PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घरजग्गा मुल्यांकन बढाउन यस्तो होड!



अमर बडुवाल

घरजग्गा मुल्यांकन बढाउन यस्तो होड!

काठमाडौं : प्रदेश राजधानी तोकिएका स्थानमा  स्थानीय सरकारले १ सय ५० प्रतिशत सम्मले घरजग्गाको मूल्यांकन बढाएको छ।

संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा जग्गाको मूल्यांकन भारी रुपमा वृद्धि गरेपछि स्थानीय सरकारले समेत मूल्यांकन बढाएका हुन्।उपत्यकामा २० देखि ४० प्रतिशत सम्म मूल्यांकन बढाएकोमा प्रदेश राजधानीमा भने १ सय ५० प्रतिशत सम्मले बढेको छ।

यस अघि केन्द्र सरकारमा आउने घरजग्गाको राजस्व, अवदेखि स्थानीय र प्रदेश सरकारले ६०/४० गरेर लिन पाउने व्यवस्था छ।ठूलो प्रशासनिक खर्च चलाउन भन्दै जग्गाको शतप्रतिशत मूल्यांकन बढाएको उनीहरुको दाबी छ।

पोखरामा १५० प्रतिशतले बढ्यो मूल्यांकन

४ नम्बर प्रदेशको राजधानी पोखरामा १५० प्रतिशत सम्मले जग्गाको मूल्यांकन बढेको छ। पोखरा लेखनाथ महानगरपालिकामा गाभिएका ठाउँहरुमा गत आर्थिक वर्षको भन्दा दोब्बर बढी न्यूनतम मूल्याङ्कन कायम गरिएको कास्की मालपोत कार्यालय पोखराका प्रमुख ज्ञानराज पाण्डेले बताए।

कार्यालयले १० देखि २० प्रतिशत सम्म मात्रै मूल्याङ्कन बढाउने तयारी गरेपनि स्थानीय निकायले सिफारिश गरेको ठाउँमा भने १ सय ५० प्रतिशत सम्म जग्गामो मूल्यांकन बढेको छ।पोखरामा प्रति रोपनी पौने चार करोड रुपैयाँसम्म जग्गाको न्यूनतम मूल्यांकन गरिएको छ।यस अघि सोही ठाउँमा प्रति रोपनी तीन करोड ६५ लाख न्यूनतम मूल्यांकन थियो।

पोखरामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको जग्गा प्रति रोपनी ९० लाख रुपैयाँ देखि दुई करोड रुपैयाँसम्म मूल्यांकन कायम गरिएको छ। गत वर्ष त्यहि ठाउँमा ३५ लाख रुपैयाँ देखि एक करोड ३० लाख रुपैयाँ सम्म मात्रै थियो। महानगरपालिकामा गाभिएका अधिकांश ठाउँमा पनि जग्गाको मूल्यांकन शतप्रतिशत बढेको छ। स्थानीय निकायको सिफारिशका आधारमा मूल्यांकन निर्धारण गरिएको पाण्डेले बताए।

महानगरपालिका भित्र परेका साविकका गाविसहरुमा पनि जग्गाको मूल्यांकन प्रति रोपनी ७५ लाख रुपैयाँ पुगेको छ।

धनगढीमा ४० प्रतिशतले बढ्यो

७ नम्बर प्रदेश राजधानी धनगढीमा ४० प्रतिशतले न्यूनतम मूल्यांकन वृद्धि गरिएको छ। धनगढी उपमहानगरपालिकामा प्रतिकठ्ठा जग्गा एक करोड २० लाख रुपैयाँसम्म न्यूनतम मूल्यांकन कायम गरिएको छ। यस अघि भने त्यो ठाउँमा प्रतिकठ्ठा ८५ लाख रुपैयाँ थियो।

कार्यालयले स्थानीय निकायले गरेको सिफारिशलाई आधार मान्दै न्यूनतम मूल्यांकन बढाउँदा ४० प्रतिशत भन्दा बढीले वृद्धि भएको कार्यालयका धनगढीका मालपोत अधिकृत करणसिंह ठगुन्नाले बताए।
 

विराटनगर, हेटौडा र बुटवलमा २० प्रतिशतले बढ्यो

१ नम्बर प्रदेश राजधानी विराटनगर, ३ नम्बर प्रदेश राजधानी हेटौडा र ५ नम्बर प्रदेश राजधानी बुटवलमा २० प्रतिशत सम्मले न्यूनतम मूल्यांकन बढेको छ।

विराटनगरमा जग्गाको न्यूनतम मूल्यांकन ९३ लाख रुपैयाँ कायम भएको छ। यसअघि जग्गाको न्यूनतम मूल्यांकन ८८ लाख रुपैयाँ कायम मात्रै थियो। पहिले महानगरपालिका भित्र रहेका विभिन्न ग्रामिण क्षेत्रमा पनि २० प्रतिशतले न्यूनतम मूल्यांकन वृद्धि गरिएको मालपोत कार्यालय विराटनगरका प्रमुख देवी भट्टले जानकारी दिए।

हेटौंडामा जग्गाको मूल्यांकन ९० लाख रुपैयाँ कायम भएको छ।यसअघि हेटौंडाको जग्गाको मूल्यांकन प्रति कठ्ठा ७५ लाख रुपैयाँ थियो।वुटवलको जग्गाको न्यूनतम मूल्यांकन ८२ लाख रुपैयाँ कायम भएको छ।यसअघि वुटवलको जग्गा प्रति कठ्ठा ७० लाख रुपैयाँ थियो।बुटवल उपमहानगरपालिका भित्र गाभिएका ठाउँमा पनि जग्गाको मूल्यांकन २० प्रतिशतले बढेको बुटवल मालपोत कार्यालयका प्रमुख यादवराज पाण्डेले बताए।

सुर्खेतमा ५ प्रतिशत मात्रै वृद्धि

कर्णाली प्रदेशको राजधानी सुर्खेतका सबै ठाउँमा ५ प्रतिशत जग्गाको मूल्यांकन बढेको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको बजार क्षेत्रमा प्रतिकठ्ठा ८० लाख रुपैयाँ सम्म जग्गाको मूल्यांकन कायम गरिएको छ। यसअघि प्रतिकठ्ठा ७५ लाखरुपैयाँ सम्म थियो। राजधानीमै पर्ने अन्य क्षेत्रमा भने प्रतिकठ्ठा पाँच लाख रुपैयाँदेखि ५० लाख रुपैयाँ सम्म जग्गाको मूल्यांकन कायम गरिएको मालपोत कार्यालय सुर्खेतका प्रमुख कृष्णप्रसाद पोखरलेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell