PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ओलीका असली ताण्डव अझै हेर्न बाँकी छ, कांग्रेस ठूलो दल के बन्थ्यो, यही संविधानले सिध्याउँछ : राजकिशोर यादव



बीपी साह

ओलीका असली ताण्डव अझै हेर्न बाँकी छ, कांग्रेस ठूलो दल के बन्थ्यो, यही संविधानले सिध्याउँछ : राजकिशोर यादव

पछिल्लो समय सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय जनता पार्टी (राजपा)को प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो। डा गोविन्द केसीको माग, संविधान संशोधनको विषयलगायतका मुद्दा लिएर भेट्न पुगेका राजपा टोलीलाई ओलीले समृद्धिका कथा सुनाएर फर्काएका थिए। राजपा यही घटनादेखि सरकारसँग झनै असन्तुष्ट देखिएको छ। यही सन्दर्भमा राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसँग पहिलोपोस्टका बीपी साहले गरेको कुराकानी:

डा.केसीको मागलाई राजपाले कुन रुपमा लिएको छ?
राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक पार्टी हो। र, डा.केसी लोकतान्त्रिक मूल्यमान्यता अनुसार सत्याग्रहको माध्यमले जुन कुराहरु सुनाउन खोजेका छन् ती कुराहरुलाई सरकारले सुन्नुपर्छ भन्ने राजपाको मान्यता हो।

दोस्रो कुरा, जनताको जिउधनको सुरक्षा राज्यको काम हो। त्यसैले लोकतान्त्रिक मुलुकको नेतृत्व गर्नेले लोकतान्त्रिक तरिकाबाट समाधान गर्नु पर्छ। उहाँको कन्टेन्टको विषयमा अलगबाट छलफल गर्न सकिन्छ तर डा.केसीको प्रक्रियामा हाम्रो सहमति छ। प्रक्रियामा राज्यलाई अझै लचक हुनु पर्छ। जिम्मेवार हुनु पर्छ। 

राज्य र केसीको बीचमा सम्झौता भएको थियो। त्यो सम्झौतामा कुनै हेरफेर गरिन्छ भने दुबै पक्षको सहमतिमा हुनु पर्थ्यो तर राज्यले एक पक्षीय रुपमा गरेको छ। त्यो लोकतान्त्रिक मूल्यमान्यता अनुरुप छैन। त्यसैले हामीले डा.केसीको अनसनप्रति ऐक्यबद्धता जनाएका छौं।

तर डा.केसीप्रतिको सरकारको दृष्टिकोण ‘अटोक्रेटिक’ शैलीको देखिन्छ भन्ने कुरा संसदमा उठ्दै आएको छ नि?
निश्चित नै हो। यो सरकारले जसरी जनताको जनमत पायो त्यो जनमतको मानमर्दन भएको छ। संविधान जारी भएपछि पहिलो पटक यो सरकारले जुन प्रक्रियाबाट लोकतान्त्रिक मूल्यमान्यता मान्नु पर्ने थियो, त्यसको उल्लंघन गरेको छ। जनतामा त्रास पैदा गरेर गैर लोकतान्त्रिक चरित्र बारम्बार देखाउन खोजको छ। जनतालाई जुन सपना बाँडिएको थियो चुनावको समयमा, सरकारको त्यसप्रति स्पष्ट दृष्टिकोण नभएका कारण, सरकार कन्फ्युज भएका कारण बारम्बार सरकारले गल्ती गर्दैछ।

लोकतन्त्रमा बोल्न पाउने नैसर्गिक अधिकारलाई यो सरकारले बारम्बार दमन गरेको छ। 

दोस्रो कुरा, संविधानलाई मिचेर जुन देशका प्राज्ञ वर्ग छन्, विद्धत वर्ग छन् तिनीहरुलाई आतंकित गर्ने काम भएको छ। त्यो उपकुलपतिको घटना लिनुस् अथवा ट्रमा सेन्टरको डाक्टरको घटना लिनुस्।

डा.केसीको अनसनप्रति सकारात्मक दृष्टिकोण राख्नुभन्दा पनि वातावरणलाई उतेजित गर्ने कार्य सरकारबाट भएको छ। प्रधानमन्त्री ओलीसँग निकट व्यक्तिहरुले डा.केसी मरे राम्रो हुने थियो जस्ता कुरा गर्नु र केसीलाई जसरी पनि ठीक पार्छु भन्ने कुरा गर्नु र समर्थकहरुमाथि दमन गर्नु यी सबै गैर लोकतान्त्रिक चरित्र देखाउँदैछ सरकारले।

तपाईहरुले ओली नेतृत्वको सरकारलाई समर्थन गर्नु भयो। यतिका दिन वित्यो तपाईहरुको कुनै पनि मागको सुनवाई भएको छैन। सरकारको यति दिनको अवधिलाई कसरी लिनु हुन्छ?
यो सरकारलाई जुन विश्वासको आधारमा र जुन प्रतिवद्धताका आधारमा हामीले समर्थन गरेका थियौं त्यो प्रतिवद्धताहरु कमजोर भनौं अथवा टुटेको भन्छु। विश्वासको संकट भएको छ। हाम्रो विश्वास के थियो भने प्रधानमन्त्री ओलीले भन्दै थिए ‘हामी सबैलाई समेटेर लान्छौं, विमतीलाई सहमतिको रुपमा लग्छौं। संविधानमा रहेको असहमतिप्रति संविधान संशोधन गरेर जान्छौ।’ तर भएन। 

अर्को कुरा के थियो भने संसदको अंकगणित पनि ओलीकै पक्षमा थियो त्यसैले हामीले के चाहेका थियौं भने सरकार सुधारिएर अगाडि बढ्छ भने हामीले सहयोग गर्नु पर्छ। त्यसैले देशलाई स्थायी शान्तितिर लग्नु पर्यो देशलाई सकारात्मक कोर्सतर्फ लग्ने हाम्रो विचार थियो। त्यसैकारण हामीले सरकारलाई समर्थन गर्‍यौँ।

तर सरकारको यो ६ महिनाको अवधि निरासाजनक रह्यो। हाम्रो विश्वासलाई अविश्वासमा परिणत गर्‍यौँ। हाम्रो कुरै छोडौं, यो संविधानको जुन मूल विषय छ, संघीय लोकतान्त्रिक गणतन्त्र त्यसलाई यो सरकारले मजाक बनाएको छ। लोकतान्त्रिक मूल्यमान्यतालाई मानेको छैन। बारम्बार वाक स्वतन्त्रतामाथि हनन् भइरहेको छ। विधि प्रक्रियालाई छोडेर जनतालाई आतंकित गर्ने काम भइरहेको छ। त्यतिमात्र होइन संघीयता जुन अहिलेको संविधानको मुख्य विषय हो त्यसैलाई असफल पार्न सरकारले नै प्रयास गर्दैछ।

संघीयता कसरी आफैमा बदनाम होस् भन्ने चाहाना पनि यो सरकारले राखेको छ। हाम्रो प्रतिवद्धतालाई सरकारले लत्याएको छ। 

त्यसो भए सरकारबाट समर्थन फिर्ता हुने भयो?
हामी हतारमा कुनै निर्णय गर्न चाहान्नौं। हामीले सरकारलाई समय दिउँ। भोलि सरकारले हामीमाथि आरोप लगाउने कुनै आधार नदिउँ भन्ने पक्षमा छौं। हामी संसदको तेस्रो ठूलो पार्टी छौं त्यसैले जिम्मेवारीपूर्वक हामी अगाडि बढ्छौं। यो सरकार आएपछि जनतालाई के के हुन्छ भनेर लागेको थियो त्यसैले सरकारको रुप जनताले पनि देखोस् भनेर चाहेका छौं।

जनताको सपना साकार पार्न हामी सबै जिम्मेवारी पुरा गर्न तयार छौं तर सरकारले गरिरहेको छैन। त्यो कुरा जनता समक्ष जाओस् भनेर चाहेका छौं। सरकारले जनताको सपनामाथि तुसारापात गर्दैछ। यो कुरा जनताले पनि बुझोस् भनेर हामीले चाहेका छौं। 

हामीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छौं। संविधान संशोधनको सवालमाथि, रेशम चौधरीको रिहाईको विषयमा, आन्दोलनको क्रममा लगाइएको फर्जी मुद्दा भने हामी बाध्य भएर समर्थन फिर्ता लिने छौं।

केपी ओलीले उठाएको राष्ट्रवाद र सम्बृद्धिको एजेण्डालाई यो ६ महिनाको प्रयोगमा तपाईले कसरी लिनु भयो?
सबभन्दा पहिले, ओली जीले जसलाई राष्ट्रवाद भन्नु भयो र त्यसको समर्थनमा एउटा जमात तयार भयो।  त्यो राष्ट्रवाद होइन। त्यो यो देशका लागि खतरनाक हतियार हो। यो देशमा शोषण उत्पीडनमा परेका जनतामाथि दमन गर्ने हतियार हो ओली जीको राष्ट्रवाद। त्यो गलत कुरा थियो त्यो अहिले देखिएको छ। ओली जीले युवाहरुलाई इमोशनल ब्ल्याकमेल गरे। एउटा समुदायको विरोध गरेर जुन काम गरे त्यो प्रष्ट भयो। अहिले ओली जी आफ्नो सत्ता टिकाउन कसैसँग जुनसुकै सम्झौता गर्न तयार छ। 


हिजो जसलाई विरोध गरेर ओली अगाडि बढेका थिए आज त्यसकै अगाडि सास्टाङ्ग दण्डवत र लम्पसार पर्न तयार छ। विभिन्न घटनाक्रमले यो प्रमाणित हुन्छ। त्यसकारण त्यो आधार हिजो पनि थिएन। यो जनतामा भ्रम छर्ने कुरा थियो।  यो भ्रम क्लियर भएको छ त्यसैले अहिले ओलीको विरोध भइरहेको छ।

दोस्रो कुरा थियो विकास र सम्बृद्धि। यो एउटा सपना थियो। गरीब नेपाली जनताको गरिबीको मजाक उडाएर ओलीले यस्तो सपना बाँडेका थिए। संवृद्धिको बैचारिक सिद्धान्त हुन्छ। ओली जीले भनेको सम्बृद्धिको कुनै बैचारिक आधार नै छैन। ओली जीले आफुलाई कम्युनिष्ट भन्नु हुन्छ, समाजवाद उन्मुख भन्नु हुन्छ। तर यिनका कार्यक्रमहरु पुरै क्रोनी क्यापिटालिजमको विकास गर्ने खालेको छ। त्यसकारण ओली जी कन्फ्युज हुनुहुन्छ। 

ओलीको मनको कुरा गरौं भने, हिटलर पनि संसद कै माध्यमले तानाशाह भएका थिए, अहिले विश्वस्तरमा एक प्रकारको राष्ट्रवाद र पपुलिजमको नाममा अधिनायकवाद लाद्न खोजिदैछ। यसलाई अटोक्रेसी ल्याउन खोजिएको छ। त्यसको एउटा पात्र ओली पनि हुन्।
केही दिन अझै रुक्नुस् ओली जीको असली रुप बाहिर आउने छ, यिनका ताण्डवहरु देखिनेछ। ओलीले चाहँदैन छ कि जनताको विचमा पोलराइजेशन होस् र मेरो गल्तीहरु लुकियोस्। 

हिजो पनि ओलीले मधेशी जनतालाई गाली गरेर, भारतलाई गाली गरेर जुन पपुल्यारिटी कमाएका थिए। अहिले मधेशी जनतालाई गाली गर्ने मधेशले कुनै आधार दिएको छैन। र, भारतसँग पनि यिनले समर्पण गरे, त्यसकारण भारतलाई गाली गर्ने पनि कुनै आधार छैन। यिनको खोक्रोपन देखिन थालेको छ।

ओली सरकारले जुन बजेट ल्यायो अथवा जे नीतिहरु लिएको त्यस आधारमा अहिले कै छ महिनामा ओली सरकारले सम्बृद्धि ल्याउन सक्दैन भन्ने आधार छ र?
विहानीले नै दिनको संकेत गर्न भनिन्छ। त्यसैले ओली सरकारको विहानी नै नकरात्मकतर्फ देखाएको छ। नेपालमा विकासका लागि स्थायी शान्ति हुनु पर्छ। स्थायी शान्तिका लागि नेपालको आवाजलाई व्यवस्थापन गर्नु पर्छ। सामाजिक संरचनालाई मान्यता दिनु पर्छ। तर ओलीले त्यसलाई दबाउन खोज्दैछ। त्यो सम्भव छैन। केही दिनसम्म त यिनले नाचगान गर्नेछ तर दबाउन सक्ने छैन। 

अहिलको बजेटलाई नै हेरौं। यो बजेटले कुनै सैद्धान्तिक आधारलाई टेकेको छैन। एकदमै कन्फूज र क्रोनी क्यापिटलिजम शैलीको हो। खास गरी आफ्नो कार्यकर्ताको कुन क्षेत्रमा लगानी छ त्यही क्षेत्रलाई सहुलियत हुने गरी बजेट आएको छ।

तेस्रो कुरा हावादारी जिडिपी बृद्धिको कुरा गरिएको छ। जिडिपी ८ प्रतिशत कसरी पुग्छ भन्ने कुनै आधारहरु छैन। त्यसकारण यो बजेट असफल हुनेछ। यसको कार्यान्वयन हुने छैन। दोस्रो कुरा, बजेट संघीयता कार्यन्वयन पछि आएको हो, यसमा जुन प्राथमिकताको सुची हुनु पर्ने थियो त्यो बनेको छैन। 

यो बजेट त नयाँ बोतलमा पुरानो रक्सी जस्तै हो। यो बजेट यसअघिको बजेटका के भिन्नता छ? मुलभुत कुनै भिन्नता छैन। जनताको सहुलियतका लागि होइन आफ्नो कार्यकर्ताका सहुलियतका लागि काम भएको छ।

यो देशको सम्बृद्धि बढाउनु छ भने कृषि क्षेत्रमा लगानी बढाउनु पर्छ। जिडिपीको दुई तिहाइभन्दा बढी त कृषि क्षेत्रको लगानी हो। जबकि किसानको ढाँड सेक्ने बजेट आएको छ। किसानलाई दश लाखभित्रको ट्याक्समा ल्याएर किसान विरोधी बजेट ल्याएको छ।

अर्को कुरा, यो मुलुक लेस डेभलोप मुलुक हो। अन्य यस्ता मुलुकहरुमा पाँच प्रतिशतभन्दा बढी बजेट कृषिमा छुट्याइन्छ। तर कृषिमा यो सरकारले एकदमै न्यूनतम बजेट छुट्याएको छ। त्यसकारण यो बजेट असफल हुन्छ। सरकार कन्फयूज छन्। हिजोसम्म अरुलाई गाली गरेर, नाचगान गरेर, उखानटुक्का सुनाएर जनतालाई भ्रममा राखेको थियो। त्यसैरी नै अगाडि बढेको थियो। अहिले सबै उखानटुक्का सकेको छ। ओलीको रियल ग्राउण्ड समाप्त भएको छ।


संसदमा रहेको मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले पनि रचनात्मक भूमिका निर्वाह गर्न नसकेको देखिन्छ नि त?

कांग्रेसको जुन दुर्दशा भएको छ त्यो स्वभाविकै हो। यसको दुईवटा कारण छ। अहिले कांग्रेस बैचारिक रुपमा शून्यतामा पुगेको छ। नेपालमा मात्रै होइन। अन्य मुलुकमा पनि डिबरल डेमोक्र्याट क्राइसिसमा छन्। पश्चिमा युनिर्भसिटीहरुमा डिबेट चल्दैछ कि डेमोक्रयाटिक फोर्सहरु स्खलन हुँदैछ र यसका उपाय के हुन्छ।

दोसो कुरा, कांग्रेसको नेतृत्वमा समस्या छ। कांग्रेसलाई हेर्नु हुन्छ भने अहिलेसम्मको नेतृत्वमा साठीको दशकसम्म किन बलियो थियो भने त्यसबेला एउटा पुस्ता थियो। जुन पुस्ताले कांग्रेसलाई बनाएका थिए त्यसले कांग्रेसलाई निरन्तरता दिएका थिए। पुस्तान्तरण भयो तर बैचारिक शुन्यता भयो। दोस्रो पुस्तामा जाँदा त्यो सक्षम भएन। कांग्रेस अहिलेको अवस्था भन्दा पनि नराम्रो अवस्थामा पुग्नेछ।

कांग्रेसले त्यही दिन आफ्नो मृत्यु पत्रमा हस्ताक्षर गर्यो जुन दिन उसले संविधानमा हस्ताक्षर गर्यो। यो संविधानले नै कांग्रेसलाई खाने छ। कांग्रेसको बैचारिक आधार विपरित संविधान जारी भएको छ। देशमा नस्लीय चिन्तन र जातीय राज्यलाई बढाबा दिने जुन षड्यन्त्र भएको थियो १६ बुँदे, त्यो डिजाइनमा कांग्रेस फस्यो। त्यससको परिनिति झेल्न कांग्रेस तयार हुनु पर्छ। र, आउने दिनमा कांग्रेस अझै कमजोर हुनेछ।

त्यसो भए अहिलेको राजपाको प्रस्तुति पनि त राम्रो देखिएको छैन?
विश्वमा अहिले तेस्रो शक्तिहरुको विकास हुँदैछ। ल्याटिन अमेरिकादेखि विभिन्न मुलुकमा पहिचानको मुदाहरु धेरै जबरजस्त रुपले उठेर आएको छ। यो दुबै मार्कसिस्ट र लिब्रलको असफलताको बिचमा अहिले नयाँ प्रयोगहरु भइरहेको छ। त्यो तेस्रो शक्तिको नेतृत्व राजपाले गर्नेछ। त्यसकारण यसको आधार राम्रो छ।

राजपाले जुन मुद्दा उठाएको छ, नेपाल जुन बेला गठन भयो त्यस बेलादेखिको अन्तर विरोध विस्फोट हुने अवस्थामा छ। त्यसलाई समायोजन गर्नु पर्ने मुद्दा राजपाले उठाउनेछ। 

राजपा किन जबरजस्त रुपमा आएन त? 
अहिले हामी तयारी अवस्थामा छौं। हामी हतारमामा कुनै निर्णय लिँदै सडकमा जाने पक्षमा छैनौं। हामी देशभरी नै राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्नेछौं। 

अहिलेको तानाशाहको विकल्पको रुपमा राजपा आउँदैछ। प्रजातन्त्रको नाममा जुन मजाक उडाइएको छ त्यसको विकल्पको रुपमा पनि राजपा आउँदैछ। राजपा मुल शक्ति भएर आउनेछ।

तर राजपा आफैभित्र आन्तरिक कलहमा फसेको छ?
कुनै शक्ति निर्माणको क्रममा सानातिना विवाद देखिन्छ। तर राजपामा कुनै त्यस्तो विवाद छैन। राजपाका विरोधी शक्तिहरुको हाथमा मिडिया भएको कारण उनीहरुले स्मार्टली प्ले गर्न खोजे। राजपाको साना साना कुरालाई पनि ठूलो विवादका रुपमा देखाइएको छ। अहिले राजपामा हेर्नुस्, छ वटा पार्टी एक भएर चुनाव लड्यौं। हामी चुनावको अन्तिम समयमा आयौं त्यसको आफ्नै एउटा विश्लेषण छ। तर अन्तिम समयमा पनि हाम्रीले राम्रो परिनाम ल्यायौं।

राजपा संसदमा आउँदा राजपाको संसदीय दलमा ठूलो विवाद रहेको भनिन्थ्यो तर हेर्नुस् हामीले सहमति मै संसदीय दलको नेता चयन गरेका छौं। राजपाले डेमोक्रेटिक हरेक सिस्टमलाई मान्दै काम गरेका छौं। हाम्रो पार्टी लोकतान्त्रिक भएकोले बढी छलफल हुन्छ। राजपा मिसन बोकेका पार्टी हो। यो एउटा नयाँ युगको सुरुवात गर्ने तयारीमा छ।

तर राजपाको तेस्रो तहको नेतृत्व अथवा स्थानीय स्तरमा काम गरिरहेका नेताहरुमा एउटा त्रासको वातावरण छ नि?
राजपाको नेतृत्वमा अहिले धेरै ठूलो डिबेट छ। राजपा यस देशको राष्ट्रिय मुक्ति आन्दोलन वा पहिचानवादी आन्दोलन अथवा राष्ट्रहरुको आकांक्षा राख्नेहरुको नेतृत्व गर्ने तयारीमा छ। त्यसकारण नेतृत्व तयार भएपछि एउटा व्यगलै उत्साह आउनेछ। हिजोसम्म हामीलाई मात्र मधेशवादी भनेर भनिन्थ्यो अव त्यो दायरालाई बढाउँदैछौं। देशका तमाम मुद्दाहरुलाई उठाएर अगाडि बढ्दैछौं। र, त्यसको नेतृत्व गर्न तयार छौं।

यो कुरलाई तल्लो तहसम्म लग्ने छौं। राष्ट्रिय जनता पार्टी मात्र एउटा यस्तो पार्टी हो जसले पहिचानको मुद्दा र राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्न सक्षम भएको छ। त्यसकारण कसैलाई भयभित हुनु वा त्रसित हुनु आवश्यक छैन।

हामीले सबै प्रयोग गरेर देखिसकेका छौं। यसअघि पञ्चायती व्यवस्था, ४६ को संसदीय व्यवस्था, माओवादीको जनयुद्ध पछिको व्यवस्था आएपनि नेपाली जनताले राहत पाएको छैन। त्यसो भए अब के हुन्छ त? अब त जनताले राजपालाई मात्र हेर्न बाँकी। सबै पार्टी त असफल भइसके। राजपा अन्तिम विकल्प बन्नेछ। नेपालको जनताको पहिचान र अधिकार स्थापित गर्ने काम राजपाले गर्नेछ। हिजो नेपाल निर्माणका क्रममा जुन जनतासँग विभेद भएको थियो। त्यो जनतालाई विकल्प दिँदै राजपा अगाडि बढ्ने छ।

तर यो प्रयोग उपेन्द्र यादवले पनि गर्दैछ, यसअघि गजेन्द्रनारायण सिंहले पनि गरेका थिए। सफल हुन सकेन त?
सबैले आ–आफ्नो ढंगले प्रयोग गर्ने कोशिश गरे। यसको विज्ञानलाई टेकेर काम नभएको कारण दुबै जना फेल भएका हुन्। यिनीहरुले आफुलाई केन्द्रविन्दुमा राखेर शक्ति निर्माण गर्ने काम गरे। त्यसकारण त्यो सम्भव भएन। 

हामीले आफुलाई केन्द्रमा राखेर गर्दैनौं, तामाङको नेतृत्व तामाङले गर्नुपर्छ, नेवारको नेतृत्व नेवारले गर्नुपर्छ, मधेशको नेतृत्व मधेशले गर्नुपर्छ। यी सबै राष्ट्र निर्माण भएपछि केन्द्र यसको काउन्सिल जस्तो हुनेछ। त्यस पछि नेपाल साँझा राज्य हुनेछ। अहिले के छ भने केन्द्रमा एउटा व्यक्ति हुन्छ र त्यसले अरुलाई मालिक र रैतीको व्यवहार गर्ने गर्छ। जसकारण यो शक्ति निर्माण हुन सकेन।

हामीले जसको जे राष्ट्र छ त्यही राष्ट्र दिएर प्रयोग गर्न चाहेका छौं। राजपा तमाम राष्ट्रको पुर्नबृति गर्नेछ। जुन राष्ट्रलाई नेपाल बनाउने क्रममा दबाइएको थियो त्यसलाई अगाडि बढाइन्छ। एक भाषा एक भेष, एउटा राष्ट्र एउटा देशको जुन सोच थियो त्यो अमेरिकाको जिमी कार्टरको मेल्टिङ पोर्ट थ्योरी थियो। त्यहाँ पनि असफल भयो यहाँ पनि असफल भएको छ। अब राष्ट्रहरुको पुर्नाबृति नेपालको विकासको रोड म्याप हुनेछ र राष्ट्रिय जनता पार्टीको लाइन नै यही हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell