PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तीन वर्षपछि टी-२० इन्टरनेशनल क्रिकेट खेल्दै नेपाल, यस्तो छ अहिलेसम्म खेलेका ११ खेलको नतिजा



गोविन्दराज नेपाल

तीन वर्षपछि टी-२० इन्टरनेशनल क्रिकेट खेल्दै नेपाल, यस्तो छ अहिलेसम्म खेलेका ११ खेलको नतिजा

काठमाडौं : सन् २०१४ मा पहिलो पटक आइसीसी टी-२० विश्वकप खेलेपछि टी-२० अन्तर्राष्ट्रियको मान्यता पाएको नेपालले ३ वर्षपछि टी-२० मान्यता प्राप्त क्रिकेट खेल खेल्दैछ।

सन् २०१४ को टी-२० विश्वकपमा हङकङ विरुद्धको खेल नेपालको लागि पहिलो टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल थियो।

नेपालले पछिल्लो पटक सन् २०१५ जुलाईमा नेदरल्याण्ड्समा भएको आइसीसी टी-२० वर्ल्डकप क्वालिफायरमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त टी-२० क्रिकेट खेलेको थियो।

त्यतिखेर समूह बी मा रहेको नेपालले ६ खेल खेलेको थियो। ६ मध्ये नेपालले खेलेको ३ खेलले मात्र टी-२० को मान्यता पाएको थियो। समूहको अन्तिमा रहेपछि नेपाल टी-२० विश्वकपमा छनोट हुन सकेन र अन्तर्राष्ट्रिय मान्यता समेत गुमायो।

गत मार्चमा जिम्बावेमा भएको आइसीसी वान डे वर्ल्डकप क्वालिफायरमा उत्कृष्ट ३ एसोसिएट राष्ट्र भित्र पर्दै १० मध्ये आठौँ भएको नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई)को मान्यता पाएपछि टी-२० को मान्यता पनि स्वत पायो। पछि आइसीसीले नै उसका सदस्य राष्ट्र सबैलाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको थियो। तर आवश्यक म्याच खेलेपछि मात्र र्‍याङकिङमा पर्ने आइसीसीले जनाएको छ।

नेपालले अहिलेसम्म ११ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमध्ये ३ खेलमा मात्र जित हात पारेको नेपालले ८ खेलमा पराजय बेहोरेको छ। नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङ, अफगानिस्तान र नेदरल्याण्ड्सलाई पराजित गरेको छ। यस्तै नेपाल नेदरल्याण्ड्ससँग ३, हङकङसँग २ पटक तथा बंगलादेश, आयरल्याण्ड र पपुवा न्यूगिनीसँग १-१ पटक पराजित भएको छ।

नेपालले २०१४ को टी-२० विश्वकपमा हङकङलाई हराएपनि त्यसपछिको दुई खेलमा भने नेपाल हङकङसँग पराजित भयो।

पछिल्लो पटक नेपालले २०१५ जुलाई १७ मा क्वालिफायर अन्तर्गत पपुवा न्यू गिनीसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो। त्यसको ३ वर्षपछि नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ।

यही जुलाई २९ मा लर्ड्समा हुने नेपाल, एमसीसी र नेदरल्याण्ड्स सम्मिलित ट्राई सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच हुने खेलले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाउनेछ। नेपालले लर्ड्समा खेल्न लागेको भने यो दोस्रो पटक हो। सन् २०१६ जुलाईमा नेपालले एमसीसीसँग पहिलो पटक क्रिकेटको मक्का मानिने लर्ड्समा खेलेको थियो।

डच टोलीसँ नेपालको यो चौथो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ। २०१५ मै टी-३० वर्ल्डकपको क्वालिफायरअघि भएको सिरिजको ४ मध्ये ३ खेलमा नेपाल नेदरल्याण्ड्सँग पराजित भएको थियो भने एक खेल जितेको थियो। अब ३ वर्षपछि नेपालसामु डच टोलीसँग बदला लिने अवसर समेत छ।

नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्म सुवास खकुरेल र कप्तान पारस खड्काले मात्र अर्धशतक प्रहार गरेका छन्। कप्तान पारसले नेपालका लागि सर्वाधिक २३६ रन बनाएका छन्। यस्तै शरद भेषावकरले १९९ रन बनाएका छन्। बंगलादेशमा भएको टी-२० वर्ल्डकपमा सुवासले अफगानिस्तान विरुद्ध बनाएको ५६ रन नेपाली खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर हो।

यस्तै बलिङमा बसन्त रेग्मीले सर्वाधिक १५ तथा सोमपाल कामीले १३ विकेट लिएका छन्। बसन्त रेग्मीले २०१५ को टी-२० वर्ल्डकप क्वालिफायरमा हङकङ विरुद्ध ४ ओभरमा १६ रन खर्चँदै ४ विकेट लिएका थिए। जुन नेपाली बलरको उत्कृष्ट बलिङ प्रदर्शन हो।

सोमपाल कामीसँग दशौँ नम्वरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने कीर्तिमानछ। उनले श्रीलंकामा हङकङ विरुद्ध भएको खेलमा दशौँ नम्वरमा ब्याटिङ गर्दै ४० रन बनाएका थिए।

लर्ड्समा टी-२० सिरिज खेलेको ३ दिनपछि नेपालले नेदरल्याण्ड्ससँगै पहिलो ऐतिहासिक ओडिआई सिरिज खेल्दैछ। अगष्ट १ र ३ मा गरी दुई ओडिआई खेल हुनेछ र दुवै खेल नेदरल्याण्ड्समै हुनेछ।

नेपालले यसअघि पनि नेदरल्याण्ड्समा गएर ५० ओभर को क्रिकेट खेलिसकेको छ। आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सिप अन्तर्गत २०१५-१७ मा नेदरल्याण्ड्समा खेलेको दुई मध्ये एक खेल नेपालले जितेको थियो। उक्त खेलमा कप्तान पारस खड्काले ८२ रन बनाउनुका साथै २ विकेट लिएका थिए।

 

नेपालको टी-२० अन्तर्राष्ट्रिय खेलहरु

२०१४-आइसीसी टी-२० वर्ल्ड कप

नेपाल भर्सेस हङकङ : नेपाल विजयी

नेपाल भर्सेस बंगलाशेद : बंगलादेश विजयी

नेपाल भर्सेस अफगानिस्तान : नेपाल विजयी

 

२०१४/१५ - नेपाल, हङकङ टुर अफ श्रीलंका

नेपाल भर्सेस हङकङ : हङकङ विजयी

 

२०१५ - नेपाल टुर अफ नेदरल्याण्ड्स

नेपाल भर्सेस नेदरल्याण्ड्स : नेदरल्याण्ड्स विजयी

नेपाल भर्सेस नेदरल्याण्ड्स : नेदरल्याण्ड्स विजयी

नेपाल भर्सेस नेदरल्याण्ड्स : नेदरल्याण्ड्स विजयी

नेपाल भर्सेस नेदरल्याण्ड्स : नेपाल विजयी

 

२०१५ : आइसीसी टी-२० वर्ल्ड कप क्वालिफायर (टी-२० मान्यता प्राप्त खेलहरु)

नेपाल भर्सेस आयरल्याण्ड : आयरल्याण्ड विजयी

नेपाल भर्सेस हङकङ : हङकङ विजयी

नेपाल भर्सेस पपुवा न्यूगिनी : पपुवा न्यूगिनी विजयी

 

नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीहरु

गत जुनमा लर्ड्समा विश्व ११ को प्रतिनिधित्व गर्दै वेष्ट इन्डिज विरुद्ध चयारिटी म्याच खेलेका सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने पछिल्लो नेपाली खेलाडी हुन्। उनलले आफ्नो देश भन्दा अन्य टिमका लागि खेल्दै टी-२० मा डेब्यु गरेका हुन्। टी-२० खेल्ने उनी १८औँ नेपाली खेलाडी हुन्।

बंगलादेशमा २०१४ मा भएको विश्वकपमा नेपालका ११ खेलाडीले डेब्यु गरेका थिए।

त्यसपछि दुई खेलाडीले हङकङसँग २०१५ मा डेब्यु गरे भने बाँकी चार खेलाडी २०१५ को क्वालिफायरमा डेब्यु गरे।

कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र सोमपाल कामीले मात्र नेपालका लागि ११ वटै टी-२० अन्तरराष्ट्रिय खेल खेलेका छन्।

यस पटक नेपाली टोलीमा युवा खेलाडिहरु धेरै रहेका कारण ५/६ खेलाडीले टी-२० डेब्यु गर्ने सम्भावना छ।

पहिलो पटक लर्ड्समा खेल्न गइरहेका दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, ललित भण्डारी, ललित राजवंशी, अनिल कुमार शाह, रोहित कुमार पौडेल ले नेपालको लागि टी-२० मा डेब्युको नजिक छन्।

अहिले टोलीमा रहेका १५ मध्ये कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र, बसन्त, शक्ति, शरद, सुवास, सोमपाल, सन्दीप र करणले टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell