PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो ‘प्राविधिक त्रुटि’ जसका कारण 'चक्कर' हलमा टिकेन



यस्तो ‘प्राविधिक त्रुटि’ जसका कारण 'चक्कर' हलमा टिकेन

साउन ४ गते शुक्रबार, फिल्म चक्कर प्रदर्शनमा आयो। समीक्षामा फिल्मले तारिफ नै बटुलेको थियो। विशेषगरी थोरै लगानीमा बनेको चक्करमा प्रयोग गरिएको नयाँ शैली, जीवन्त लाग्ने कथा र स्वतन्त्र कथा वाचनको तारिफ भएको थियो। 

फिल्म निर्देशक अनुश्क रौनियारले आफ्नो फिल्मले 'व्यवसायिक स्वार्थ' नबोकेको र आफूहरुले चाहे जसरी कथा देखाएको भनेका थिए। ट्रेलर रिलिज कार्यक्रमका दिन कलाकार रहेका अर्पण थापाले पनि- 'यो अन्डर डग फिल्म हो। पैसा नभई बन्दैन। भए पनि बनाउन गाह्रो हुन्छ। त्यहसैले पैसाभन्दा बढी समय र क्रियटिभिटी लगानी गरेका छौं', भनेका थिए।

तर, आखिरमा फिल्म पनि बेच्न बनाइएको प्रोडक्ट न हो। बिहीबार चलचित्र पत्रकार संघले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा चक्कर निर्माता रविन आचार्यले फिल्मले व्यवसायिक रुपमा राम्रो प्रस्तुति दिन नसकेको विषय उठाए। 

फिल्म सार्वजनिक भएको २ दिनभन्दा बढी चल्न सकेन। दर्शक नहुनुले सो पाएन। रविन भन्छन्,'हामीले सीमित दर्शक टार्गेट गरेका थियौं। उहाँहरुसम्म पनि फिल्म पुगेन।'

फिल्मका लागि सो नपाउनुका पछाडि प्राविधिक त्रुटि रहेको निर्माता रविन आचार्यको दावी छ। उनका अनुसार वितरक कम्पनी डिजिटल सिनेमा नेट्वर्कमार्फत गलत फाइल हलमा पुगेको थियो जसका कारण दर्शकमा गलत इम्प्रेसन पर्‍यो। भने, 'न मेरो फिल्म चल्यो। न मैले क्षतिपूर्ति पाएँ।' 

भएको के हो? 

फिल्म चक्करको पहिलो दिनको सो पर्दामा पूरै गुलाफी रङको देखिएको हो। हार्ड डिस्कबाट फाइल इन्कोडिङ गर्ने क्रममा कलर कम्प्रेसनको प्रक्रिया दोहोरिनुले त्यस्तो भएको हो। पर्दामा फिल्म ठीक नदेखिएको थाहा भएपछि वितरक डिसिएनले त्यस दिनका लागि प्रोजेक्टरमार्फत शो निरन्तर गरेको थियो। दोस्रो दिनदेखिका लागि रि- इन्कोडिङ गर्ने सर्तमा। तर, दोस्रो दिनदेखि कुमारी हलमा बाहेक अन्यमा शो नै थिएन। 

'पहिलो दिननै गलत इम्प्रेसन परेपछि भोलिपल्टबाट शो पाउन गाह्रै थियो नि', निर्माता आचार्य भन्छन्, 'अरु फिल्म नभएको भए राहत हुन्थ्यो होला तर फिल्मको बाढी लागेको बेलामा हलहरुलाई के मतलब।' 

भएको त्रुटि बारे डिसिएनका टेक्निकल मास्टरिङ हेड गम्भिर गुरुङ भन्छन्,'त्रुटि भएको हो। क्वालिटी बिग्रियो तर डिस्ट्रोय भएको होइन। र त्यसलाई सच्याउने प्रयास पनि भयो।' 

उनले आफ्नोतर्फबाट भएको गल्ती स्विकार्दै भने, 'हामीले पुन: इन्कोडिङ र प्याकेजिङ गर्यौं। तर, केही ढिला भयो।' उनका अनुसार हार्ड डिक्स ल्याउने पुर्‍याउने समय अवधिमा कम्प्रमाइज गर्नुले समस्या भएको हो।

रिइन्कोड गरिएको फाइल काठमाडौंका हलहरुमा पुग्दा शो उत्रिसकेको र हेटौंडा, झापा लगायत ठाउँमा पुग्न ढिला हुँदा शो टाइम नै पर धकेल्न परेको फिल्म युनिटको दाबी छ। 

चक्करसँगै पण्डित बाजेको लौरी र भैरे प्रदर्शनमा थियो। तुलनात्मक रुपमा चक्करका लागि दर्शक फ्लो राम्रै देखेका उनले केही आशासहित चलचित्र क्षेत्र सम्बन्धित संघ संस्थाहरुमा पनि यस बारे जानकारी नगराएका होइनन्।

चलचित्र विकास बोर्डका अध्यक्ष नीकिता पौडेल, बक्साअफिस विज्ञ मनिष पण्डित, चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्मकर्मीहरुलाई 'केही समस्या परे निवेदन पेश गर्नु उचित सम्बोधन हुन्छ' भनिरहँदा उनले आफ्नो पीडा व्यणक्त गरेका हुन्। आफूले फोनमार्फत् जानकारी दिंदा र निवेदन विकास बोर्डमार्फत् निवेदन दिंदा पनि आफूलाई सहयोग नभएको जानकारी दिए। 

भने,'निवेदन सबै समस्याको हल होइन। मैले निर्माता संघ हुँदै बोर्डसम्म लिखित निवेदन पेश गरेको हुँ। तर केही भएन।' 

यसबारे चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय भन्छन्, 'यो केसमा त हल संचालकलाई क्षतिपूर्ति चाहिन्छ। शो नहुनाले आएका दर्शक फर्किए। त्यो समय अन्य फिल्म लगाएको भए हामीलाई फाइदा हुन्थ्यो।' उनले फिल्म युनिटले प्राविधिक समस्या भएको खण्डमा वितरक र फिल्म पक्षबीच के गर्ने? भन्ने बारे सम्झौता हुनुपर्ने तर्क राखे। जुन सम्झौता डिसिएन र चक्कर युनिटबीच भएको थिएन। 

भने, 'तपाईंले आफ्नो गल्ति छैन भने डिसिएनसँग क्षतिपूर्ति माग्ने हो। यसमा चलचित्र वा निर्माता संघ वा चलचित्र विकास बोर्ड जिम्मेवार हुँदैन। अब तपाईंहरुको सम्झौतामा आइलाग्न सक्ने प्राविधिक त्रुटि बारे केही कुरा स्पष्ट छैन भने त्यो निर्माताको गल्ती हो।' 

क्षतिपूर्तिका लागि कानुनी रुपमा अघि बढ्नका लागि फिल्म निर्माण युनिट र वितरकबीच 'देखिएको समस्या सम्बन्धी' कुनै पनि सम्झौता भएको छैन। 'तर क्षतिपूर्ति भन्दा पनि आइपर्न सक्ने यस्तो प्राविधिका त्रुटि बारे फिल्मकर्मीदेखि दर्शक सबै सचेत रहुन् भन्ने हाम्रो इच्छा हो', आचार्य भन्छन्। 

लाखौं लगानी गरेर तयार गरेको कन्टेन्ट कुनै एउटा पक्षको सानो लापरवाहीका कारण बिग्रिन सक्छ भन्ने विषयको उदाहरण हो चक्कर।
'फिल्म नचल्नुका यस्ता कारणहरु बारे सबै सचेत हुनुपर्छ। फिल्मले राम्रो समीक्षा पायो त्यसमा खुशी हुने ठाउँ छ।' 

आजभोलि नेपालमा प्रदर्शन भएका फिल्महरु विदेशमा प्रदर्शन गर्ने ट्रेन्ड बल्दो छ। केही निर्माता निर्देशकले विदेशमा फिल्म प्रदर्शन गर्दा हुने व्यवसायिक फाइदाहरु बारे सार्वजनिक रुपमा बोल्ने गरेका पनि छन्। तर चक्करको हकमा विदेशमा सो गरेर नेपालमा भएको घाटा निवारण गर्न कति सम्भव छ? 

'नेपालमा दर्शकमाझ एउटा हाइप बनाएको फिल्मले हो विदेशमा पनि बजार पाउने। हाम्रो फिल्मले हाइट पाउनु परको कुरा टार्गेटेड दर्शकमा समेत पुग्न सकेन।' 

फिल्म युनिटले नयाँ फाइल तयार भएसँगै आइतबारबाट फिल्म चल्ने अपेक्षा गरेको थियो। 'समीक्षात्मक रुपमा राम्रो फिल्महरुले बिस्तारै पिक लिन्छन्। जात्रा, रोमियो एण्ड मुना त्यसका उदाहरण हुन्। चक्कर पनि त्यस्तै हुन्छ जस्तोस लागेको थियो। तर हलले पहिलो दिन दर्शक फर्किएपछि कहाँ दोस्रो दिनलाई पर्खिन्थे र?' 

मोफसलका हलहरुले त झन् बिग्रेको फाइल आएको भन्दै पहिलो दिन नै सो राखेनन्। 

फिल्मको कुल बजेट २० लाख मात्र भएको जनाउने फिल्म युनिटले प्रतिक्रिया राम्रो पाउँदा पाउँदै पनि लगानी उठाउन सकेन। आवश्यकता अनुसार कन्टेन्ट टेस्ट गरिएको थियो। तर समस्या सिर्जना भएको भने फस्ट डे फस्ट सोको दोस्रो हाफमा मात्र थाहा भयो।

यसअघि फिल्म 'देश खोज्दै जाँदा' पनि प्राविधिक त्रुटिका कारण समस्यामा परेको थियो। रेन्डरिङ अमेरिकामा गरेर ल्याइएको फिल्म ४ के रिजोलुसनमा तयार भयो। तर नेपालका अधिकांश हलका पर्दाहरुमा २ के रिजोलुसनका फिल्महरु देखाइन्छम जसले गर्दा फिल्म प्रदर्शनमा आउँदा भिडियो क्वालिटी घट्यो। निर्देशक प्रकाश आङ्देम्बे आफूले देखाउन चाहेको फ्रेम, रङ र साउन्ड नहुँदा चित्त बुझाउन गाह्रो भएको बताउँछन्। भन्छन्,'फिल्म भनेको हाम्रो क्रियशन। आफ्नो कलामा सोचेको कुरा नपुग्दा पक्कै राम्रो लाग्दैन।' उनले नेपालमा पुन: रेन्डरिङ गर्न खोजे पनि क्वालिटी घट्ने भएकाले नगरेका हुन्। 

'प्राविधिक तालमेल नमिल्दा व्यवसायिक पक्षमा पनि असर गर्छ। आइ प्लिजिङ भए न दर्शकमा सकारात्मक प्रभाव पर्ने हो।' उनको फिल्म ‘देश खोज्दै जाँदा’ले पनि एक साता पूरा कुनै पनि हलमा सो पाएको थिएन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell