PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'फेसबुक ह्याकरले रुवाए सांसदलाई'



सविन ढकाल

'फेसबुक ह्याकरले रुवाए सांसदलाई'

काठमाडौँ: हतास अनुहार लिएर एकजना व्यक्ति महानगरीय अपराध अनुसन्धान महाशाखामा पुगे। उनले प्रहरीसँग भेट हुने बित्तिकै समस्या सुनाउन थालिहाले- 

“मसँग मोबाइलमा व्यालेन्स छैन, एकदम आवश्यकता परेको छ। तुरुन्तै रिचार्ज नम्बर पठाइदिनुहोला,' भनेर मेरो फेसबुकबाट साथीभाइलाई म्यासेज गर्ने गरेको पाइयो। सर, मेरो त इज्जत नै बाँकी रहने भएन। के गर्ने होला?”

प्रहरी कहाँ यस्तो समस्या लिएर जाने पात्र अरू कोही थिएनन्, एक सांसद थिए। डोटी जिल्लाबाट प्रत्यक्षतर्फ चुनाव जितेका - प्रेमबहादुर आले।

‘एक महिनादेखि मेरो फेसबुकबाट रिचार्ज कार्ड मागेर वाक्क पारेका रहेछन्। प्रहरीकोमा उजुरी दिएको छु। अझैसम्म पत्ता लागेको छैन,’ सांसद् आलेले पहिलोपोस्टसँग भने।

खासमा उनको फेसबुक ह्याक भएको रहेछ। ह्याक भएर पैसामात्र होइन, अरू बार्गेनिङ पनि चल्ने सम्भावना देखे उनले। आलेले भने, 'मेरो फेसबुकबाट नजिकका मित्रसँग एक हजार रुपैयाँ रिचार्ज गर्न मागेपछि नदिने कुरै भएन। कतिले यसरी १ हजारदेखि २ हजारसम्मको रिचार्ज पठाएका रहेछन्।‘

पहिलोपटक एक हजारको रिचार्ज सजिलै आएपछि फेरि ह्याकरले पाँच हजारको रिचार्ज मागेका रहेछन्। 

एउटै व्यक्तिसँग पाँच हजारको रिचार्ज मागेपछि भने सांसद आलेका फेसबुक साथीले मोबाइलमा फोन गरेर ‘माननीयज्यू, साह्रै गाह्रो पर्योआ कि के हो? रिचार्ज फेरि माग्नुभयो त’ भनेपछि आले अचम्ममा परे। नभन्दै फेसबुकबाट रिचार्ज मागेका भेटियो। 'मेरो फेसबुकबाट ३० देखि ४० जनासँग रिचार्ज गर्न भन्दै पैसा मागिएको रहेछ। यो फेसबुक ह्याकरले एकदमै समस्या दिएको छ,' उनले भने।  

जतिलाई म्यासेज गरेका थिए, सबैजसोले कम्तीमा १ सय रुपैयाँदेखि २ हजारसम्म पठाएको पाइएको छ। 

त्यसपछि सांसद आले कहाँ पुगेनन्? सञ्चारमन्त्रीदेखि प्रहरी प्रमुखसम्म धाए। ‘एक महिनादेखि उजुरी गरे पनि केही हात लागेको छैन,’ उनले भने।

महाशाखाका एसएसपी धिरजप्रताप सिंहले भने, 'अनुसन्धान गर्दै जाँदा सांसदज्यूको फेसबुकमा रिचार्ज नम्बर पठाइएको पाइयो। अहिलेसम्म ५ देखि ७ हजारसम्म रुपैयाँ आएको देखियो।'

ह्याकरले फेसबुक रिचार्ज नम्बर आएपछि अनलाइनबाट केही सस्तो दरमा बेच्ने गरेको अनुसन्धानमा खुलेको छ। यसरी रिचार्ज खरिद गर्ने धेरै जसो उपत्यका बाहिरका मानिस भएको एसएसपी सिंहले बताए। उनले भने, 'फेसबुकको आधिकारिक कम्पनी नेपालमा छैन। त्यसैले रिचार्ज नम्बर किन्नेहरूसँग अनुसन्धान गरिरहेका छौँ।'

ह्याकरले सांसद आलेको फेसबुकबाट नेता, व्यापारीदेखि पत्रकारसम्मलाई रिचार्ज माग्न भ्याएका रहेछन्।

प्रविधिको विकाससँगै फेसबुक ह्याक गर्ने प्रविधि पनि सहज बन्दै गएको छ। फेसबुक म्यासेन्जरमा लिंक पठाएर सबैभन्दा बढी ह्याक गरेको पाइएको छ। भिडियो र तस्बिरको लिंक पठाइ त्यसमा क्लिक गरे ह्याकरलाई ह्याक गर्न सजिलो हुन्छ।

फेसबुक ह्याक हुनबाट कसरी बच्ने?

फेसबुक म्यासेन्जरमा अपरिचितले पठाएको कुनै पनि भिडियो वा फोटोको लिंक नबुझी नखोल्ने। 

ब्लु रङको लिंक आए झनै नखोल्ने। 

समय समयमा आफ्नो फेसबुकको पासवर्ड परिवर्तन गरिराख्ने।

नत्र सांसदको नामबाट रकम मागेजस्तै तपाईँको नामबाट पनि माग्ने र ठग्ने सम्भावना रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell