PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाल्पाको रानीमहलको जिम्मा नगरपालिकालाई, बन्ला त पाँच सय डलर पर्ने होटलको कोठा त्यसभित्र?



पाल्पाको रानीमहलको जिम्मा नगरपालिकालाई, बन्ला त पाँच सय डलर पर्ने होटलको कोठा त्यसभित्र?

पाल्पामा रहेको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानीमहल केन्द्र सरकारले स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ। .

पुरातत्व विभागले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्वको रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो। सरकारका तर्फबाट पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका प्रमुख अशोककुमारी शाहीले बिहीबार काठमाडौंमा रानीमहल हस्तान्तरणसम्बन्धि १० वर्षे समझदारी पत्रमा हस्ताक्षर गरे।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा गरिएको समझदारीमा सो महलको व्यवस्थापन, संचालन र मर्मत सम्भार गर्दा सरकारको अनिवार्य स्वीकृति तानसेन नगरपालिकाले लिनुपर्ने व्यवस्था गरिएको छ । समझदारीमा महल प्रवेश गर्न शुल्क लगाउन सकिने पनि प्रावधान छ।

दुई महिनाअघि रानीमहलमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री अधिकारीले रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका थिए। त्यतिबेला उनले रानीमहललाई होटलको रुपमा पनि विकास गर्न सकिने सम्भावना देखाउँदै भनेका थिए, 'दुई सय पाँच सय डलर राखेर केही रुमहरु बनानुस्। दिनुस्। पाँच सय डलर के ठूलो कुरा हो र?'

आजको कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले महलको उचित व्यवस्थापन गरी आयआर्जन गर्न तानसेन नगरपालिकालाई आग्रह गरे। उनले महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने पनि स्पष्ट पारे।

१० वर्षे समझदारी पत्रमा सो महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था पनि गरिएको छ। कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख शाहीले महलको पूरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको उजागर गर्दै यसलाई विश्वमै चिनाउने गरी व्यवस्थापनको काममा लाग्ने प्रतिवद्धता व्यक्त गरे।

विक्रम संवत १९५४ मा खडगशमशेर राणाले रानी तेजकुमारी राणाको सम्झनामा निर्माण गरिएको यो महलको ऐतिहासिक महत्व रही आएको छ । आकर्षक कलाकृतिले सजिएको कालिगण्डकीको छेउमा रहेको यो महललाई ‘नेपालको ताजमहल’ को रुपमा पनि चिनिन्छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell