PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फेसबुक फन्डा : झन्डै डिभोर्स! 



सविन ढकाल

फेसबुक फन्डा : झन्डै डिभोर्स! 
प्रतीकात्मक फोटो : techchore.com

काठमाडौं : तपाईँ कति समय फेसबुक चलाउनुहुन्छ? फेसबुकबाटै च्याट अनि फोटो र आफ्ना कुरा पोस्ट पनि गर्नुहुन्छ होला। फेसबुकमा नयाँ साथी बनाउनु पनि अनौठो होइन, सबैले बनाएकै हुन्छन्। सामाजिक संजालले तपाईँका पुराना मित्रलाई जोडेको पनि होला। ज्ञान र जानकारी पनि नपाउने कुरै भएन यसबाट। तर, त्यही फेसबुकले कतिलाई यति दुख दिएको छ कि तपाईँ अन्दाज गर्न पनि सक्नुहुन्न। 

फेसबुकले धेरैको घरबारसमेत तहसनहस पारिरहेको छ। फेसबुकको सिकार बनेका एक पात्रको यस्तो छ कथा - 
 

नाम राजु लामा (फेरिएको नाम)। घर सोलुखुम्बु। पहिचान : युवा नेता। वैवाहिक अवस्था –बिवाहित। 

केही समय अगाडि उनको फेसबुक पेजमा देखिन्छ – “आज डेटिङ जाँदै छु।” सँगै एउटा फोटो पनि हुन्छ। फोटोमा युवती देखिएकी छिन्। लामालाई थाहा छैन कसरी पोस्ट भयो?अनि तलतिर कमेन्ट ओइरिसकेको हुन्छ - 'अल द बेष्ट' देखि 'यो उमेरमा पनि?' 

फेरि केही दिनमा अर्की युवतीको फोटोसँगै यस्तै कन्टेन्ट पोस्ट हुन्छ। वारम्बार यस्ता फोटो देखिएपछि लामाकी पत्नी झोक्किन्छिन्। त्यसपछि सुरु हुन्छ लामा दम्पतीबीच विवाद। लामा आफैँ पनि आफ्नो पोस्ट देखेर दङ्ग परे। आफूले त्यस्तो नलेखेको भने पनि उनकी श्रीमती पत्याउँदिनन्। अन्तत: लामा यो केस लिएर अपराध अनुसन्धान महाशाखा पुग्छन्। 

प्रहरीले अनुसन्धान सुरु गर्छ। लामाको फेसबुक ह्याक भएको खुल्न आउँछ। ह्याकरले फेसबुकमा जथाभावी लेख्दै आएको भेटियो।

महानगरीय अपराध महाशाखामा फेसबुक ह्याक र फेसबुकबाट अपराध भएको भन्दै उजुरी दिन आउनेको सङ्ख्या बढ्दै गएको छ। अहिले प्रत्येक दिन औशत १० जनाको उजुरी आउने गरेको प्रहरीले जनाएको छ। महाशाखाका एसपी नरेन्द्र उप्रेती भन्छन्, 'पछिल्लो समय भएको सबैभन्दा बढी उजुरी फेसबुक सम्बन्धि नै हुन्छ।'

सर्वसाधारण, नेता र कलाकार यस्ता ह्याकरबाट पीडित हुँदै आएका छन्। कलाकार बेनिसा हमालले समेत यस्तै प्रकृतिको घटना भएपछि प्रहरीमा उजुरी दिएकी छिन्। रकम लुट्ने प्रयोजनबाट पनि ह्याक हुँदै आएको छ। त्यसैले यस्ता जोखिमबाट बच्नु सबैभन्दा राम्रो उपाय हो। 

प्रविधिको विकाससँगै फेसबुक ह्याक गर्ने प्रविधि पनि सहज बन्दै गएको छ। फेसबुक म्यासेन्जरमा लिंक पठाएर सबैभन्दा बढी ह्याक गरेको पाइएको छ। भिडियो र तस्बिरको लिंक पठाई त्यसमा क्लिक गरे ह्याकरलाई ह्याक गर्न सजिलो हुन्छ। फेसबुक ह्याक हुनबाट कसरी बच्ने?
  • फेसबुक म्यासेन्जरमा अपरिचितले पठाएको कुनै पनि भिडियो वा फोटोको लिंक नबुझी नखोल्नु होला।
  • ब्लु रङको लिंक आए झनै नखोल्नुहोस्। यस्तो रङको लिंक ह्याकरले प्रयोग गर्नेगर्छन्।
  • समय समयमा आफ्नो फेसबुकको पासवर्ड परिवर्तन गरिराख्न प्रहरीले सुझाव दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell