PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाली फिल्म फ्लपैफ्लप, कारण : स्टार कलाकार नै पैसामुखी, मेहेनतको खडेरी, एकैपटक धेरै प्रोजेक्टमा हात!



रीना मोक्तान

नेपाली फिल्म फ्लपैफ्लप, कारण : स्टार कलाकार नै पैसामुखी, मेहेनतको खडेरी, एकैपटक धेरै प्रोजेक्टमा हात!

असार महिनामा फिल्महरु 'तिमी हुन्छौ जहाँ जहाँ', 'एक्स्ट्रा माया', 'ए सोल्टीनी' , 'चोखो माया' 'बोबी', 'बाबु कान्छा', 'वीरङ्गना' र 'यो पागल मन' प्रदर्शनमा आए। फिल्ममा चलेका कलाकार वा निर्माता निर्देशक भएर पनि, तीमध्ये प्राय प्रिमियर शोपछि लगभग एक साता पनि हलमा टिकेनन्। 

दर्शकले रुचाएका नायक नायिका फिल्म निर्माताको पहिलो रोजाईमा पर्छन्। आफ्नो प्रोजेक्टमा उनीहरुलाई राखे फिल्म हिट हुने विश्वास धेरै निर्माता, निर्देशकमा छ।  

तर, केही समय यता फिल्मको व्यवसायिक पाटोलाई नियाल्ने हो भने चलेकै कलाकारका फिल्म लगातारका फ्लप भएका उदाहरण बढ्न थालेको छ। जसका कारण निर्माताहरुले टाउको समाउन बाध्य छन्। 

क्वालिटीमा भन्दा क्वान्टिटीमा ध्यान दिंदा फिल्ममा कलाकारले चरित्रलाई न्याय दिन नसकेको निर्माताहरुको दाबी छ। समयमा सुटिङमा नआइदिने, आफूले पाएको भूमिकामा खासै मेहेनत नगर्ने, कत्तिले फिल्मको स्क्रिप्ट नै परिवर्तन गर्न लगाउने गरेको गुनासो समेत पोखे। त्यस्तै, धेरै फिल्म गर्नुका कारण फिल्म प्रमोसनमा कलाकारले समय दिन नपाउनु समस्या बनेको छ। 

चलेका कलाकारसँग काम गर्नै असहज - सन्तोष सेन



चलेका कलाकार फिल्ममा लिंदा काम गर्ननै असहज हुने निर्माता सन्तोष सेन बताउँछन्। भन्छन्,'चलेका अनि व्यस्त कलाकार समयनै मुश्किलले मिलाउँछन्। सुटिङमा पनि ढिला आउनु, प्रचारमा समय नदिनु त छँदैछ। कतिले त स्क्रिप्ट नै परिवर्तन गर्न लगाउँछन्।' 

फिल्म 'चङ्खे पङ्खे शङ्खे', 'प्रेमगीत', र 'प्रेमगीत २' का निर्माता हुन् सेन। उनको दोस्रो फिल्म प्रेमगीतबाट नै प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा चर्चामा आए। 

अहिले फिल्म 'मेरी मामु'को निर्माणमा व्यस्त रहेका सेनले भने 'प्रदीप नयाँ भएकाले उसँग एकदम सहज भएर काम गरें। पूजा त चलेकै थिइनन्। त्यसैले गाह्रो भएन। चलेकासँग त काम गर्न सक्दिनँ।' 

फिल्म 'चङ्खे पङ्खे शङ्खे'मा केही चलेका कलाकारसँग काम गरेका उनले नमिठो अनुभव बटुले। नाम तोक्न चाहदैनन्। भने,'उनीहरुको डिमान्ड नै चर्को।'
  

आफ्नै भूमिकालाई न्याय दिदैनन् चल्तीका कलाकार : मिलन चाम्स



फिल्म 'बीर बिक्रम', 'लिलिबिली' मिलन चाम्सका हिट दाबी गरिएका फिल्म हुन्। अहिलेका चलेका कलाकार दयाहाङ राई, प्रदीप खड्का, प्रियंका कार्कीसँग उनले काम गरिसके। उनको पनि अनुभव चाम्सको भन्दा भिन्न छैन। 

'असहज हुन्छ। उनीहरु आफ्नो तालमा काम गर्छन् हामीले केही भन्न अप्ठ्यारो', उनले भने, 'प्रोजेक्ट साइन गरेपछि पनि समय दिन नसक्नेहरुलाई के भन्ने? 'पैसा, समय सबै होल्ड हुन्छ।' 

यी सबका बावजुद पनि कलाकारले दिइएको चरित्र जिम्मेवारीपूर्वक निर्वाह गर्न नसक्नुले उनलाई निराश बनाएको छ। 'बीर विक्रमका लागि दयाहाङ राईलाई मैले वजन घटाउन भने, घटाए। फिल्म 'ब्लाइन्ड रक्स'का लागि अभिनेत्री बेनिसा हमालले पनि निकै मेहेनत गरेकी थिइन्।' तर, अपवाद बाहेककाले उनको अपेक्षा मिट गर्न सकेका छैनन्। 

आफूले मिहेनत नगरी आमिर खानको भर्सट्यालिटीको तारिफ गरेर बस्नुको तुक नभएको बताउँछन्। 'उनीहरुलाई पारिश्रमिकमा चित्त नबुझेको हुनसक्छ।' 

अनमोल केसीले फिल्म 'कृ'को लागि गरेको मिहेनतले उनलाई प्रभावित पार्‍यो। त्यसैले आफ्नो नयाँ फिल्म 'ब्याचलर बन्टी'मा उनैलाई अनुबन्धन गरे। 'उनी चलेका कलाकार हुन् नै साथै चरित्र निभाउन पनि सक्छन्। यस्तोमा हामी निर्माता निर्देशकमा धेरथोर लोभ हुन्छ नै।'

निर्माता/निर्देशक पनि हतारोमा काम सकाउनतिर लाग्छन् : सवीर श्रेष्ठ



'तथास्तु' निर्देशक हुन् सवीर श्रेष्ठ। उनलाई भने चलेका कलाकारसँग कुनै पनि किसिमको गुनासो छैन। प्रचारका लागि समय नदिनु भने आर्थिक समस्याका कारण सिर्जित अवस्थाको रुपमा व्याख्या गर्छन्। 'भूमिकामा न्याय गरेपनि कहिले काही फिल्म चल्दिदैनर यसको कारण कलाकार मात्र हुँदैनन्।' 

'हामी निर्माता निर्देशकलाई स्क्रिप्टिङ कहिले सक्नु र सुटिङमा जाउँ भन्ने हुन्छ। हामी दुई हप्तामै फिल्म सकाउने प्रयास गर्छौ। हामीकहाँ त पुर्व तयारी पनि त्यति हुँदैन,' उनले थपे।

चलेका कलाकार भरपर्दो छैनन् : अर्जुन कुमार



फिल्म 'चपली हाइट', 'फिटकिरी', 'चपली हाइट-२',र 'फाटेको जुत्ता'का निर्माता हुन् अर्जुन कुमार। उनको पछिल्लो फिल्म 'फाटेको जुत्ता'। फिल्ममा अभिनेता सौगात मल्ल र प्रियंकासँग काम गरे। 'फाटेको जुत्ता'को प्रमोसनमा अभिनेत्री प्रियंकाले साथ दिइनन्। सौगातलाई लिएर प्रमोसनमा हिँडेका उनको त्यही कारण प्रियंकासँग  बिग्रिएको सम्बन्ध समाचार नै बन्यो।  
लोकप्रिय कलाकारलाई फिल्ममा लिंदा केही हदसम्म भने निर्मातालाई फाइदा हुने स्विकार्छन्। 'मेरो धेरै फिल्ममा भने चलेका कलकार काम लागेनन्।' 

चलेका कलाकारमा भर पर्दा फ्लप : सुनिल रावल



नयाँ कलाकारहरुलाई फिल्ममा ब्रेक दिने निर्माता रुपमा चिनिन्छन् सुनिल रावल। सुनिलका 'सायद', 'होस्टेल', 'होस्टेल रिटन्र्स', 'सायद २' दर्शकले रुचाएका फिल्म हुन्। 

उनी चलेको कलाकारले आफ्नो हिजो बिर्सन नहुने बताउँछन्। उनले भने 'कलाकारले हिजो कसरी यस क्षेत्रमा आएको बिर्सनु हुन्न। चलेको कलाकारले नै फिल्म चल्छ भन्ने भ्रम छ नेपालमा। नेपालको मेकरहरु आफ्नो स्क्रिप्टको भर मान्दैनन्। कलाकार र प्राविधिकको पारिश्रमिक बढेको बढेकै छ। निर्माताको हातमा केही हुन्न। धेरै निर्माता डुबेका छन्।' 

उनले आफ्नो फिल्मबाट चलेका केही कलाकारले अन्य निर्माता निर्देशकलाई दु:ख दिएको बताए। उसो त उनैले सायद २ बाट डेब्यु गराएकी कलाकार स्यारोन श्रेष्ठले फिल्म रिलिज लगत्तै आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी थिइन्।

कलाकार पैसा मुखी भए : सोभित बस्नेत



निर्माता सोभित बस्नेत पुराना निर्माता/निर्देशक/कलाकार हुन्। चलेका कलाकार व्यवसायिक हुने उनको तर्क छ।

थुप्रै प्रोजेक्टमा काम गरे पनि न्याय दिन सके फिल्म फ्लप नहुने उनको धारणा छ। साथै निर्देशन बलियो हुनुपर्ने पक्षमा छन् उनी। 'पुरानो कलाकारले पहिला एकदिनमा पाँच फिल्मका छायाँकन भ्याउँथे। नयाँमा खोइ त,' बस्नेतले थपे, 'पहिला राजेश हमाल र निखिल उप्रेतीजी दिनमा ४ फिल्म गर्नुहुन्थ्यो। कत्ति फिल्ममा उहाँहरुको लुगा दोहिरिएको हुन्थ्यो। अहिलेका कलाकारमा त्यस्तो देखिन्न।'

भूमिकामा गर्नुपर्ने मेहेनतका सवालमा अभिनेत्री प्रियंका कार्की भूमिका केन्द्रित नभई पैसामुखी भएको उनको आरोप रहेको छ। 

'उहाँलाई चाँहि अहिले क्यारेक्टर मुखी भन्दापनि कसरी धेरै फिल्म गरुँ, कसरी पैसा बटुल्नु भइराछ। अहिलेसम्म २९ फिल्म गरिसकेका सोभित भन्छन् 'सबै उहाँ जस्तै हुन्छन् भन्ने होइन। अभिनेत्री साम्रज्ञीराज्य लक्ष्मी शाहले एकचोटीमा एउटा फिल्म गर्छिन्, राम्रो फिल्म गरिरहेकी छिन्। स्वस्तिमाले पनि एकचोटीमा एउटा फिल्म गर्छ, राम्रो फिल्म गर्छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell