PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाँच वर्षदेखिको पर्खाइ : होला त यस वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण



विधुर ढकाल

पाँच वर्षदेखिको पर्खाइ : होला त यस वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

काठमाडौं : नेपालले उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमण गराउने प्रयास थालेको पाँच वर्ष बितिसकेको छ। यसबीच नेपालले पटक-पटक चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण गराउने भन्दै तयारी गरिरहेको छ। यसबीच ६ वटा सरकार फेरिए तर चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी भने पुग्न सकेको छैन। 

सन् २०१३ मार्चमा चिनियाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका सीले यसबीच चिनियाँ राष्ट्र दक्षिण एसियाका भुटान र नेपाल बाहेकका सबै देशको भ्रमण गरेका छन्। नेपालले पटक-पटक भ्रमणको निम्तो दिए पनि उनको भ्रमण हुन सकेको छैन। 

२०६८ पुस ३० गते तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिआबाओले केही घण्टाका लागि नेपाल भ्रमण गरे। त्यसयता उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन।

यसबीच गठन भएको चार वटा सरकारका प्रधानमन्त्रीहरुले चीनको भ्रमण गरेका छन्। चीनबाट चिनियाँ राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङले नेपाल भ्रमण गरेका छन्। २०६८ सालमा तत्कालीन प्रधानमन्त्री वेन जिआवाओको नेपाल भ्रमण पछि उत्तरी छिमेकी चीनबाट नेपालमा भएको त्यो नै उच्चस्तरीय भ्रमण हो। 

सन् २०१३ मा राष्ट्रपति निर्वाचित भएसँगै नेपालले उनलाई नेपाल भ्रमण गराउने प्रयास गरेको थियो। 

२०७१ को भ्रमण तालिकामा अटेन नेपाल

२०७१ सालमा नै तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले चिनियाँ समकक्षी सीलाई नेपाल भ्रमणको निम्तो दिएको थियो। त्यतिबेला वेइजिङस्थित नेपाली दुतावासले नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्षगाँठको अवसरमा सीलाई नेपाल भ्रमण गराउने तयारीसमेत गरेको थियो। 

तर त्यस वर्ष सी दक्षिण एसियाका अन्य मुलुकको भ्रमणमा निस्किए तर भ्रमण गर्ने देशको सूचीमा भने नेपाल अटाएन। 

त्यतिबेला चीनले बेइजिङस्थित नेपाली दुतावासका अधिकारीहरुलाई बोलाएर नेपाल भ्रमणमा सूचीमा नरहेको भन्दै ‘निकट भविष्य’मा नेपालको भ्रमण हुने भन्दै जानकारी गराएको थियो। त्यस यताको ‘निकट भविष्य’ अझै आइपुग्न सकेको छैन। 

२०७१ सालमा राष्ट्रपति सी दक्षिण एसिया भ्रमणमा निस्किए। यो भ्रमणका क्रममा नेपाल पनि पर्ने अपेक्षा गरिएको थियो। भ्रमण अगाडि चीनको विदेशमन्त्रालयले बेइजिङमा रहेको दक्षिण एसियाका कुटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर दक्षिण एसियामा राष्ट्रपति सीको भ्रमण हुन लागेको जानकारी गराएको थियो। त्यतिबेला नेपाल पनि भ्रमण सूचीमा पर्ने अपेक्षा गरिएको थियो। 

त्यतिबेला सीले माल्दिभ्स, श्रीलंका र भारतको भ्रमण गरे। तर, नेपाल भ्रमण गरेनन्। २०१५ को मार्चको सीको भ्रमण तालिका अगाडि विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए। उनको त्यस भ्रमणले सीलाई नेपाल भ्रमण गराउने अवसरको रुपमा हेरिएको थियो तर भएन।

२०७२ मा असफल

२०७२ साल वैशाखको दोस्रो साता नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालले चिनियाँ राष्ट्रपति सीलाई भेटेरै नेपाल भ्रमणको निम्तो दिए। 

इन्डोनेसियाको जकार्तामा २०१७ अप्रिल २३ गते कोइरालाले चिनियाँ राष्ट्रपति सि जीन पिङसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए। एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ वार्षिकोत्सव समारोहका क्रममा इन्डोनेसियाको राजधानी जकार्ताको द्विपक्षीय भेटघाटमा प्रधानमन्त्री कोइरालाले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिए। त्यतिबेला सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नेमा आश्वस्त पारे। 
त्यसको दुई दिनपछि नेपालमा शक्तिशाली भूकम्प गयो। यसले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण प्रतिको तयारीमा त्यति ध्यान पुगेन। त्यसपछि संविधान निर्माणमा जुटेको नेपालले संविधान जारी भएपछि नयाँ सरकार पायो। 

हालका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बने। २०७२ सालको अन्तिममा भारतसितको सम्बन्धमा तनावमा भइरहेको बेला प्रधानमन्त्रीको रुपमा पहिलो पटक ओलीले चीनको भ्रमण गरे। त्यतिबेला उनले चिनियाँ राष्ट्रपति सीलाई पुनः नेपालको तर्फबाट नेपाल भ्रमणको निम्तो दिए। 

२०७३ मा उच्च अपेक्षा तर भएन भ्रमण

प्रधानमन्त्री ओलीले सीलाई नेपाल भ्रमणको निम्तो दिएपछि २०७३ मा नेपाल सीले नेपाल भ्रमण गर्ने उच्च अपेक्षा गरिएको थियो। तर ओली लामो समय प्रधानमन्त्रीको रुपमा सिंहदरबारमा टिकेनन्। 

२०७३ साउनमा उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भयो। ओलीले राजिनामा दिए। तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भए। उनले प्रधानमन्त्री भएलगत्तै सीलाई नेपाल भ्रमणमा स्वागत गर्ने तयारी गरे। 

उनले तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई विशेष दूतको रुपमा बेइजिङ पठाए। उनले त्यहाँ सीको नेपाल भ्रमणको विषयमा छलफल गरे। २०७३ सालको असोजको अन्तिममा सीले नेपाल भ्रमण गर्ने चर्चा चल्यो। 

असोजको अन्तिममा भारतको गोवामा भएको ब्रिक्स–विम्स्टेक सम्मेलनमा सहभागि हुन गोवा आउने क्रममा सीले नेपालसँगै कम्बोडिया र बंगलादेशको भ्रमण गर्ने बताइयो। तर अन्तिम समयमा उनले कम्बोडिया र बंगलादेशको भ्रमण गरे, नेपालको गरेनन्। 

अघिल्लो ओली सरकारले चीनसँग गरेका सम्झौताको कार्यान्वयनमा प्रचण्ड सरकारले उदासिनता देखाएको र भारततर्फ ढल्किएको आशंका गर्दै उनले अन्तिममा आएर नेपाल भ्रमण स्थगित गरेको चर्चा चल्यो। 

सीले ब्रिक्स सम्मेलनमा जाँदा या चीन फर्कने क्रममा नेपालको भ्रमण गर्ने करिब तय गर्दै नेपालस्थित चिनियाँ दूतावासले तत्कालीन ओली सरकारलाई दिइसकेको थियो। तर असोजसम्म आइपुग्दा सरकार परिवर्तन भइसकेको थियो। र भ्रमण पनि रोकियो। 

त्यतिबेला प्रधानमन्त्री प्रचण्डले सीलाई गोवामै भेट गरे। त्यस भेटमा समेत प्रचण्डले सीलाई नेपाल भ्रमणको निम्तो दिए।

प्रचण्डको विशेष दूत बनेर चीन पुगेका तत्कालीन उपप्रधानमन्त्री महराले सीले असोजमै नेपाल भ्रमण भ्रमण गर्ने दाबी गरेका थिए। 
प्रचण्डलेसमेत चिनियाँ राष्ट्रपति सीलाई नेपालको भ्रमणमा आउन पुनः निम्ता दिएका थिए। गोवामा भएको भेटमा पुनः एक पटक राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि स्मरण गराएर प्रचण्ड नेपाल फर्किए। 

२०७३ को चैतमा प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गरे। त्यतिबेला पनि उनले चिनियाँ राष्ट्रपति सीसँग भेट गरी नेपाल भ्रमणको निम्तो दिए।

बिआरआई सझदारीमा हस्ताक्षरसँगै भ्रमणको आशा

चिनियाँ राष्ट्रपति सीले अगाडि सारेको महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालले २०७३ को वैशाख २९ गते हस्ताक्षर गर्योत। वैशाख २९ काठमाडौँमा बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेसँगै तत्कालीन अर्थमन्त्रीसमेत रहेका महरा बेइजिङमा आयोजना भएको बीआरआई वार्षिक सम्मेलनमा सहभागी हुन पुगे। त्यहाँ उनले नेपालको तर्फबाट पुनः राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिए। 

नेपालले बीआरआईमा हस्ताक्षर गरेसँगै चिनियाँ लगानीकर्ता र चिनियाँ उच्च अधिकारीहरुको सक्रियता नेपालमा बढ्यो। चीनको मात्र होइन वर्ष २०७३ कुटनीतिक सक्रियताको वर्ष बन्यो। 

सोही वर्ष भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गरे। तर भारतभन्दा बढी चीनबाट सरकारी अधिकारीहरुले नेपालको भ्रमण गरेको परराष्ट्र मन्त्रालयको प्रतिवेदनमै उल्लेख छ। 

२०७३ मा उत्तरी छिमेकी चीनबाट रक्षामन्त्रीसहितको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आयो। 

यसबीच चीनबाट सहायकमन्त्री स्तरको भ्रमण हरेक महिना जस्तै भयो। 

२०७३ मा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने बताइएको थियो । तर सरकार सफल हुन सकेन। यस वर्ष नेपालको तर्फबाट उपप्रधानमन्त्री महरा तीन पटक चीनको भ्रमण गरे। 

२०७३ को फागुनको अन्तिम साता चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युअन झिविङ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आयो। त्यसअगाडि गत ३ पुसमा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगान्डा प्रमुख लिउ छिपाओले भ्रमण गरेका थिए। 

पुसमै तिब्बतको जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए। चिनियाँ सक्रियताका बीच राष्ट्रपति सीको नेपाल भ्रमण भने हुन सकेन। 

२०७४ : उपप्रधानमन्त्री वाङ याङको भ्रमण

२०७४ मा चिनियाँ राज्य परिषदका उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गरे। २०६८ सालमा चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणपछि चीनको तर्फबाट भएको यो नै उच्चस्तरीय नेपाल भ्रमण हो। वाङले यस क्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिए। भेटवार्ताका क्रममा देउवाले चिनियाँ राष्ट्रपति सीलाई भ्रमण नेपाल भ्रमणको निम्तो दिए। 


यसै वर्ष नेपालमा तीनै तहका निर्वाचन सम्पन्न भए। नेपालमा निर्वाचन सम्पन्न भएपछि तीनै तहमा सरकार बने। चिनियाँ सक्रियता स्थानीय तह सम्म बढ्यो। तर चिनियाँ राष्ट्रपति सी भने आएनन्। 

२०१८ उच्चस्तरीय भ्रमण वर्षः आउलान त सी?

२०७३ को अन्तिममा ओली पुनः नेपालको प्रधानमन्त्रीमा निर्वाचित भए। नयाँ सरकार गठनसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्ष २०१८ लाई उच्चस्तरीय नेपाल भ्रमणको वर्षको रुपमा मनाइने भन्दै उत्तर र दक्षिण दुबै छिमेकीबाट उच्चस्तरीय भ्रमण गराउने दाबी गरेका थिए। यसबीच भारतीय प्रधानमन्त्री मोदीले नेपालको दुई दिने भ्रमण गरे। उनी पुनः भदौको दोस्रो साता विम्स्टेकको सम्मेलनको लागि नेपाल आउँदैछन्। 

तर चिनियाँ राष्ट्रपति सीको भ्रमणको मिति भने तय भएको छैन्। अझै पनि नेपालले चिनियाँ राष्ट्रपति सीलाई भ्रमणका लागि निम्तो दिइरहेको छ। 

चिनियाँ उपविदेशमन्त्री वाङ वाजुन नेपालमा छन्। उनले आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरे। भेटका क्रममा प्रधानमन्त्री ओली पुनः राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ता दिए वाङमार्फत्। 


यसअघि प्रधानमन्त्री ओलीले गत असारको पहिलो साता भएको चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई भेट गरी राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका थिए। 


परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सीको नेपाल भ्रमणको तयारीमा जुटेको बताउँदै यसमा नेपालको चाहनाले मात्र पुग्दैन। 
‘हाम्रो तर्फबाट तयारी हामीले गर्ने हो। हामी जुनसुकै समयमा पनि स्वागतका लागि तयार नै छौँ। तर हाम्रो तयारीले मात्र पुग्दैन्,’ ती अधिकारीले पहिलोपोस्टसँग भने, ‘यसका लागि दुबै देशको उपयुक्त समय मिल्नुप¥यो। चिनियाँ चासो समेत ठूलो कुरा हो।’ 

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण नेपालको चासोले मात्र नपुग्ने पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसमेत बताउँछन्। ‘नेपाल चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न सँधै तयार छ। हामी कुनै पनि देशका राष्ट्रप्रमुखलाई स्वागत गर्न पाउँदा खुसी हुन्छ,’ उनले भने, ‘हिजो म परराष्ट्रमन्त्री हुँदासमेत भ्रमणको तयारी थियो। हामी तयार थियौँ। यो हाम्रो मात्र होइन, दुबै देशको चासोको विषय पनि हो। चीनको चासोलेसमेत यसमा ठूलो महत्त्व राख्छ।’ 

सीको नेपाल भ्रमण यस वर्ष हुने नहुने कुरा सरकारको तयारीमा भर पर्ने समेत उनले बताए। ‘अहिले सरकारले कस्तो तयारी गरिरहेको छ। त्यसमा पनि भर पर्ने कुरा हो, तर हामी पाहुनलाई स्वागत गर्न पाउँदा खुसी नै हुन्छौँ,’ महतले भने।  

सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिन तत्कालीन राजा वीरन्द्रको निमन्त्रणमा नेपाल भ्रमणमा आएका थिए। त्यस यता चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सकिरहेको छैन्। तर यस वर्ष सीको नेपाल भ्रमण हुन सक्ने सम्भावना बढेका परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ बताउँछन्। 

उनले सीको नेपाल भ्रमण हुन सक्ने सम्भावना तीन कारण समे दिए। उनले दिएका ती वटा कारण मध्ये पहिलो कारण हो, नेपालमा स्थिर सरकार। 

‘अहिले नेपालमा स्थीर सरकार आएको छ। नेपालसँग भएका सहमति कार्यान्वयन हुन्छन् भन्ने आधार यसले दिएको छ,’ उनले भने, ‘हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आएको संयुक्त वक्तव्यले पनि यो सम्भावनालाई स्पष्ट पारेको छ।’ 

नेपालले त्यहाँको सरकार, चिनियाँ कम्युनिष्ट पार्टीको विधानलाई समर्थन गरेको र चीनले नेपालको समृद्धिको यात्रामा साथ दिने प्रतिवद्धता समेत जनाएकोले भ्रमणको सम्भावना रहेको उनले बताए। 

त्यस्तै श्रेष्ठले दिएका अर्को आधार भनेको चीन र भारतबीचको सुधारिएको सम्बन्ध हो। ‘अहिले मोदी र सीको सम्बन्धमा सुधार आएको छ। पछिल्लो समय भुटानमा भने चिनियाँ उपविदेशमन्त्रीले भ्रमण गरेका छन्,’ उनले भने, ‘सीको नेपाल भ्रमणका लागि क्षेत्रीय सन्तुलन समेत देखिएको छ।’ 

अर्को आधार भनेको नेपालबाट धेरै भ्रमण भए पनि चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन। यसलाई क्रमभंग गर्न पनि चीनका राष्ट्रपति सी नेपाल आउने सम्भावना रहेको उनले बताए। हाल चीनका उपविदेशमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल नेपालमा आउनु सीको भ्रमणको तयारीका लागि हुन सक्ने उनले अनुमान गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell