PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपालको पहिलो ओडिआई खेल : यी हुन् नेपाली खेलाडीले बनाएका रेकर्ड



गोविन्दराज नेपाल

नेपालको पहिलो ओडिआई खेल : यी हुन् नेपाली खेलाडीले बनाएका रेकर्ड
फोटो : आइसीसी र रमन शिवाकोटी

काठमाडौँ : नेदरल्याण्ड्ससँग खेल्दै नेपालले वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा औपचारिक डेब्यु गरेको छ र ओडिआई खेल्ने २३औँ राष्ट्र बनेको छ।

बुधवार नेदरल्याण्ड्समै भएको खेलमा नेपाल ५५ रनले पराजित भयो। नेपालका लागि पहिलो ओडिआई खेल ऐतिहासिक र निराशाजनक दुवै भयो। नेपाल जितबाट ओडिआई यात्रा सुरु गर्न चाहन्थ्यो। तर बलिङ राम्रो भएपनि ब्याटिङमा राम्रो प्रदर्शन नहुँदा नेपालले १९० रनको लक्ष्य समेत चेस गर्न सकेन र १३४ रनमा अलआउट भयो। घरेलु टोलीका बलरहरु नेपालमाथि हावी भए।

खेलमा पराजित भएपनि नेपाल र नेपाली क्रिकेट खेलाडीको लागि भने यो ऐतिहासिक खेल रह्यो। पहिलो ओडिआई भएका कारण नेपाली खेलाडीले केही न केही रेकर्ड बनाए।

यस्तो छ नेपाली खेलाडीको रेकर्ड

सोमपाल कामी : पहिलो बल फाल्ने र पहिलो विकेट लिने खेलाडी। उनले नै नेपालको लागि पहिलो रन खर्चिए भने पहिलो छक्का पनि सोमपालले नै दिए। यस्तै पहिलो वाइड र पहिलो डट बल पनि उनैले फाले।

सोमपालले खेलको तेस्रो ओभरमै नेदरल्याण्ड्सका डानिएल ब्राकका विकेट लिएका थिए।

पारस खड्का : सर्वाधिक ४ विकेट लिने खेलाडी। एकै ओभरमा २ विकेट लिने पहिलो खेलाडी समेत बनेका पारसले १० ओभरको स्पेशलमा २६ रन मात्र खर्चेर ४ विकेट लिए।

आरिफ शेख : पहिलो क्याच लिने खेलाडी। उनले पारस खड्काको बलमा नेदरल्याण्ड्सका वेस्ले बारेसीको क्याच लिए।

सन्दीप लामिछाने : ओडिआईमा बलिङ गर्ने पहिलो नेपाली स्पीनर र विकेट लिने पहिलो स्पीनर। उनले १३औँ ओभरमा स्टेफन माइवर्गलाई बोल्ड आउट गरे।

ज्ञानेन्द्र मल्ल : पहिलो रन, पहिलो चौका र पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी। अनिल शाहसँगै ओपनिङ गरेका ज्ञानेन्द्रले पहिलो रन जोड्दा पहिलो विकेटका लागि अनिल शाहसँग अर्धशतकिय साझेदारी समेत गरे। ज्ञानेन्द्रले ५६ बल खेल्दै ८ छक्काको मद्दतमा ५१ रन बनाए।

दीपेन्द्र सिंह ऐरी : छक्का प्रहार गर्ने पहिलो खेलाडी। उनले नेपाली इनिङ्सको एक मात्र छक्का प्रहार गरे। ४८ बल खेलेका दीपेन्द्रले २ चौका र १ छक्काको मद्दतमा दोस्रो सर्वाधिक रन बनाए। उनले ३४ रन जोडे।

अनिल शाह : पहिलो ओडिआईमा आउट हुने पहिलो खेलाडी। ज्ञानेन्द्रसँग ५८ रनको साझेदारी गरेपछि अनिल १३औँ ओभरमा २१ रन बनाएर आउट भएका थिए।

चार खेलाडी शुन्यमा आउट : नेपाली इनिङ्समा चार खेलाडी खाता नखोली आउट भए। मध्यक्रममा खेल्ने आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी र करण केसी कुनै रन नजोडी आउट भए। जसले गर्दा नेपाली इनिङ्स धर्मराएको थियो। नेपालको पहिलो ओडिआईमा डेब्यु गरेका ११ मध्ये ४ खेलाडीले मात्र दोहोरो अंक स्कोर गर्दा ७ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

शरद भेषावकर : नेपाली टोलीको मध्यक्रमममा ब्याटिङ गर्ने र फिनिसरको उपनाम पाएका शरदबाट नेपाली टोलीले ठूलो आशा राखेको थियो। तर फिल्डिङ गर्ने क्रममा पहिलो इनिङ्समा चोट लागेपछि उनले आफ्नो पोजिसनमा ब्याटिङ गर्न पाएनन् र ११औँ अर्थात अन्तिम नम्बरमा औपचारिकताका लागि ब्याटिङ गरे। जतिखेर नेपाल हारनजिक पुगिसकेको थियो। उनले १५ बल खेल्दै ४ रन बनाएर बउट भए।

शक्ति गौचन : सम्भवत शक्तिको लागि विदेशमा यो नै अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ। युरोप टुर जानुअघि शक्तिले अब यो नै अन्तिम विदेशी टुर हुने भन्दै सन्यास लिने घोषणा गरिसकेका छन्। र नेरदल्याण्ड्स विरुद्ध नटआउट रहने एकमात्र खेलाडी बने शक्ति दी पावर। आठौँ नम्बरमा ब्याटिङ गर्न क्रिज पुगेका शक्ति ९ रनमा नटआउट रहे। ४४ नम्बरको जर्सी लगाउने शक्तिले पहिलो ओडिआईमा ४४ बल नै खेले र नटआउट रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell