PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

झन् शक्तिशाली बन्दै ओली, के गर्दै छन् प्रचण्ड?



विधुर ढकाल

झन् शक्तिशाली बन्दै ओली, के गर्दै छन् प्रचण्ड?

काठमाडौं  : पार्टी एकता गर्दा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुले एकीकृत पार्टीको बैठकहरुको अध्यक्षता आलैपालो गर्ने बताइएको थियो। पार्टी एकता भएको तीन महिना बितेको छ। यसबीच तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बसेका बैठकहरुको अध्यक्षता भने गरेका छैनन्। 

पार्टी एकता गर्दा नेताहरुले पार्टी हेडक्वाटरमा दुई अध्यक्ष हुने र बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति भए पनि पार्टीको विधान र नियममावलीले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्तिशाली बनाएको छ। 

प्रधानमन्त्रीसहित संसदीय दलका नेतासमेत रहेका ओलीलाई पार्टीका आन्तरिक बैठक र भेला तथा सभाका लागि पनि समान हैसियतमा अध्यक्षता गर्ने अधिकार समेत विधानले दिएको छ। 

विधानले पार्टी अध्यक्षलाई राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको अध्यक्षता गर्ने अधिकार दिएको छ। 

‘दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने,’ पार्टीको विधानमा भनिएको छ, ‘पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने।’

अध्यक्षलाई पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्ने कर्तव्य दिइएको छ। विधानमा अध्यक्षलाई केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीका बैठकमा आफ्नो तर्फबाट, एकताको राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय कमिटीका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने अधिकार दिइएको छ। जसमध्ये हाल भएका केन्द्रीय कमिटी, स्थायी कमिटीका बैठकमा अध्यक्ष ओलीले नै मौखिक रुपमा प्रतिवेदन राख्दै आएका छन्। 

प्रचण्ड यी बैठकमा आफू धेरै बोल्नेभन्दा पनि अरुका कुरा धेरै सुन्ने गरेका छन्। पार्टीको नियमावली पारित गर्न आयोजित स्थायी कमिटी बैठकमा समेत प्रचण्ड कम बोले। बैठकमा ओलीले सरकारको बचाउन गर्न निर्देशन दिएका थिए। बैठकमा सदस्यहरुले सरकारको काम कारवाहीको विरोध गरेका थिए। प्रचण्डले सरकारको बचाउ गरेनन्। उनले यसको छलफलका लागि अर्को बैठक बोलाउने भन्दै मध्यमार्गी धारमा उभिए। 

पार्टी एकतापछि प्रचण्ड कम सुनिएका छन्। सार्वजनिक कार्यक्रममा उपस्थित भए पनि उनी कार्यक्रमकै प्रकृतिमाथि बोल्दै आएका छन्। राजनीतिक बचाउमा भने लागेका छैनन्। यसबीच असारमा प्रचण्ड श्रीमतीको उपचारका लागि दुई साता सम्म बैंकक बसे। 

त्यसयता उनी आफ्नो गृहजिल्लामा आयोजित केही कार्यक्रममा देखिए। त्यस्तै काठमाडौँमा विभिन्न सामाजिक संस्थाहरुले गरेका कार्यक्रममा पुगे। केही पुस्तक विमोचनमा। पार्टीका जनवर्गीय संगठनका केही कार्यक्रममा तर बढी सामाजिक संघ संस्थाका कार्यक्रममा। तिनै संस्थाका प्रकृति अनुसारका भाषण गरे तर राजनीतिक रुपमा बोलेनन् जुन उनको पहिचान बनिसकेको थियो। 

यसबीच उनलाई भेट्न विभिन्न देशका राजदूत तथा विभिन्न व्यक्तिहरु खुमलटार पुगे। उनलाई उत्तर कोरियाली राजदूतले नेकपाको अध्यक्षका हैसियतले उत्तर कोरियाको ७० वर्षगाँठको कार्यक्रममा अथितिको रुपमा प्योङयाङ भ्रमणको निम्तो दिए। 

लामो मौनता तोड्दै किन गर्जिए प्रचण्ड?

राजनीतिका माहिर खेलाडीको रुपमा चिनिएका प्रचण्ड पछिल्लो समय राजनीतिकरुपमा सुनिएनन्। पछिल्लो समय सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै प्रधानमन्त्री ओलीलाई भेट गरी ज्ञापनपत्र बुझाएको छ। यस विषयमा समेत उनको सार्वजनिक अभिव्यक्ति आएको छैन। 

चिकित्सा शिक्षा विधेयकको विषयमा देश दुई कित्तामा उभिएको छ। तर, प्रचण्ड २३ दिनसम्म मौन नै बसे। एक्कासी सोमबार राष्ट्रियसभा गृहमा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित सभामा भने चर्को रुपमा सुनिए। कांग्रेस र चिकित्सक केसी विरुद्ध खनिएका प्रचण्डको बोलीले प्रधानमन्त्री ओलीको भन्दा बढी चर्चा पायो। प्रचण्डपछि बोलेका ओलीले सम्बोधनका क्रममा पटक पटक 'अघि प्रचण्डजीले भनिसक्नु भयो' भन्दै उनकै कुरा दोहोर्‍याए। 

लामो समय मौन जस्तै बसेका उनी एक्कासी किन आलोचनामा उत्रिए? नेकपा भित्रै यसको चर्चा सुरु भएको छ। शनिबार वानेश्वरमा गोविन्द केसीको समर्थनमा नेपाली कांग्रेसको प्रदर्शनमा झडप भयो। झडपमा दर्जन बढी प्रहरी र त्यो भन्दा बढी कांग्रेस कार्यकर्ता घाइते भए। 

लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारमा नेकपाका दुई अध्यक्ष भेट्न पुगे। सभापति देउवासँगको भेटपछि नेकपाका केही नेताहरुबीच बालुवाटारमै छलफल भयो। छलफलमा प्रधानमन्त्री ओलीले नेकपाको अध्यक्ष भए पनि पार्टी र आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध चौतर्फी प्रहार हुँदा समेत मौन बसेको भन्दै प्रचण्डप्रति असन्तुष्टि जाहेर गरेको नेकपाका एक नेताले पहिलोपोस्टलाई जानकारी दिए। 

'प्रधानमन्त्री ज्यूले सरकारमाथि चौतर्फी आक्रमण हुन थालेको भन्दै पार्टीको तर्फबाट हरेक नेताले सरकारको विरोधीमाथि गतिविधिको भण्डाफोर गर्न आग्रह गर्नु भएको थियो,' ती नेताले भने, 'पार्टीको एउटा अध्यक्ष नै मौन बस्दा पार्टी पंक्तिमा समेत यसले प्रभाव पारेको भन्दै उहाँले प्रचण्डजीलाई गोविन्द केसी र कांग्रेसको विरुद्ध बोल्न आग्रह गर्नुभएको थियो।'

उनका अनुसार त्यसैको प्रतिविम्व सोमबारको कार्यक्रममा देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell