PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओली सरकारले बजेट रकमान्तर गरी आफ्नै पार्टीको युवा संगठनलाई दियो २५ लाख



पहिलोपोस्ट

ओली सरकारले बजेट रकमान्तर गरी आफ्नै पार्टीको युवा संगठनलाई दियो २५ लाख

काठमाडौं : सरकारले युवा संघ नेपाललाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। असार २४ गतेको मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर सत्तारुढ नेकपाको युवा संगठनहरुलाई पैसा दिइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचार नीति अवलम्बन गरी आर्थिक अनुशासन कायम राख्ने बताएपनि वर्तमान सरकारले नै पार्टी निकट संगठनलाई पैसा दिएको हो। युवा संघसहित सत्तारुढ दलका युवा र विद्यार्थी संगठनले व्यवस्थापन गरेको वर्ल्ड फेडेरेसन अफ डेमोक्रेटिक युथ (डब्लुएफडिवाई)को जनरल काउन्सिल बैठकका लागि सरकारले पैसा दिएको युवा संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए। उनले आफ्नो संगठन चलाउन सरकारसँग पैसा नमागिएको र सरकारले त्यसरी पैसा पनि दिन नमिल्ने जिकिर।

'हामी सुशासन र मितव्ययिताको पक्षमा छौँ। सरकारबाट पैसा लिएर संगठन चलाउने भन्ने हुन सक्दैन। त्यो हुनु पनि हुँदैन,' उनले भने, 'अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएकाले त्यसको व्यवस्थापनका लागि सरकारसँग आग्रह गरेका थियौं। हाम्रो कूल ४३ लाख रुपैयाँ खर्च भएकोमा सरकारले २५ लाख रुपैयाँ दिएको हो।'

पौडेलले तीन दिनसम्म चलेको सम्मेलनमा ५० देशका प्रतिनिधि काठमाडौंमा उपस्थित भएका र त्यसको व्यवस्थापनमा लाग्ने खर्चका लागि सरकारसँग सहयोग माग गरेको उल्लेख गरे।

'हामीले व्यवस्थापन गरेका हौं। कोही न कोहीले सरकारसँग माग्नै पर्थ्यो, हामी नै व्यवस्थापक भएपछि हाम्रै लेटरप्याड प्रयोग गरेर पैसा मागेका हौँ,' उनले भने, 'खर्चको एक एक हिसाब दिन तयार छौँ। केपी ओली सरकारले युवा संघ चलाउन सहयोग दिएको होइन।'

डब्लुएफडिवाईका यस्ता कार्यक्रम गर्न विगतमा सुशील कोइराला नेतृत्वको सरकारले पनि आर्थिक सहयोग उपलब्ध गराएको भन्दै पौडेलले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्दा लागेको खर्चको केही रकम सरकारले उपलब्ध गराइदिएको बताए। संघले युवा तथा खेलकुद मन्त्रालयमार्फत २५ लाख रुपैयाँ पाएको थियो। मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले यो रकम उपलब्ध गराउने निर्णय गरेको हो। खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कार्यक्रम गर्न पैसा माग भएको र आफूहरुसँग पैसा नभएकाले मन्त्रिपरिषदबाट निर्णय गराएर दिइएको जानकारी दिए।

'कार्यक्रम गर्न उनीहरुले स्रोत खोजेका थिए, हामीसँग पनि प्रस्ताव आयो। मन्त्रालयसँग पैसा नभएकाले मन्त्रिपरिषदले निर्णय गरेर दिइएको हो,' मन्त्री विश्वकर्माले भने। मन्त्रिपरिषदबाट निर्णय भएपछि अर्थ मन्त्रालयले असार अन्तिममा खेलकुद मन्त्रालयलाई युवा संघलाई उपलब्ध गराउन २५ लाख रुपैयाँ रकमान्तर निकासा दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell