालले अझै अन्य देशसँग द्धिपक्षीय, त्रिकोणात्मक सिरिज खेल्न सक्छ। अन्य देशलाई नेपाल बोलाएर खेल्न सक्छ। जसले गर्दा नेपाली टोलीलाई अझ उत्कृष्ट बनाउन, खेलाडीको प्रतिभालाई तिखार्न मद्दत पुग्छ।

तर यी सबै काम गर्नका लागि वर्तमान समयमा मुख्य रुपमा यी ३ कुरा हुनु जरुरी छ।

 

क्यान निलम्बन फुकुवा

सरकारको हस्तक्षेप भएको र स्वतन्त्र निर्वाचन नभएको भन्दै २०७३ वैशाखमा आइसीसीले क्यानलाई निलम्बन गर्‍यो। त्यसयता बाग्मतीमा धेरै पानी बगिसकेको छ। तर, क्यानको विवाद कायमै छ। आइसीसीले नेपालको विभिन्न सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल गर्दा पनि समस्या समाधान हुन सकेन। सबै पक्ष मेरो गोरुको बाह्रै टक्का भनेर बसेका छन्। जसले गर्दा नेपाली क्रिकेटमा धेरै गाह्रो अवस्था सिर्जना गरेको छ। क्यान निलम्बन हुँदा नेपाली टोलीले स्पोन्सर पाउन सकेको छैन। विदेशमा खेल्न जाँदा, विदेशमा प्रशिक्षण गर्न जाँदा, घरमै पनि तयारी गर्दा आइसीसीको मुख ताक्नुपरेको छ। यस्तै खेलाडी छनोटमा पनि आइसीसीकै संलग्नता रहनेछ।

अब क्यानको लिनम्बन चाँडोभन्दा चाँडो फुकुवा गर्नमा सरोकारवाला निकायले जोड दिनुपर्छ। सबैले आवश्यक लचकता अपनाउनुपर्छ। आफ्नो हठ त्याग्नुपर्छ।

क्यान निलम्बन फुकुवा भएमा नेपाली क्रिकेटलाई मैदान बाहिरबाट अगाडि बढाउन कुनै गाह्रो हुनेछैन। क्यान क्रिकेट बोर्ड भएपछि विभिन्न स्पोन्सरहरुले साथ दिन्छन्। नेपाललाई तयारी गर्न र विदेशमा गएर तयारी गर्न आइसीसीको भर पर्नुपर्दैन। आइसीसीबाट फण्ड पनि बिस्तारै बढ्न थाल्छ। विदेशी टिमहरूलाई यहाँ बोलाएर द्धिपक्षीय, त्रिपक्षीय क्रिकेट सिरिजहरू आयोजना गर्न सकिन्छ।

नेदरल्याण्ड्ससँग ओडिआई खेलेर फर्केपछि प्रशिक्षक जगत टमाटाले भनेका थिए -नेदरल्याण्ड्सको म्यानेजरले नेपालमा आएर खेल्न चाहेका छन् तर हामीले केही गर्न सक्दैनौँ आइसीसीको भर पर्नुपर्छ। क्यान निलम्बन फुकुवा भए यस्ता समस्या नेपालले आफैँ समाधान गर्न सक्छ।

खेलाडीहरूलाई मासिक तलब भत्ताको व्यवस्था हुनेछ। खेलाडीलाई विभिन्न क्याटेगोरीमा छुट्ट्याएर सेन्ट्रल कन्ट्रयाक्टमा राख्न सकिनेछ।

 

पूर्वाधार व्यवस्थापन

नेपालले विदेशमा गएर खेल्दा उत्कृष्ट नतिजा हात पार्दा सोधिने एउटा प्रश्न हो नेपालमा कति वटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ। उत्तर छैन। कीर्तिपुरको टीयु ग्राउण्ड'बाहेक नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने अर्को मैदान छैन। एक दशकभन्दा बढी भइसक्यो मुलपानी क्रिकेट मैदानले अझै पूर्णता पाउन सकेको छैन। टीयु मैदानको स्तरोन्नति र मुलपानी मैदान काम तुरुन्त गर्नुपर्छ। मुलपानी मैदान निर्माणमा रहेको विवाद र समस्या तुरुन्त सुल्झाउनुपर्छ।

यस्तै देश संघीयतामा गएपछि अब हरेक प्रदेशमा कम्तीमा पनि एक-एक क्रिकेट मैदान बन्नुपर्छ। कम्तीमा पनि खेलाडीले तयारी गर्ने र खेल्ने स्थान हुनुपर्छ। खेलाडीहरूले तयारी गर्ने र खेल्ने मैदान छैन भन्न नपर्ने स्थिति बनाउनुपर्छ।

 

टिम व्यवस्थापन

नेपालको राष्ट्रिय टिममा अहिले यू-१९ राष्ट्रिय टिमकै मात्र ४ खेलाडी छन्। ओडिआई खेलिसकेको नेपाली राष्ट्रिय टोलीमा एकमात्र प्रशिक्षक छन्।

नेपालको एउटा मात्र टिम छ। ब्याकअप टिम छैन। 'ए' टिम छैन।

अब नेपालको राष्ट्रिय टोलीका लागि करिब २० खेलाडीलाई क्याम्पमा राख्नुपर्छ। त्यसबाहेक पहिलो राष्ट्रिय टिममा खेलिसकेका र यू-१९ टिमबाट खेलिसकेका (जो राष्ट्रिय टिमको क्याम्पमा पर्दैनन्) लाई समेटेर नेपाल 'ए' टिम निर्माण गर्नुपर्छ। जसले नेपालको सिनियर टिमलाई बलियो बनाउने काम गर्छ। त्यसबाहेक यू-२३ टिमा पनि बनाउन सकिन्छ। जसले गर्दा सबै क्रिकेट खेल्न चाहने र नेपाललाई प्रतिनिधित्व गर्न चाहने सबै उमेर समूहका खेलाडी कम्तीमा पनि एउटा टिमबाट क्रिकेट खेल्न पाउँछन्।

यस्तै, राष्ट्रिय टिममा खेल्ने बाहेकबाट छुट्टै यू-१९ राष्ट्रिय टिम बनाउनुपर्छ।

यदि क्यान अथवा क्रिकेट बोर्ड गठन भयो भने त्यसले विभिन्न टिमहरु बनाएर सेन्ट्रल कन्ट्रयाक्ट दिन सक्छ। उमेर समूहको टिमहरू निर्माण गर्नुपर्छ।

यसबाहेक नेपालको व्यवस्थापनमा पनि सुधार गर्नु जरुरी छ। अहिले नेपाली टोलीमा एकमात्र प्रशिक्षक छन्। ओडिआई क्रिकेट खेल्ने भएपछि कम्तीमा पनि अब नेपाली टोलीमा सहायक प्रशिक्षक, बलिङ प्रशिक्षक, ब्याटिङ प्रशिक्षक र फिल्डिङ प्रशिक्षक एक-एक जना हुनु जरुरी छ। साथै छुट्टै टेक्निकल एलानिष्ट पनि हुनुपर्छ। अहिले नेपाली टिमको व्यवस्थापन र टेक्निकल दुबै पक्ष रमन शिवाकोटीले हेरिरहेका छन्।

सबै विदेशबाट क्षमतावान प्रशिक्षक झिकाउनुपर्छ नभए नेपालमै भएका प्रशिक्षकहरुमध्ये उत्कृष्ट छानेर राष्ट्रिय टिममा राख्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell