PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

के हो कपीलेफ्ट आन्दोलन?



के हो कपीलेफ्ट आन्दोलन?

  • नारायणप्रसाद शर्मा -
दिनदिनै प्रयोगमा आउने शब्द कपीराइटका बारेमा त हामी प्राय: अवगत नै छौं । तर संसारमा कपीलेफ्ट नामको अवधारणा पनि छ भन्ने कुरा हामी धेरैका लागि नौलो हुनसक्छ। खासमा कपीलेफ्ट आन्दोलन, कपीराइट (प्रतिलिपि अधिकार) व्यवस्थाले निम्त्याएका कठिनाईहरु हल गर्न जन्मिएको एक सुधारात्मक अभियान हो। यसको अर्थ कपीराइटको उल्लंघन वा उपेक्षा होइन, बरु यसका कठोर नियम तथा बन्देजहरुको उदारीकरण हो। स्रष्टाका आर्थिक र नैतिक अधिकारहरुको पनि संरक्षण गर्दै सार्वजनिक महत्व एवं जनउपयोगका कृति, आविष्कार वा सेवाहरुलाई सहज ढंगले नागरिकहरुसम्म पु-याउनका लागि यो आन्दोलनको उठान भएको हो।
 
सर्वप्रथम कपीलेफ्ट शब्दको प्रयोग ली चेन वाङ्गले सन् १९७६ मा बेसिक नामको एक कम्प्युटर सफ्टवेयरमा गरेका थिए। पछि अलेक्जाण्डर युन र रिचर्ड स्टलम्यानले यसको अवधारणा प्रष्ट पार्दै थप लोकप्रिय बनाए। सन् १९८५ मा प्रकाशित आफ्नो जिएनयु मेनिफेस्टो नामक पुस्तकमा स्टलम्यानले कपीलेफ्टका बारेमा सविस्तार चर्चा गरेका छन्। कपीलेफ्टरुपी सोचको विकास सबैभन्दा पहिले कम्प्युटर सफ्टवेयर अर्थात सोर्स कोडबाट भई पछि साहित्य, संगीत, फिल्म, कला र प्रविधिसम्म फैलिएको पाइन्छ। 

वस्तुतः कपीलेफ्ट अभियानले मूल स्रष्टा वा सर्जकलाई ठग्ने वा नोक्सान पु-याउने अभिष्ट राख्दैन। बरु यसले स्रष्टा र प्रयोगकर्ता दुवैका जायज स्वार्थहरुको सन्तुलन गरी कुनै एक पक्षलाई अर्कोमाथि हावी हुन दिँदैन। कपीलेफ्ट व्यवस्थामा  स्रष्टाले आफ्ना केही आर्थिक र नैतिक अधिकार (सबै होइन) समपर्ण गर्दछ।  उसले आफ्नो सृजनालाई मूल क्रेतालाई थोकमा बिक्री गर्दछ। मूल क्रेताले सो सृजनालाई पुनरोत्पादन र परिमार्जन गर्न तथा आफूभन्दा तल बिक्री वितरण गर्न पाउँछ। यसरी स्रष्टाले मूल क्रेतालाई आफ्नो सृजना बेचेको रकम त पाउँछ नै क्रेताले आफूभन्दा तल्लो तहमा गरेको बिक्री वितरणबाट आवधिक रुपमा छुट्टै रोयल्टीसमेत पाउँछ। यसबाट स्रष्टा र प्रयोगकर्ता दुवैलाई लाभ हुन्छ। सर्जकले थप केही नगरीकन आफ्नो एकपटकको रचनाबाट लामो समयसम्म आर्जन गरिरहन सक्छ भने प्रयोगकर्ताहरुले सस्तो दरमा वा निःशुल्क उक्त रचनाबाट फाइदा लिन सक्छन्। यसरी कुनै रचनाको पुनरोत्पादन र परिमार्जन गर्न आवश्यक पर्ने सूचना वा ज्ञान स्रष्टाले मूल क्रेतालाई बिक्रीकै समयमा दिनुपर्दछ। कपीलेफ्ट लाइसेन्स पाएपछि मूल कृति वा प्रोग्राममा मूल क्रेताले सम्झौताअनुसारका परिमार्जन र प्रयोग गर्न पाउँछ। तर निजले आफूभन्दा मुनिका प्रयोगकर्तालाई सो कृति वा प्रोग्राम चलाउन दिँदा पनि तिनै स्वतन्त्रता र बन्देज कायम राख्नुपर्छ जुनमा ऊ स्वयं स्रष्टाबाट बाँधिएको छ। 
 
कपीलेफ्टको अभ्यासबाट सर्जकको नाम, योगदान र ख्यातिसमेत चारैतिर फैलिनसक्छ। कपीलेफ्टअन्तर्गत सफ्टवेयर र सूत्रहरु सहजै उपलब्ध हुन थालेपछि तिनका व्यावसायिक उत्पादकहरुले समेत एकाधिकार सृजना गर्न वा चर्को मूल्यमा कुनै सामग्री वा कार्यक्रम (प्रोग्राम) बिक्री गर्न पाउँदैनन् किनकि उपभोक्ताहरुसँग सस्तो विकल्प पनि मौजूद हुन्छ। साथै, यसबाट आफ्नो कृति वा आविष्कारमा कहाँनेर त्रुटि रहेछ र कसरी अझै राम्रो बनाउन सकिन्छ भन्नेबारे पनि सर्जकले आम उपभोक्ताबाट पृष्ठपोषण पाउनसक्छन्।
 
कुनै रचनालाई निःशुल्क सार्वजनिक पहुँच (पब्लिक डोमेन) मा राखियो भने त्यो कपीराइट वा प्रतिलिपि अधिकारविहीन भयो। तर कपीलेफ्टले यत्तिको छूट भने दिँदैन। स्रष्टाको प्रतिलिपि अधिकार निज आफैंले नचाहेसम्म हरण हुँदैन। यसमा जुन शर्तबन्देजमा मूल क्रेताले सर्जकबाट कुनै रचना प्राप्त गर्छ, निजले सो रचना तल पठाउँदा पनि उस्तै किसिमको शर्तबन्देज तोक्नुपर्दछ। अर्थात कपीलेफ्टले प्रतिलिपि अधिकारको सरलीकरण वा सहजीकरणलाई इंगित गर्दछ, यसको विलोप होइन। यसबाट सघन प्रतिलिपि अधिकारबाट रक्षित सामग्रीसमेत आम जनताले सहजै प्रयोगमा ल्याई आफ्नो खाँचो टार्न सक्छन्।
 
यस अर्थमा कपीलेफ्ट आफैंमा एक उदारीकृत लाइसेन्स हो, अरु कसैको सिर्जना उपयोग गर्नका निम्ति। सर्वप्रथम रिचर्ड स्टलम्यानले सन् १९८५ मा जिएनयु पब्लिक लाइसेन्सका माध्यमबाट एउटा कम्प्युटर सफ्टवेयरलाई आम पहुँचमा लगेका थिए। हाल लरेन्स लेसिगले खोलेको क्रियटिभ कमन्स नामक मुनाफारहित संस्थाले पनि शेयर एलाइक नाम दिएर बहुप्रयोगका कुराहरुलाई उपभोक्ताहरुको सहज पहुँचमा राख्ने गरेको छ । चर्चित वेब ब्राउजर मोजिल्ला फायरफक्स कपीलेफ्ट लाइसेन्सबाट फस्टाएको अर्को सफ्टवेयर हो।
 
झट्ट हेर्दा कपीलेफ्ट अभियान कपीराइटको विपरीतार्थी वा त्यसको विरुद्धमा आएकोजस्तो देखिएता पनि यसले कपीराइट प्रणालीभित्र रहेका संकीर्णता र जडतालाई हटाउँदै कपीराइटकै जगेर्ना गरिरहेको हुन्छ। अर्थात्, यसले कपीराइट पद्धतिलाई परिष्कार गर्दै अझै कार्यान्वयनमैत्री र व्यावहारिक बनाउन मद्दत गर्छ। 

कपीलेफ्ट अभियानको विकास हुनुको पछाडि यस धर्तीमा प्रतिभाशाली व्यक्तिहरुद्वारा गरिएका सबै आविष्कार, सृजना र साधना मानवमात्रका लागि हुन्, तिनबाट सकेसम्म सबै वर्ग र तप्का लाभान्वित हुनुपर्छ भन्ने मान्यताले काम गरेको छ । सबै रचनाहरु धर्तीमै बनेका हुन् र अन्ततः धर्तीमै विलीन हुनेछन् । यो धर्तीभन्दा बाहिरको आइडिया ल्याएर कसैले काम गरेका होइनन् । सबै सोच, विचार र आविष्कारहरु धर्तीकै उपज हुन्, ती सबै मानव कल्याणका लागि हुन्, मानवीय ज्ञान बढाउँदै जीवनलाई सुखमय र सुरक्षित बनाउनका लागि हुन् । कर्ता कुनै एउटा व्यक्ति होला, तर त्यसका लाभार्थी सिंगो मानव समुदाय हो । 

एउटा देश वा क्षेत्रमा भएको आविष्कारको लाभ (जस्तै कुनै औषधि वा फिल्म) लिन अरुले पनि निश्चित शर्त पालना गरेपछि पाउनुपर्छ भन्नु कपीराइट अभियानको ध्येय हो । त्यही भएर त अमेरिकाका मानिसले शिरीषको फूल र नेपालीले शेक्सपियरका रचनाहरु पढ्न पाएका छौं । भारतीय फिल्म युरोपमा र कोरियाली फिल्म अष्ट्रेलियामा हेर्न पाइएको छ । एड्सको औषधि पश्चिममा तयार भएता पनि गरिब अफ्रिकीहरुले समेत त्यसको सेवन गरी आफ्नो आयु लम्ब्याउन पाएका छन् । केएफसी र पिज्जा हटको स्वाद नेपालमै लिन पाइएको छ भने विदेशी लेखकका कहलिएका कृतिहरु भाषा-भाषामा अनुवाद भएका छन् । अमेरिकाको माइक्रोसफ्ट अफिस प्याकेज विश्वभरका कम्प्युटरमा जडान भएको छ भने सहजै उपलब्ध हुने निःशुल्क एन्टिभाइरस (ट्रायल भर्सन) राखेर एक-दुई महिनाका लागि भए पनि हामीले आ-आफ्ना ल्यापटपको सुरक्षा गरिरहेका छौं । हामीले कुनै चर्चित पुस्तक अनलाइनमा खौज्यौं भने सिंगो पुस्तकक नभए पनि त्यसका एक वा दुई अनुच्छेदहरु वा सारांश निःशुल्क वेबमा राखिएको हुन्छ, जसबाट हाम्रो तत्कालको काम चल्न सक्छ । यी सबै कुराहरु कपीलेफ्टकै देन हुन् । 

वास्तवमा कपीलेफ्टले करार गर्ने स्वतन्त्रता र कपीराइट कानुनले दिएका छूटहरुकै उपयोग गरेर आफूलाई अघि बढाउँछ । यसले कपीराइट कानुन र नियमकै रचनात्मक एवं बुद्धिमत्तापूर्ण प्रयोग गर्छ । बजार अर्थतन्त्रका नाफामुखी नियमहरुबाट बौद्धिक सम्पत्तिलाई अलग राख्नु यसको आशय हो । वास्तविक स्रष्टाहरुको अधिकार र योगदानलाई सम्मान गर्दै ज्ञान तथा सृजनात्मकता सबैका लागि सके त निःशुल्क नभए पनि सुपथ गराउनु यसको अर्को मकसद हो । कपीलेफ्ट लाइसेन्सप्राप्त सफ्टवेयर (जस्तै अफिस प्याकेज वा एन्टिभाइरस) लाई अरुले पनि चलाउन, कपी गर्न, परिमार्जन गर्न वा वितरण गर्न पाउँछन्, तर आफैंले नयाँ बन्देजहरु थप्न वा आफैंले बनाएको भनेर दावी गर्न चाहिँ पाउँदैनन्। कला र साहित्यतर्फ हेर्दा कपीलेफ्टअन्तर्गत पाठक, दर्शक वा श्रोताले कुनै पुस्तक, संगीत वा चलचित्र वा त्यसको कुनै अंश हेर्न, सुन्न, उद्धृत गर्न र त्यसको आनन्द लिन पाउँछन्, तर त्यसमा परिमार्जन गर्न वा मेरो हो भनेर दावी गर्न सक्दैनन् । 

कपीलेफ्ट आन्दोलनका प्रणेता रिचर्ड स्टलम्यानका शब्दमा अहिलेको डिजिटल जमानामा कपीराइटको भूमिकामा आमूल परिवर्तन आइसकेको छ । जहाँ पहिले कपीराइटलाई प्रकाशक तथा सर्जकहरुले बजारमा आफ्नो एकाधिकार कायम राख्ने र मुनाफा बढाउने औजारको रूपमा प्रयोग गर्थे, त्यहीँ अहिले आम नागरिकहरुले निश्चित नियमको अधीनमा रही ती सृजनाबाट बाधारहित ढंगले सेवा वा लाभ लिन पाउनुपर्छ भन्ने मान्यता बलवान् हुँदै गएको छ । यसले गर्दा खासगरी कम्प्युटर सफ्टवेयरमा कपीराइट र औषधीय ज्ञानमा पेटेन्टको भूमिका कमजोर हुन थालिसकेको छ । ज्ञानको कुनै खास स्वामी हुँदैन र ज्ञानको श्रोत हामी बसिरहेको यही विश्व हो भन्ने मतबाट शुरु भएको कपीलेफ्ट आन्दोलनले संसारका यावत् बौद्धिक सम्पत्तिलाई सबैको साझा मान्छ । तर यिनै साझा कुराहरुबाट लाभान्वित हुन पनि यसका सर्जकका जायज हकको संरक्षण गर्न र अन्य प्रयोगकर्ताका आफ्नाजस्तै अधिकारको सम्मान गर्न कपीलेफ्ट अभियानले सिकाउँछ । 

कपीलेफ्ट अवधारणाकै कारणवश विश्वभर कपीराइट कानुनहरुमा सामयिक सुधार गर्दै तिनलाई पहिलेभन्दा कम हस्तक्षेपकारी बनाइएको छ । जीवनोपयोगी औषधिहरुको पेटेन्ट वा निर्माणसूत्र विकासोन्मुख देशहरुले पनि नि:शुल्क वा सस्तो दरमा पाउनुपर्छ भन्ने आवाज उठेको छ । त्यस्तै, सर्जक वा प्रकाशकलाई मुनाफा वा व्यक्तिगत आयका साथसाथै सेवाभाव, जनसुविधा र जनउपयोगलाई समेत ध्यान दिनका निम्ति झक्झक्याएको छ।

(महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत लेखकका कानुनको क्षेत्रमा एक दर्जन बढी पुस्तक प्रकाशित छन्) 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell