PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपालीभाषी वर्मेलीले मनाए म्यान्मारमा भानु जयन्ती 



नेपालीभाषी वर्मेलीले मनाए म्यान्मारमा भानु जयन्ती 

यांगुन :  नेपालीभाषी वर्मेलीहरूले नेपाली भाषाका कविता, मुक्तक र अन्य साहित्यिक रचना वाचन गरेर यांगुनमा २०५ औं भानु जयन्ती मनाए। सार्वजनिक विदाको दिन पारेर आइतवार मनाइएको भानु जयन्तीका अवसरमा केही भानुभक्तीय रचना पनि पाठ गरिएका थिए।

नेपालीभाषी वर्मेलीका साहित्यिक रचना सुनेपछि पूर्वमन्त्री रामशरण महतले म्यानमारमा जोगाइएको नेपाली भाषा र संस्कृति देखेर आफू अचम्ममा परेको बताए। ‘नेपालमा हामीले बिर्सिसकेको शब्द र संस्कृति यहाँ अझै रहेछ,’ महतले भने, ‘यसरी नेपाली भाषा संस्कृतिको जगेर्ना गर्नुभएका तपाईंहरूप्रति हामी नेपाली कृतज्ञ छौं।‘

एक लाखभन्दा धेरै नेपालीभाषी रहेको वर्मामा २०४३ सालदेखि भानुजयन्ती मनाउन थालिएको नेपालीभाषी वर्मेली साहित्यकार विष्णु पन्थीले जानकारी दिए। नेपालीहरूको बाक्लो बस्ती भएको मोगोकमा आदिकवि भानुभक्त आचार्यको शालिक २८ वर्ष अगाडि वर्मेलीहरूले निर्माण गरेका छन् जहाँ असार २९ गते नै भानु जयन्ती मनाइएको थियो।

नेपाली भाषी वर्मेलीले यहाँ हरेक वर्ष गर्मी याममा हुने तीन महिने विद्यालय र विश्वविद्यालय बिदाका बेला विद्यार्थीहरूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको अध्ययन गराउँदै आएका छन्। नेपाली भाषा अध्ययनमा उत्कृष्ठ विद्यार्थीहरूलाई कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो। 

नेपाली भाषा अध्ययन अध्यापनको संयोजन गर्ने संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरेले वर्मामा पढाई हुने नेपाली भाषालाई, भाषिक परीक्षा लिएरै भए पनि नेपालबाट मान्यता दिनुपर्ने माग राखे। 

‘जसरी अँग्रेजी भाषाको आइइएलटिएस, टोफल जस्ता परीक्षा हुन्छ, नेपाली भाषाको पनि त्यस्तै परीक्षा होस् र ती परीक्षार्थीले नेपालबाट आधिकारिक प्रमाणपत्र पाउन्। त्यसको आधारमा नेपालमा थप अध्ययन गर्न चाहने वर्मेली विद्यार्थीलाई अवसर मिलोस्’ अध्यक्ष घिमिरेले भने, ‘नेपालका विश्वविद्यालयहरूले केही नेपालीभाषी वर्मेलीलाई उच्च शिक्षामा छात्रवृति दिएमा, यहाँ नेपाली भाषा र संस्कृतिको जगेर्नामा थप सहयोग पुग्छ।‘

म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपाली भाषा परिक्षणका लागि नेपाल सरकारसमक्ष आफूले प्रस्ताव पठाएको बताए। उनले नेपालमा अध्ययन गर्न चाहने नेपालीभाषी वर्मेली विद्यार्थीका लागि दूतावासले सहयोग गर्ने वचन पनि दिए।

भानु जयन्ती कार्यक्रममा नेपालीभाषी वर्मेली साहित्यकार ठाकुरप्रसाद गुरागाईंको नयाँ उपन्यास ‘कसम ऐरावती’  को सार्वजनिक गरियो। २०५३ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित गुरागाईं यस अगाडि नै एक दर्जन भन्दा धेरै साहित्यिक कृति प्रकाशित भइसकेका छन्।  

दूतावासका पूर्व कर्मचारी दुर्गाबहादुर सुवेदी क्षेत्रीले नेपाली साहित्यको जगेर्नाका लागि स्थापना गरेका दुबसु क्षेत्री साहित्य सम्मानबाट यस वर्ष टाउँजीका अशोक घिमिरे र संस्कृति सम्मानबाट यांगुनका सन्तु लिम्बु सम्मानित भए। घिमिरेले नेपाली भाषामा गीत कविता संग्रह प्रकाशित गरेका छन् भने लिम्बुले वर्मामा नेपाली गीत, संगीत र कलामा योगदान दिदैं आएकी छिन्।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघले नेपालबाहिर बसेर पनि नेपाली भाषा र साहित्यको सेवा गरेको भन्दै पनि नेपाली भाषा साहित्य दुत,मकालुबाट टेकनारायण रिमाललाई र मनास्लुबाट ठाकुरप्रसाद गुरागाईंलाई सम्मान गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell