PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गाउँमा घर बनाउने कामदार खोज्नु ‘काठमाडौँमा डेरा खोजेजस्तै’



सागर बुढाथोकी

गाउँमा घर बनाउने कामदार खोज्नु ‘काठमाडौँमा डेरा खोजेजस्तै’

ओखलढुङ्गाका रमेश कुमार श्रेष्ठसामु गाउँलेहरूको सधैँ गुनासो हुन्छ,  'वर्षा लागिसक्यो घर बनाइदेन।’

श्रेष्ठ सबैलाई उस्तै जवाफ फर्काउँछन्, 'म एउटाले कति भ्याउनु? यत्रो विधि घर लडेका छन्।'

श्रेष्ठ डकर्मी हुन्। कामको व्यस्तताले आफ्नै घरसमेत पूरा गर्न सकेका छैनन् उनले। गाउँमा काम भ्याइ-नभ्याइ छ। तर, काम जानेका जनशक्ति छँदै छैनन्।  न त घर बनाउन सहयोग गर्ने लेबर छन् न त घर बनाउने मिस्त्री नै। श्रेष्ठ भन्छन्, ' काम भ्याइ-नभ्याइ छ। कमाइ राम्रै भएर के गर्नु काम जानेका मान्छे नै छैनन्।'

ओखलढुङ्गामा २१ हजार १ सय २२ घर पूर्णरुपमा क्षति भएका छन् भूकम्पमा परी। ती घर बनाउन काम जानेका मिस्त्री र लेबर भने यहाँ छैनन्। अधिकांश काम गर्ने उमेरका युवा पलायन भएकाले घर बनाउने कामदार मात्र हैन उब्जनी हुने खेतबारी समेत बाँझै छ।

श्रेष्ठका अनुसार दिनभर खाजा, खाना खाएर मिस्त्रीले १५ सय पाउँछन्। मिस्त्रीलाई सहयोग गर्ने लेबरले एक हजार रुपैयाँ पाउँछन्। पैसा राम्रै कमाइ हुने भए पनि कामदार छैनन्।

ओखलढुङ्गामा जस्तै खोटाङमा पनि कामदारकै अभाव छ। खोटाङ रुपाकोटकी पार्वती राई कामदारको अभावले घर बनाउन कष्ट भएको बताउँछिन्। काम अगाडि नै सबै पैसा दिन्छु भन्दा समेत काम गर्ने मान्छे नपाएको उनको गुनासो छ। भन्छिन्, 'काम फालाफाल छ, काम गर्ने मान्छे छैनन्।'

खोटाङमा ८ हजार ४ सय ४३ घर पुनर्निर्माण गर्नेछ। ओखलढुङ्गामा झैँ घर बनाउने दक्ष कामदारको अभाव भोगिरहेको छ छिमेकी जिल्ला खोटाङले पनि।

सोलुखुम्बु तिङ्लाका ललितकुमार कार्की पनि उस्तै समस्या सुनाउँछन्। कामदारको अभाव भएको कारण घर बनाउन नसक्ने अवस्था आएको सुनाए। कार्कीका अनुसार कामदार पाउन धेरै चहार्नु पर्छ। खाजा खान दिएर दैनिक १५ सय दिँदा पनि काम गर्ने मान्छे पाइँदैन। कार्की भन्छन्, 'गाउँमा घर बनाउने मान्छे पाउनु भनेको काठमाडौँमा कोठा पाएजस्तो। बल्लतल्ल पाइन्छ तर चित्तबुझ्दो हुन्न।'

सोलुखुम्बुमा ११ हजार ९ सय ८८ घर भूकम्पले क्षति भएका छन्। गाउँमा दक्ष कामदारको अभाव झेलिरहेका भूकम्प पीडितहरूले प्राविधिकको समेत अभाव झेलिरहेका छन्। सरकारले पर्याप्त प्राविधिक फिल्डमा नपठाउँदा  पुनर्निर्माणले गति लिन सकेको छैन।

एउटा वडामा १ इन्जिनियर, १ सब-इन्जिनियर र १ असिस्टेन्ट इन्जिनियर गरी ३ जना प्राविधिकको सेट आवश्यक पर्छ। तर, हलेसी तुवाचुङ नगरपालिकामा ११ वटा वडामा ७ जना मात्रै प्राविधिक छन् । जेठमा मात्र एक जना इन्जिनियर थपिएका छन्।

हलेसी तुवाचुङ नगरपालिकाको भूकम्प प्रभावित ३ वटा वडा ५ महिनासम्म इन्जिनियर सुनील यादवले एक्लैले हेरे। ३ वडामा गरेर भूकम्पबाट घर भत्किएका ३ सय ८८ परिवार छन् ।भौगोलिक विकटताले गर्दा सबै ठाउँमा पुग्न समस्या छ ।

त्यसैले स्थानीयले खोजेको बेला प्राविधिक भेट्दैनन्। सोही कारण घर बन्न त ढिलो हुन्छ नै सेवाग्राहीहरुले प्राविधिकबाट घर कसरी बनाउने राम्रो सल्लाह समेत पाउँदैनन्।

वडा ७ का अध्यक्ष चइन्द्र राईले प्राविधिक अभावबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जानकारी गराएको बताए। प्राविधिक आउनै ढिला भएको कारण पुनर्निर्माणले गति लिन नसकेको बताउँछन् उनी।

नगरपालिकाका मेयर इभन राई आफू निर्वाचित भएर आउँदा एकजना पनि प्राविधिक नभएको सुनाउँछन्। त्यति बेला ओखलढुङ्गाका प्राविधिकहरूले खोटाङका लागि काम गर्थे। पछिमात्र खोटाङमा पुनर्निर्माण प्राधिकरण आयो। राई भन्छन्, 'घर कस्तो बन्यो, भूकम्प प्रतिरोधी छ/छैन हेरेर प्राविधिकले सिफारिस नगर्दा दोस्रो र तेस्रो किस्ता लिन समस्या परेको छ।'

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका १ र २ मा पनि एक जना इन्जिनियरले २ वडा हेरिरहेका छन् । १ मा २ सय ४१ र २ मा १ सय ४ परिवार भूकम्पपीडित छन्। एक जना मात्र इन्जिनियर हुँदा लाभग्राहीले बोलाएको समयमा प्राविधिक पुग्न सकिरहेका छैनन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता  मनोहर घिमिरे प्रत्येक वडामा प्राविधिक पठाउने नीति लिएको बताउँछन्। केही ठाउँमा प्राविधिकले छाडेको कारण समस्या भएको उनको भनाई छ। घिमिरे भन्छन्, ‘नपुगेको ठाउँमा सरकारको नीतिअनुसार पठाउँछौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell